शेयरलार्इ नियन्त्रण गर्ने पक्षमा सरकार छैन, एमाले निकट अर्थशास्त्री नेपालको विश्लेषण

बिजमाण्डू
२०७४ फागुन ३० गते १६:२६ | Mar 14, 2018
शेयरलार्इ नियन्त्रण गर्ने पक्षमा सरकार छैन, एमाले निकट अर्थशास्त्री नेपालको विश्लेषण
सरकार परिवर्तन हुँदा त्यसको प्रतिविम्ब पुँजी बजारमा देखिन्छ। यो सामान्य प्रक्रिया नै हो। तर, अहिले बामपन्थी सरकार आउँदै गर्दा जानीबुझी  हल्ला चलाइएको छ। शेयर बजार आफ्नै प्रक्रियामा सञ्चालन हुन्छ। शेयर बजारमा आभारभूत र प्राविधिक पक्षहरुका कारण पनि उतारचढाव देखिन्छ भने बाह्य कारणका रुपमा राजनीतिक परिवर्तलाई पनि लिने गरिन्छ। यसलाई सामान्य रुपमा हेर्नु नै उचित हुन्छ। 
 
बजार हिजो पनि आफ्नै गतिमा थियो र आज पनि आफ्नै गतिमा छ। हिजोका नियम कानुन यथावत छन्, बजारसँग परिचित अनुहार काम गर्ने ठाउँमा छन्। काम गर्ने व्यक्ति हिजो पनि तिनै थिए, आज पनि तिनै छन्। त्यसकारण सरकार नयाँ आयो, अझ वामपन्थी आयो भनेर अनावस्यक हल्ला चलाउनुको अर्थ छैन। अहिलेको सरकार बन्दै गर्दा पनि आधारभूत पक्षमा कुनै परिवर्तन भएको छैन। 
 
वामपन्थी सरकार आउँदैमा शेयर बजार ओरालो लाग्छ र विदेशी सहायता पनि आउँदैन भन्ने कुराहरु निराधार हल्ला मात्र हुन्। लामो समयपछि मुलुकमा स्थीर सरकार बनेको छ। यसले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने कुरालाई आफ्नो प्राथमिकतामा राखेको छ। स्थिर सरकार आउँदै गर्दा र देश समृद्धितर्फ लैजाने कुरालाई अघि बढाउँदै गर्दा अनावस्यक हल्ला फैलाएर शेयर बजारलार्इ असर पार्नेतर्फ केही ठूला लगानीकर्ता अग्रसर भएको देखिन्छ। यस सरकारले लगानीका अन्य विकल्पहरु दिनेछ। पुँजी बजारलार्इ ज्यादै नियन्त्रण गरेर जाने भन्ने पक्षमा सरकार कहिले पनि जाँदैन। शेयर बजारको उतारचढाव माग र आपूर्तिको साधारण नियमले निर्धारण गर्छ। हल्लाले मात्रै बजार प्रभावति पारिनु हुँदैन। 
 
संविधानअनुसार चल्नु अहिले सबैको दायित्व हो। प्रमुख दलहरु पनि यसबाट बिचलित हुने कुनै पनि अवस्था छैन। राजनीतिक दलहरुका बिचमा काम गर्ने शैलीहरुमा एक किसिमको अलिखित सहमति छ। आफ्ना योजनाअनुसार साधन स्रोतको परिचालन गरी मुलुक अगाडि बढाउने आफ्ना आफ्ना शैली हुन्छन्। वैदेशिक सहायता परिचालन र आन्तरिक स्रोत परिचालन पनि त्यसैअनुसार हुन्छ। वर्तमान सरकारले वैदेशिक सहायतालाई राष्ट्रिय स्वार्थअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने योजना बनाएको छ। 
 
यति हुँदाहुँदै पनि शेयर बजारमा अनावस्यक हल्लाहरु चलाइन्छ। यस्ता हल्लाले लगानीकर्ताको पनि हित गर्दैन। अनावस्यक रुपमा चलाइने यस्ता हल्लाहरुले मुलुकको पुँजी बजारको विकासमा पनि बाधा पुर्या उँछ। शेयर बजारको आधारभूत पक्षको विश्लेषण भन्दा पनि हल्लाको पछाडि लागेर हिँड्ने समूहले यस्ता काम गर्छन्। जसले भोलिका दिनमा हुने परिवर्तनलाई बुझेको हुँदैन, उसैले यस किसिमका कुरा गर्छन्। 
 
साधारण मानिसका लागि लगानीका क्षेत्रहरु ज्यादै नै सिमित छन्। कुनै पनि मानिसले लगानी गर्छु भन्दै गर्दा कँहा गर्ने? प्रष्ट जवाफ छैन। लगानीका विकल्प धेरै नै सिमित भए। मानिसले कि त घर जग्गामा लगानी गर्ने भए कि त शेयर बजारमा लगानी गरिरहेको अवस्था छ। तर व्यक्ति स्वयंले व्यवसायी भएर लगानी गरिरहेको अवस्था छैन। जसले गर्दा शेयर बजारमा वित्तीय क्षेत्र नै केन्द्रित भयो। 


 
अबका दिनमा समृद्धिको अभियान सुरु हुन्छ। यस अभियानमा सरकारी तथा निजी क्षेत्रबाट तमाम किसिमका आयोजना सञ्चालन हुनेछन्। यस्ता आयोजनामा सर्वसधारणको समेत लगानी हुन्छ। जस्तो जलविद्युत क्षेत्रमा क्षेत्रमा सर्वसाधारणलार्इ पनि लगानी गर्न दिनै पर्ने किसिमको छ। फास्ट ट्रयाकमा समेत सर्वसाधारणले लगानी गर्न सक्ने छ। सरकारी वा निजी क्षेत्रले अघि बढाएका आयोजनामा सर्वसाधारणलाई लगानीको अवसर दिँदा त्यसले लगानीको विविधीकरण पनि हुन्छ। साना वा ठुला आयोजनामा समूहमा बसेर सर्वसाधारणले लगानी गर्न सक्ने अवस्था पनि आउनेछ। यसले गर्दा लगानीकर्ताले लगानीको लागि राम्रा क्षेत्र पाउनेछन्। 
 
त्यस्ता विकल्पको वातावरण तयार पार्ने काम सरकारको हो। तर अहिलेको सरकार यसो गर यसो नगर भन्दै लगानीको लागि निर्देशन गर्ने सरकार पनि होइन। सरकारले आकर्षक विकल्प दिएपछि लगानीकर्ता स्यमंले कहाँ लगानी गर्ने भन्ने बारेमा निर्णय लिनेछन्। अहिले बजार घटिरहनुको कारण वैकल्पिक बजार नभएर हो। हिजोका दिनमा पनि शेयर बजार अस्वभाविक रुपमा बढेकै हो। यसो हुँदै गर्दा बजारमा अर्को लगानीको अवसर नभएर नै हो। अहिले एक ठाउँमा भएको पैसा अर्को विकल्प तयार भएपछि लगानी गर्ने क्षेत्र बढ्छ र मानिसले नयाँ अवसर पनि पाउँछ। अहिले बैंकमा राखिराखेको पैसा पनि लगानी गर्ने क्षेत्र बढ्दै गर्दा परिचालन हुनेछ।
 
सरकारले अर्थ व्यवस्था नियन्त्रित गरेर जान्छ भन्ने सबै हल्ला हुन्। साथै अहिलेको शेयर बजार शैद्धान्तिक रुपमा नै चलेको छ त? यो बजार नै यस्तो छ कि केहि आशा देखाउन थाल्यो भने बढ्न थाल्छ। निराशा पैदा भयो भने बजार घट्न थाल्छ। त्यसैले शेयर बजार शैद्धान्तिक रुपमा चल्न सकेको छैन। शेयर बजारमा जसले प्रभाव पार्न सक्छ उनिहरुले पनि शेयर बजारको बारेमा सोच्नुपर्छ। जसले बजारलार्इ प्रभावित गर्न सक्छन्, उनीहरुले बजार हेरेर उचित हिसाबले अगाडि बढ्नुपर्छ। सरकारले शेयर बजारको विषयमा केहि पनि गर्न सक्दैन। भैरहेकै नियममा नियन्त्रण गरेर सरकार अगाडी बढ्न खोजेको भए चाँही सरकारले शेयर बजारलार्इ प्रभाव पार्यो भन्न सकिन्थ्यो। तर हिजोका विध्यमान नियमलार्इ नियन्त्रण गरेर हिँड्न खोजेको त छैन त्यसैले यसका लगानीकर्ताले निराशा प्रकट गर्नु पर्ने देखिँदैन। 
 
लाखौँ नेपाली जनताको लगानी रहेको शेयर बजारबाट राज्य कोषमा पनि ठुलै योगदान रहेको छ। सरकारले शेयर बजारमा लगानीको दायर बढाउन विस्तारै वास्तविक क्षेत्रलार्इ पनि भित्र्याउनु पर्छ। सरकारले आर्थिक समृद्धिको लागि पुँजीलार्इ नै आकर्षिक गर्नुपर्छ। अबको विकल्प भनेको पनि यही हो। वास्तविक क्षेत्रको प्रवेशले पुँजी बजारलाई बलियो बनाउँछ भने दायरा पनि झन् फराकिलो हुन जान्छ।
(नेपाल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन्। उनी नेकपा एमाले निकट अर्थशास्त्री हुन्।)

Tata
GBIME
Nepal Life