विराटनगरवासीलाई नयाँ वर्षको उपहार, १ अर्बको लगानीमा भाटभटेनी सुपर मार्केट तयार

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ चैत्र ३ गते १४:३६ | Mar 17, 2018
विराटनगरवासीलाई नयाँ वर्षको उपहार, १ अर्बको लगानीमा भाटभटेनी सुपर मार्केट तयार
विराटनगर । निर्माणको काम सुरु गरेको ११ महिनामै विराटनगरको धरान रोडमा सात तलाको भाटभटेनी सुपर मार्केट तयार भएको छ।

Tata
GBIME
Nepal Life


गत वर्ष वैशाखको अन्तिम साता निर्माण सुरु भएको भाटभटेनी वैशाख १ गते शुभारम्भ हुनेछ।भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एक अर्बको लगानीमा विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सुपर मार्केट सञ्चालनमा ल्याउने बताए।यो भाटभटेनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको अगुवार्इमा विभिन्न बैंकले लगानी गरेका छन्।
 
साढे ८ कट्ठा जमिन र १ लाख ४५ हजार वर्गफिट भवनका लागि ६० करोड खर्च भएको बताउँदै ४० करोडको विभिन्न सामान राखिने उनले बताए। भवनलाई साजसज्जासहित अन्तिम रूप दिन ३ सय ५० कामदार २४ घण्टा नै काम गरिरहेका छन् । बाढी आउँदा एक महिना वाहेक भवन निर्माण २४ घण्टानै काम भएको छ।


‘नयाँ वर्ष २०७५ को कोसेलीका रूपमा हामी विराटनगरलाई सुपर मार्केट दिँदैछौँ’, सञ्चालक गुरुङले भने, ‘हाम्रो योजना त फागुन २६ गतेदेखि नै सञ्चालनमा ल्याउने थियो तर गत साउनको बाढीका कारण ढिलो भयो ।’विराटनगरमा लिफ्ट र एस्किलेटरसहितको सुपर मार्केट भाटभटेनी नै पहिलो हुने भएको छ ।
 
सुपर मार्केटमा २ तलाको बेसमेन्ट र माथि ५ तला छन् । बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ ।भुईं तलामा ग्रोसरी अर्थात् खाद्य सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचनवेयर) र शृङ्गार–प्रसाधन (कस्मेटिक)का सामग्री राखिने गुरुङले बताए ।त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामग्री राखिने छन् ।
 
पाँचौँ तला मनोरञ्जनका लागि हुने छ । यस तलामा २ छुट्टाछुट्टै वातानुकूलित सिनेमा हलको तयारी गरिँदैछ । यही तलामा फुडकोर्ट रेस्टुरेन्टको व्यवस्था पनि गरिने छ । सिनेमा हल र फुडकोर्टका लागि काठमाडौंमा काम गरेर नाम कमाएको क्युएफएक्सलाई जिम्मेवारी दिइएको गुरुङले उल्लेख गरे ।
 
विराटनगरमा भाटभटेनीको शाखा १५ औँ संस्करणका रूपमा सञ्चालन गरिँदैछ । विराटनगरबाहेक राजधानीमा १० वटा तथा पोखरा, बुटवल, चितवन र धरानमा गरी भाटभटेनीका १४ सुपर मार्केट छन् ।यसपछि भैरहवा र ललितपुरको सातदोबाटोमा सञ्चालनको तयारी गरिँदै छ ।‘ईमान, कडा परिश्रम, धैर्य र निरन्तरता । मेरा विचारमा सफलताका चार सूत्र हुन्’, गुरुङले भने, ‘मिसन र भिजन त जोसित पनि हुन्छ । सपना सबैले देख्छन् । तर मैले भनेका चार चिजविना कसैको पनि सपना र भिजन साकार हुँदैन ।
 
पुर्वी पहाडी जिल्ला खोटाङको रावा दुधेपुलमा सामान्य कृषक परिवारमा उनको जन्मिए। गुरुङले एसएलसी र आइएस्सी सम्मको शिक्षा धरानमा पूरा गरे ।उनले भने, ‘एसएलसी दिएपछि धेरै साथीहरू साइन्स पढ्न विराटनगर आए तर ज्यादा गर्मी खप्न नसक्ने हुँदा मैले धरानमै आइए गरेँ र बिए पढ्न काठमाडौं गएँ ।’
 
त्रिचन्द्रबाट स्नातक पूरा गर्दा उनी नेपाल बैङ्कमा जागिरे थिए । जागिरका कारण २ वर्ष उनको पढाइ छुट्यो ।‘त्रिचन्द्रबाट स्नातक गरेर कीर्तिपुरबाट २०३९ सालमा अर्थशास्त्रमा एमए गरियो’, उनले गुरुङले भने, ‘अहिलेका अर्थ मन्त्री युवराज खतिवडाजी मेरै ब्याची हुन् । सम्झँदा गर्व लाग्छ ।’
कीर्तिपुरमा डा रामशरण महत, डा पार्थिवेश्वर तिमिल्सिना, ऐश्वर्यलाल प्रधानाङ्ग र विश्वम्भर प्याकुरेलजस्ता विद्वान्ले पढाएको उनी गौरवका साथ सुनाउँछन् ।
 
‘२०४० मा विवाह गरेपछि श्रीमतीलाई पनि काममा लगाउनु पर्यो भनेर २०४१ सालमा भाटभटेनीमा कोल्ड डिङ्क्स र ग्रोसरीका सानो पसल खोलेँ’, उनले भने, ‘१० बाई १२ को एउटा सटरमा पाउरोटी, कोल्डड्रिङ्क्स, बटर, जाम, बियर आदि थिए । पछि व्यवसाय बढ्दै गयो । हामीले पनि इमानका साथ कडा मेहनत गर्दै गयौँ । त्यसपछि त्यही ठाउँमा २०५० सालमा भाटभटेनी सुपर मार्केटको निर्माण गर्यौँ ।’
 
‘अवैध पैठारी र न्यून विजकीकरण आजको व्यापारका मुख्य समस्या हुन्’, गुरुङले भने, ‘हामी पनि पीडित छौँ । यहाँका के समस्या छ भत्रे सबैलाई एकएक थाहा छ । मैले भनेर केही हुन्न ।’गुरुङको सञ्चालनमा रहेको भाटभटेनीले अहिले मुलुकका विभित्र ठाउँमा ६ हजार ५ सयलाई रोजगारी दिएको छ ।