‘अर्थमन्त्रीको अभिव्यक्तिलार्इ गलत ब्याख्या गरियो, हल्ला फैलार्इयो’- निरञ्जन टिवडेवालाको लेख

बिजमाण्डू
२०७४ फागुन २१ गते १२:१४ | Mar 5, 2018
‘अर्थमन्त्रीको अभिव्यक्तिलार्इ गलत ब्याख्या गरियो, हल्ला फैलार्इयो’- निरञ्जन टिवडेवालाको लेख

काठमाडौं।शेयर बजार निरन्तर ओरालो लागिरहेको छ।यो विगत केही समयदेखि ओरालो लाग्न थालेको हो। र, यो क्रम जारी छ।यो नयाँ सरकार गठन भएर शेयर बजार खस्न सुरु भएको होइन।

Tata
GBIME
Nepal Life

अर्थव्यवस्थामा देखा परेका केही तथ्यहरु छन् त्यसैले बजार घटेको हो।बजार घट्नुमा केही तथ्यगत कारणहरु छन् त्यसलार्इ विश्लेषण गर्नु उपयुक्त हुन्छ।बीमाको पूँजी वृद्धिको योजना आयो।यो योजनासँगै केही कम्पनीमा लगानीकर्ताको धेरै पैसा फस्यो।यो सँगसँगै तरलता अभाव भयो र त्यसले क्रेडिट क्रन्चको अवस्था आयो।रेमिटेन्सको वृद्धिदर समेत घट्यो।यी र यस्ता कारणले तरलता अभाव भयो।पैसा घट्नेवित्तिकै मार्जिन लोनमा शेयर किनेकालार्इ शेयर बेच्नैपर्ने अवस्था आयो।

मार्जिन कलमा खरीद गरिएका शेयर बिक्री गर्नुको विकल्प पनि थिएन।यो अवस्थामा नयाँ मार्जिन लोन नदिने तर बजार घटिसकेपछि अहिले दिइरहेको शेयरमा ७० प्रतिशत पुर्याइदिएको भए यस्तो अवस्था आउने थिएन।यो विकल्प ल्याइएको भए शेयर बेच्नुपर्ने अवस्था पनि आउँदैन्थ्यो।लगानी गर्ने क्षमता भएका र म्युचुअल फण्डले शेयर बेच्दैन थिए।

विगतका वर्षलार्इ हेर्ने हो भने अधिकांशले मार्जिन कल लिएर शेयरमा लगानी गरेका थिए।त्यही देखेर साना लगानीकर्ताले फाइदा हुन्छ भन्दै लगानी गरे।यो बेलामा सैद्धान्तिक र प्राविधिक विश्लेषण केहीले गरे केहीले गर्दै नगरि लगानी गरे। कतिले प्रतिफललार्इ विश्लेषण गरे भने कतिले गरेनन्। सबैले गर्न सक्ने अवस्था पनि छैन।यही कारणले शेयर उकालो लाग्यो।तर त्यो सधै रहँदैन।बजार घट्नु स्वभाविकनै हो।

अर्को नीतिगत त्रुटी समेत छ।नियमनकारी निकायले कुनैपनि नीति ल्याउँदा त्यसको प्रभावको बारेमा विश्लेषण गर्न आवश्यक थियो।उदाहरणका लागि वाणिज्य बैंकको पूँजी ८ अर्ब पुर्याउने नीति राष्ट्र बैंकले ल्यायो।यसको एउटै उदेश्य थियो बैंक तथा वित्तिय संस्था घटाउनु। उद्देश्य संख्या घटाउने र त्यो उद्देश्य पुरा गर्न पूँजी बढाउने यी दुर्इ एकअर्कामा बाँझिने नीतिगत निर्णय थियो।

पूँजी ८ अर्ब पुर्याउने नीतिको अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा विपक्षमा हुनुहुन्थ्यो।८ अर्ब पूँजी पुर्याउने राष्ट्र बैंकको उदेश्य पूरा पनि भएन।राष्ट्र बैंकको नीतिमा त्यही गल्ती भयो।राष्ट्र बैंकको गलत नीतिमा साना लगानीकर्ता हकप्रद र बोनस आउँछ भन्ने हल्लाका पछाडी लागे र बैंकको मूल्य पनि बढ्यो।हकप्रद र बोनश शेयर आउने कुराले बैंकको शेयर किन्ने बढे।तर यो आएपछि बैंकको शेयर मूल्य घट्यो।तर बैंकको शेयर मूल्य हेर्ने हो भने धेरै घटेको भने होइन।

अहिले बैंकको शेयर भाउ एउटा ट्रयाकमा आएर वसेको छ। तर अधिकांश बीमा कम्पनीको शेयर मूल्यलार्इ हेर्ने हो भने सैद्धान्तिक रुपमा प्रमाणित हुँदैन। समग्र नेप्से सूचकमा बीमा कम्पनीको शेयर मूल्यले असर परिरहेको छ।यहाँ एउटा समूहको शेयर धितो राखेर अर्को समूहमा लगानी गरियो।यदि बैंकको शेयर धितो राखेर बीमा कम्पनीको शेयर किनेको छ भने त बीमा कम्पनीको शेयर किन्ने घाटामा गइहाल्छन्। यसैको असर अहिलेको बजारमा परेको छ। लहरो तान्दा पहरो आउँछ भने जस्तो एउटा सेक्टरको मूल्य घट्यो भने अर्को सेक्टरको शेयर मूल्य पनि घट्छ।

एकातिर मार्जिन ल्याण्डिङ कल भयो र अर्कोतिर तरलताको समस्या भयो जसले  बजारलार्इ नै असर गर्यो। अहिले युवराज खतिवडा अर्थमन्त्री हुनुभएको छ। उहाँ अर्थमन्त्री हुनेवित्तिकै बजारमा रिउमर फैलाइएको छ।शेयर बजार अनुत्पादक क्षेत्र भएको भन्दै कर्जा प्रवाह रोक्ने अन्तर्वार्ता दिनुभएको भन्दै हल्ला फैलिएको छ।यो हल्लासँगै राज्यको प्राथमिकता के हो?यसका बारेमा पनि बुझ्न आवश्यक छ।

अहिले बैंकले प्रतिवद्धता गरेका जलविद्युत र सिमेन्ट कम्पनीमा पैसा दिन सकिरहेका छैनन्।तरलता समस्या समाधान नभएसम्म अरु क्षेत्रमा पैसा दिन मिल्दैन।यदि बैंकले जलविद्युत र सिमेन्टमा पैसा नदिएर शेयर लगानीका लागि पैसा दिएमा ती परियोजना समयमा आउँदैनन्।ती परियोजना समयमा नआए हामीले भनेकोजस्तै अर्थतन्त्रले छलाङ मार्न पनि सक्दैन।राज्यले परिभाषित गरेका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकका लगानी गर्नसक्ने अवस्था भएपछि शेयर बजार लगायतका क्षेत्रलार्इ प्राथमिकतामा राख्नु उपयुक्त होला।

एउटा सफल पूर्व गभर्नर अर्थमन्त्रीको रुपमा आउनु भएको छ।उहाँ नियुक्त भएको धेरै समय पनि भएको छैन।उहाँलार्इ काम गर्ने मौका पनि नदिर्इ अनावश्यक हल्ला चलाएर शेयर बजार घटाउनु हुँदैन।यो हल्लाले सबैभन्दा पहिला सना लगानीकर्ता समस्यामा पर्छन्।उनीहरुले ऋण लिएर लगानी गरेका छन्।उनीहरु हत्तोसाहित भएमा शेयर बजारलार्इ दीर्घकालिन रुपमा दिगो बनाउ सकिदैन।बजारलार्इ दिगो बनाउन सकियो भने त्यसको प्रतिफल सबैले चाख्न पाउँछन्।

बजार धेरै घट्दा ठूला लगानीकर्ता, म्युचुअल फण्ड, बीमा कम्पनी तथा पैसा भएका लगानीकर्ताले शेयर बेच्दैन। यसलार्इ कारोबार रकमबाट पनि मूल्याङ्कन गर्न सकिन्छ। ऋणमा फसेका व्यक्ति थप ऋणमै डुब्छ।त्यसैले मार्जिन लोन नयाँलार्इ नदिने तर पूरानालार्इ ५०बाट ७० प्रतिशत पुर्याउनुपर्छ। मुलुकको अहिलेको अवस्था अत्यन्तै राम्रो समय हो।

यो समय ५ देखि १० वर्षको रहन्छ। यस्तो पिरियडमा अर्थशास्त्र बुझेका ‍खतिवडा जस्ता अर्थशास्त्री अर्थमन्त्रीको रुपमा आउनु हाम्रो लागि सौभाग्य हो। उहाँले अहिलेको अर्थतन्त्र बनाउन सक्नु भएन भने कसैले बनाउन सक्दैन।उहाँले बजार विगारेर अर्थतन्त्र सबल बन्न सक्दैन भन्ने पनि बुझ्नुभएको छ।
पूँजी बजार ध्वस्त पारेर उहाँले ल्याएका पोलिसी पुरा हुँदैन। राजनीतिक मुद्दाबाट मुलुकको विकास सम्भव छैन।मलार्इ उहाँले पूँजी बजारलार्इ समस्यामा पार्नुहुन्छ जस्तो लाग्दैन। उहाँ राजनितिज्ञ भन्दा पनि अर्थविज्ञ हो। हामी सबैले उहाँलार्इ काम गर्न समय दिनुपर्छ। अहिले क्राइसिस पिरियड भएकै कारण उहाँलार्इ ल्याइएको हो।नभए राजनीतिज्ञनै अर्थमन्त्री हुन्थे।

उहाँले बीबीसीमा दिनुभएको अन्तर्वार्ता तथ्यमा आधारित छ। तथ्यका आधारमा रहेर बोलिएको कुरालार्इ नकारात्मक रुपमा लिनु हुँदैन।उत्पादनमूलक क्षेत्रलार्इ रोकेर अनुत्पादक क्षेत्रमा ऋण दिनु राष्ट्रका लागि पनि घातक हुन्छ।मानौ आज तपार्इसँग केही मात्र पैसा छ भने तपार्इँको प्राथमिकता के हो? पहिलो प्राथमिकता भनेको खानेकुरा हो।त्यसपछि कपडा र घरतिर जानुहुन्छ।त्यसैगरि राज्यका पनि आफ्ना प्राथमिकता हुन्छन्।त्यही प्राथमिकतालार्इ उहाँले बताउनुभएको हो।

उहाँले अर्थशास्त्रको भाषामा वोलिदिनु भयो। त्यसैले सबैले बुझ्न सकेनन्। त्यसैले अर्थमन्त्रीले बुझ्ने गरि अझै प्रस्ट्याएर एक पटक बोलिदिनै पर्छ।
अहिले हामीले अल्पकालिन असरलार्इ मात्र हेर्नु भएन। त्यसको दीर्घकालिन असर कस्तो पर्छ त्यो पनि हेर्नुपर्छ।अल्पकालिन रुपमा बजार बढाउन अर्थमन्त्रीले चाहेमा दुर्इ मिनेटमा सक्नु हुन्छ तर उहाँ त्यस्तो गर्ने व्यक्ति होइन।इन्ट्रिग्रिटिमा बसेको व्यक्तिले दीर्घकालिन रुपमा बजारलार्इ हेर्छ।सानादेखि ठूला लगानीकर्तालार्इ हेर्ने दायित्व समेत अर्थमन्त्रीको हुन्छ।राज्यका प्राथमिकतालार्इ हेरेर पूँजी बजारलार्इ समेत दीर्घकालिन रुपमा उहाँले हेर्न खोज्नुभएको हो जस्तो मलार्इ लाग्छ।

अर्थमन्त्रीले कुनै क्षेत्रलार्इ प्राथमिकतामा राख्ने वितिकै अर्को क्षेत्रले आफू विरुद्ध हो भनेर सोच्न आवश्यक छैन। सैद्धान्तिक रुपमा शेयर बजार बढेमा उहाँ त्यसको विरुद्धमा बोल्नुहुन्छ।त्यसरी शेयर बढाउने पक्षमा राम्रा लगानीकर्ता पनि छैनन्।यस्ता गलत तत्वलार्इ रोक्नै पर्छ।सोझासाझा जनतालार्इ फसाउनेलार्इ रोक्छु भन्नु गलत होइन।

अहिले आतिनुपर्ने अवस्था छैन।अहिले जुन कम्पनीको शेयर बढ्नै नपर्ने थियो तर बढेको छ। त्यस्ता शेयर त घट्ने नै भए।ती कम्पनीले नोक्सानी गराउनै थिए।जानाजान त्यस्ता शेयर घट्छ र नोक्सान पार्छ भन्दा भन्दै लगानीकर्ता हाम फाल्छन् भने त्यस्तालार्इ उद्धार गर्नुपर्छ भन्नेमा म सहमत छैन।बैंकिङ समूहमा लगानी गर्ने सबै सुरक्षित छन् उनीहरु डुब्दैनन्।केही क्षेत्रले प्रतिफल दिनसक्दैन र सैद्धान्तिक रुपमा पनि मेल खाँदैनन् भने त्यसको मूल्य अवश्य घट्छ।त्यसैका कारण नेप्से सूचक पनि घट्छ।

शेयर बजारमा दीर्घकालिन रुपमा लगानी गर्न आउनुपर्छ।जब पूँजी बजार इफिसियन्ट हुन्छ ‘सर्टट्रम गेनर’ थोरै मात्र हुन्छ।शेयर बजारमा लगानी गर्नु पूर्व अध्ययन आवश्यक हुन्छ।शेयर बजारका जोखिमहरुका बारेमा अध्ययन आवश्यक छ।दीर्घकालिन रुपमा कमाउन चाहनेहरुका लागि शेयर बजारमा जोखिम कम हुन्छ।छोटो अवधिमा कमाउन आउनेहरु धेरै लगानीकर्ता विल्लीबाँठ समेत भएका छन्।
(शेयर विश्लेषक टिवडेवालासँग बिजमाण्डूका अरुण सापकोटाले गरेको कुराकानीमा आधारित)