सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बन्ने निश्चित, जाइकाको टोली नेपालमा, अप्रिलमा ऋण सम्झौता

बिजमाण्डू
२०७४ फागुन २२ गते १०:३० | Mar 6, 2018
सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बन्ने निश्चित, जाइकाको टोली नेपालमा, अप्रिलमा ऋण सम्झौता

काठमाडौं।अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक खण्डमा सुरुङमार्ग बन्ने निश्चित भएको छ।

Tata
GBIME
Nepal Life


काल्पनिक तस्विर

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोली र नेपाली पक्षबीच आइतबार भएको छलफलमा सुरुङमार्ग निर्माण गर्ने सहमति भएको हो।सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अप्रिलमा सुरुङमार्ग निर्माणका लागि जापानले ऋण सहयोग दिने सहमति भएको जानकारी दिए।यो सुरुङमार्ग निर्माण भएपछि धुलिखेल-भक्तपुरमा हुने जाम हट्नेछ।नागढुंगापछि काठमाडौं जोड्ने यो दोस्रो प्रमुख नाका हो।अहिले यो सडकमा जाम भएर यात्रुले सास्ती भोग्दै आएका छन्।

यो खण्डको १६ किलोमिटर क्षेत्रमा बाटो विस्तार र सुरुङमार्ग बन्नेछ।१६ किलोमिटर बाटो ८ लेनको बनाउने र २.६ किलोमिटर सुरुङमार्ग निर्माणका लागि जापानले ऋण दिनेछ।श्रेष्ठका अनुसार  बाटो विस्तार र सुरुङमार्गका लागि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ।सडक विस्तार र सुरुङमार्ग निर्माणको सम्भाब्यता अध्ययन प्रतिवेदन समेत जाइकाले तयार पारेको हो।जाइकाको अध्ययनले सुरुङमार्ग निर्माण गर्नसक्ने देखिएपछि प्राविधिक टोली नेपाल आएको हो।

महाशाखा प्रमुख श्रेष्ठले भक्तपुरको पलासेबाट धुलिखेल जाने सडक घुम्तीका कारण जोखिम रहेकोले सुरुङमार्ग निर्माणलार्इ अघि बढाइएको बताए। पलासे नजिकैको गणेश मन्दिरबाट-धुलिखेलतर्फ आउन र जानका लागि दुर्इ छुट्टा छुट्टै सुरुङमार्ग निर्माण हुनेछ।ऋण सम्झौंता अघि नेपालले विभिन्न नीतिगत निर्णयहरु गर्नुपर्नेछ।

उनका अनुसारआयोजनामा पर्ने घर जग्गाको विवरण र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन लगायतका काम सक्नु पर्नेछ। ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को काम अघि बढ्ने छ।कुनै अवरोध नभएमा डिपिआर तयार भएको तीन बर्षमा सुरुङमार्ग निर्माण हुनेछ।

 कस्तो हुनेछ सुरुङमार्ग ?
महाशाखा प्रमुख श्रेष्ठका अनुसार आउन र जानका लागि लागि दुर्इ छुट्टाछुट्टै सुरुङमार्ग निर्माण हुनेछन्।

एउटा सुरुङमार्गको चौडार्इ ९.५ मिटरको हुनेछ।सुरुङमार्गमा दुर्इवटा लेन हुनेछन्।एउटा लेन ३.५ मिटरको हुनेछ।बाँकी दुर्इ मिटर दुवैतिर १/१ मिटरको स्पेश छोडिने छ। सुरुङमार्गको लम्वार्इ १.३/१.३  किमी हुनेछ।

यो सुरुङमार्ग निर्माण पछि दुर्इ किलोमिटर सडक छोट्टिनेछ।यो सुरुङमार्गमा ६० किलोमिटर स्पीडमा सवारीसाधन कुदाउन सकिने महाशाखाले दाबी गरेको छ। यो सुरुङमार्गले तातोपानी नाका जानका लागि हुनेछ भने विपी राजमार्ग हुँदै आउने यात्रुलार्इ समेत सहज हुनेछ।