ट्रम्पको नयाँ ट्यारिफले अमेरिका र अन्य देशबीच बढ्यो दूरी, अर्थतन्त्र खतरामा परे चीन चुप नलाग्ने

बिजमाण्डू
२०७४ फागुन २१ गते ११:५१ | Mar 5, 2018
ट्रम्पको नयाँ ट्यारिफले अमेरिका र अन्य देशबीच बढ्यो दूरी, अर्थतन्त्र खतरामा परे चीन चुप नलाग्ने

गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेका थिए – 'जब कुनै पनि देश प्रत्येक देशका साथ आफ्नो ब्यापारमा अर्बौ डलर नोक्सान ब्योहोर्नुपर्छ भने बरु ‘ट्रेड वार’ नै ठिक।'

Tata
GBIME
Nepal Life

अमेरिकाको बाणिज्य मन्त्रालयले गरेको एक अध्ययनपछि अमेरिकामा निर्यात गर्ने १२ देशहरुबाट हुने 'स्टिल इम्पोर्ट'लाई कम्तीमा पनि ५३ प्रतिशत ट्यारिफ लगाउने सिफारिस गरेको थियो। यसै सिफारिसपछि ट्रम्पले स्टिल तथा आल्मुनियममा ट्यारिफ रेट तोके। उनले स्टिलमा  २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत ट्यारिफ लगाउनले घोषणा गरे।

ब्राजिल, चीन, कोस्टारिका, इजिप्ट, भारत, मलेशिया, रुस, दक्षिण कोरिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, टर्की तथा भियतनाममाथि यो ट्यारिफ लगाइएको हो।

आफ्नो ब्यापार घाटा कम गर्न भन्दै अमेरिकाले स्टिल र आल्मुनियममा इम्पोर्ट ट्यारिफ बढाइदिएपछि निर्यातकर्ता देशहरु भने समस्यामा परेका छन्।

सन् २०१७ मा नै अमेरिकाले स्टिल एक्सपोर्ट गर्ने यी देशहरुबाट आयात ४ प्रतिशत घटाइसकेको थियो।  मन्त्रालयको अध्ययन प्रतिवेदनमा स्टिल र आल्मुनियम आयातले अमेरिकी घरेलु उद्योगहरुलाई घाटा भैरहेको सार्वजनिक गरेको थियो। साथै यसको आयातबाट रक्षा उद्योग पनि प्रभावित हुनसक्ने बताइएको थियो।

अमेरिकाले सोलार प्यानल, वासिङ मेशिन जस्ता उत्पादनहरुको इम्पोर्ट कम गर्न कोशिश गरिरहेको छ। गत जनवरीमै ट्रम्पले सोलार प्यानल र वासिङ मेशिनमा ट्यारिफ रेट बढाइसकेका छन्।

ट्रम्पले अर्को ट्विटमा भनेका छन्- ‘हामीले आफ्नो देश तथा आफ्ना कामदारहरुलाई सुरक्षित गर्नुछ। हाम्रो स्टिल इन्डस्ट्रीको हालत निकै खराब छ।’

ट्यारिफ रेट बढाएपछि यसका टेडिङ पार्टनर देशहरु अमेरिकासँग रुष्ट बनेका छन्। अमेरिकाको यो कदमले यूरोपेली युनियन र क्यानडामा सबैभन्दा बढी असर पर्ने देखिन्छ।  उनीहरुले अमेरिकाले तोकेको ट्यारिफ दर अमान्य भनेका छन्। यसैगरी मेक्सिको चीन र ब्राजिलले पनि यस बिषयमा पुनर्विचार गर्नुपर्ने भनेका छन्।  

चीनले त ट्यारिफ रेट बढेका कारण आफ्नो अर्थतन्त्रमा समस्या उत्पन्न भएमा चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ।

आफुले अमेरिकासँग कुनै किसिमको ट्रेड वार नचाहेको तर आफूलाई असर परेमा चुप लागेर भने नबस्ने चिनियाँ नेशनल पिपल्स कँग्रेसका प्रवक्ता झाङ यीसुइले बताए।

चीनका झाङले अमेरिका र चीनबीच यो घटनाले केही असर पर्नु सामान्य हो भनपेका छन्। तर आफ्नो अर्थतन्त्रमा गम्भीर अवस्था उत्पन्न भएमा भने आफूहरुले आवश्यक कदम चाल्ने बताए।

क्यानडाले पनि यसको असर दुबै देशमा पर्ने बताएको छ। आइएमएफ र डब्लुटिओले भने ट्रम्पको यो कदमको कडा बिरोध जनाएको छ। ट्रम्पले स्टिल र आल्मुनियमका निर्यात कर लगाए लगत्तै यूरोपमा निर्मित कारहरुमा समेत निर्यात कर लगाउने चेतावनी दिइसकेको छ। यूरोपेली कारहरुको ठूलो बजार अमेरिका हो। अमेरिकाले झण्डै २५ प्रतिशत कारहरु यूरोपेली बजारबाट आयात गर्छ। यसैगरी अमेरिकी कार बजारमा चिनियाँ कारहरुको १६ प्रतिशत योगदान रहेको छ।

यूरोपियन कमिसनका अध्यक्षा जाँ क्लाउड जंकरले कर बृद्धिले हजारौं यूरोपेली रोजगारी संकटमा पर्ने बताए। यस किसिमको गलत मापदण्डको बिरोध गर्ने र इयूले यसमा चुप लागेर नबस्ने समेत उनले चेतावनी दिएका थिए।

अमेरिकामा स्टिल र आल्मुनियम निर्यातमा सबैभन्दा अगाडि रहेको क्यानडाका बित्तमन्त्री फ्रन्सिस फिलिप स्याम्पेनले कुनै पनि ट्यारिफ दर अमान्य हुने बताए। क्यानडाका बिदेश मन्त्री क्रिस्टिया फ्रिल्याण्डले पनि यस बारेमा आवश्यक कदम चाल्ने बताएका छन्।

ब्राजिलले पनि ठूलो परिमाणमा स्टिल अमेरिका निर्यात गर्दै आएको छ। यस नितीका बिरुद्ध बहुपक्षीय वा द्विपक्षीय कदम चाल्ने चेतावनी दिएको छ।
जर्मनीको स्टिल इन्ड्रस्टी फेडरेसनले अमेरिकाले डब्लुटिओको  नियम बिरुद्ध उत्रिएको र यसबाट जर्मनीको स्टिल बजारमा ठूलो धक्का लाग्ने प्रतिक्रिया दिएको छ।

अमेरिकामै पनि बिपक्षीहरुले ट्रम्पको यस कदमको बिरोध गरेका छन्। यसबाट अमेरिकाको रोजगारमाथि झन् समस्या निम्तिने उनीहरुको भनाइ छ। ट्रम्पले अपनाएको यो शैली अठारौं शताब्दीको संरक्षणबाद जस्तो भएको र यसको मूल्य अमेरिकीहरुले चुकाउनुपर्ने सिनेटर बेन सासेले बताए।

यूएस मोटर तथा उपकरण उत्पादक एसोसिएसनले पनि यस बिषयमा गहिरो  चिन्ता ब्यक्त गरेको छ। तर स्टिल कारखानाका कामदारहरुले भने ट्रम्पको भनाइको स्वागत गरेका छन्।

अमेरिकाले सयभन्दा धेरै देशहरुबाट स्टिल आयात गर्नै आएको थियो। आफ्नो निर्यातभन्दा चार गुना बढी स्टिल अमेरिकाले बिदेशबाट आयात गर्दै आएको थियो। सन् २००० देखि नै अमेरिकाका स्टिल उद्योगहरुमा यसको असर देखिन थालेको थियो। उत्पादन घटेपछि बेरोजगारी दर पनि निकै बढेको थियो।