विमान दुर्घटना: पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन

रासस
२०७४ फागुन २८ गते २०:५२ | Mar 12, 2018
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले आज भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । 
 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र  सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।
 
जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए। बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ । 
 
बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथ महान्यायाधिवक्ताको प्रक्रियाजस्तै गरी प्रदेशको उच्च अदालतको मुख्य न्यायाधीशको उपस्थितिमा गराउने निर्णय गरेको छ ।
 
 

Tata
GBIME
Nepal Life