ट्रम्पसँग रुष्ट अधिकारीहरु ह्वाइट हाउस छोड्दै, ट्यारिफमा असहमतिपछि आर्थिक सल्लाहकार पनि टाढिए

बिजमाण्डू
२०७४ फागुन २३ गते ११:२८ | Mar 7, 2018

स्टिल तथा आल्मुनियममा लगाइएको ट्यारिफप्रति असहमति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आर्थिक नीति सल्लाहकारले ह्वाइट हाउस छोड्ने भएका छन्।

Tata
GBIME
Nepal Life

प्रमुख अधिकारीका हैसियतले ट्रम्पलाई आर्थिक सल्लाह दिने गेरी कोनले राजीनामा गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ।हाइप्रोफाइलहरुले ह्वाइट हाउस छोड्ने श्रृंखला बढिरहेका बेला आर्थिक सल्लाहकारको पनि राजीनामा निश्चित भएको हो।

राष्ट्रपति ट्रम्पले स्टिल र आल्मुनियममा लगाएको ट्यारिफबाट कोन निकै रुष्ट भएको बताइएको छ। कोन सँधै फ्रि ट्रेडको पक्षधर रहिआएका छन्।
ह्वाइट हाउसले जारी गरेको बिज्ञप्ती अनुसार ५७ वर्षका कोनले ह्वाइट हाउस छोड्नु अघि देशका लागि सेवा गर्न पाउनुबाट गौरब महसुस भएको बताए।

गोल्डम्यान बैंका पूर्व अध्यक्ष रहेका कोनले ट्रम्पलाई गत वर्ष कर सुधारका कार्यक्रममा भने सघाएका थिए। तथापि उनीहरु दुई बीच घनिष्ठ सम्बन्ध नबनेको बताइएको छ।

गत वर्षको अगस्टमा नै कोनले ट्रम्पको आलोचना गरेका थिए। ट्रम्प प्रशासनले अझै राम्रो गर्न सक्ने र सुधार गर्नै पर्ने उनको भनाइ थियो। कोनको राजीनामा बारे निर्णय भैसकेपनि उनी केही सातापछि मात्र  औपचारिक रुपमा बाहिरिने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्।

ट्रम्पले पनि बक्तब्य मार्फत कोनलाई दुर्लभ प्रतिभा भन्दै सरहाना गरेका छन्। उनले सरकारको एजेन्डालाई अघि बढाउन सघाएको तथा गत वर्षको ट्याक्स रिफर्मका लागि समेत महत्वपूर्ण भूमिका खेलको भन्दै उनलाई धन्यवाद दिएका छन्।
गत मंगलबार मात्रै ट्रम्पले ह्वाइट हाउसभित्र कुनै पनि किसिमको अशान्तिको वातावरण नरहेको तर आफूले अझै केही ब्यक्तिहरु लाई बदल्न चाहेको ट्विट गरेका थिए।

केही समययता ह्वाइटहाउसबाट धेरै बरिष्ठ अधिकारीहरु बाहिरिइसकेका छन्।

गत हप्तामात्रै उनको नजिक मानिएकी संचार प्रमुख होप हिक्सले राजीनामा दिएकी थिइन्।