एनआइसी बैंकका कारण प्रणालीगत जोखिम बढेको भन्दै कुनै पनि कारोबार नगर्न २७ बैंकबीच सहमति




काठमाडौं। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ। एनआइसी एसियाले ब्याज दर नबढाउने प्रतिबद्धता जनाएर त्यसको ठिक बिपरितको अभ्यास गरेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले कारोबार नगर्ने निर्णय गरेको हो।
 


गत शुक्रबार एनआइसी एसियासहितका २८ वटै बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो।
 
तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो। सुचना सार्बजनिकसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकबाट राजिनामा गरेका थिए। रिसालले नै संघमा बचतमा ८ र मुद्दतिमा ११ प्रतिशत ब्याज कायम गर्ने सहमति गरेका थिए। संघमा गरेको सहमति कायम गर्न नसकेपछि उनले बैंक छाड्ने निर्णय गरेका थिए।
 
'एनआइसी एसिया बैंक एक्लै हिँड्छु भन्ने हिसावले अगाडि बढ्यो' कार्यसमिति बैठकपछि संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'त्यही भएर कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेका छौं।' उनले यसको जानकारी राष्ट्र बैंकलाई पनि दिइने बताए।
 
एनआइसी एसिया बैंकको अस्वस्थ प्रतिस्पर्धाले गर्दा ब्याज दरमा भन्दा पनि प्रणालीगत जोखिम बढ्ने देखिएकाले अन्तर बैंक कारोबार र विदेशी मुद्राको कारोबार नगर्ने निर्णय गरिएको उनले जानकारी दिए। अब एनआइसी एसियालाई तरलता ब्यवस्थापन गर्नु परे राष्ट्र बैंकको अस्थायी तरलता सुविधा प्रयोग गर्नुपर्ने हुन्छ।
 
आगामी दिनमा कसरी अगाडि बढ्नेबारे संघले आइतबार २७ वटा बाणिज्य बैंकहरुलाई छलफलमा डाकेको छ। आइतबारको वैठकपछि ब्याज दर कति हुने र कसरी अगाडि बढ्ने भन्नेबारे आवश्यक निर्णय हुने कार्यसमितिका एक सदस्यले जानकारी दिए।
 
'एनआइसी एसियाले सहमति बिपरित ब्याज बढाइ दिँदा अब ब्याज १२, १५ हुँदै जति पनि माथि पुग्न सक्छ' ढुङ्गानाले भने, 'यसले गर्दा अर्थतन्त्र नै समस्यामा पर्न सक्छ। त्यसलाई रोक्न पनि हामीले कारोबार नगर्ने निर्णय गर्नु परेको हो।'
 
बैंकहरुले आइतबारको बैठकसम्मलाई पूर्ववत सहमति अनुसार नै अगाडि बढ्ने निर्णय गरेका छन्। २७ वटा बाणिज्य बैंकबीच बचतमा ८ र मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमतिलाई निरन्तरता दिइने निर्णय भएको छ। 'आइतबारको बैठकले बाँकी कुरा निर्धारण गर्छ' ती बैंकरले भने, 'अहिलेलाई एनआइसी एसियासँग कारोबार नगर्ने निर्णय भएको छ।'
 
कार्यसमितिमा उपस्थित बैंकरहरुले अहिले संयमित भएर अगाडि बढ्नु पर्ने भन्दै स्थिरता कायम गर्न सबैको जोड हुनु पर्ने धारणा राखेका थिए। 'एनआइसीलाई सहमति नमान्नु थियो त्यही बेला भन्नु पर्थ्यो। तर सहमति गरेर नमान्ने र अरु बैंकको स्रोत खोस्ने अभ्यासमा लाग्दा हामीले पनि केही न केही कडा कदम चाल्नै पर्ने अवस्था आयो,' ती बैंकरले भने। 
 
बैठकमा लक्ष्मण रिसालको राजिनामा प्रकरण बारे पनि समीक्षा भएको थियो। 'एउटा सिइओ सहमति गरेर जान्छ अनि बोर्डले सिइओको इज्जत नधान्ने गरी निर्णय गर्छ भने बैंक कसले चलाइरहेको छ भन्ने आँफै पुष्टि भइहाल्छ नि' ती बैंकरले भने, 'बैंकमा कार्यकारी अध्यक्षको अभ्यास हुँदा सिइओले राजिनामा गर्नु परेको हो।' 


Share this Story

   

एनआइसी बैंकका कारण प्रणालीगत जोखिम बढेको भन्दै कुनै पनि कारोबार नगर्न २७ बैंकबीच सहमति को लागी १ प्रतिक्रिया(हरु)

Dinesh Lamichhane[ 2018-03-09 01:10:25 ]
maile 2073/10/15 dekhi lagu hune gari 9.50% ghar lone liyako tiya 1 barsha nahudai 2/2 patak interest badayara 13% purayako xa maile patak patak anurodha garda pani interest ko rate ghatayako xaena ma aahile sarai markama pareko xu yasko help ko lagi nepal bankers associations ma hardik aanurodha gardaxu. please help me

   हालसम्म ५६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.