साधारण शेयर निष्काशन भएको १५ दिनमै दोस्रो बजारमा कारोबार, आरम्भ माइक्रोफाइनान्सबाट सुरु हुने

बिजमाण्डू
२०७४ चैत्र ४ गते २१:०३ | Mar 18, 2018
काठमाडौँ।साधारण शेयर निष्काशन भएको १५ दिनमै दोस्रो बजारमा कारोबार हुने भएको छ।अहिले शेयर निष्काशन भएको दुर्इ महिनामा मात्रै शेयर कारोबार हुने गरेको छ।

Tata
GBIME
Nepal Life


केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले सि-आस्बा सफ्टवेयरमार्फत साधारण शेयर बाँडफाँड ३७ घण्टामै गरेपछि कारोबार समेत १५ दिनमा गराउने प्रकृया अघि बढाएको हो।‘साधारण शेयर निष्काशन भएको १५ दिन भित्रै कारोबार गराउने गरि हामीले प्रकृया अघि बढाएका छौं’ सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बिजमाण्डूसँग भने।
 
गुप्ताका अनुसार आरम्भ माइक्रोफाइनान्सको निष्कासन बन्द भएको  ३७ घण्टामा बाँडफाँड गरिएको शेयरबाटै १५ दिनमा कारोबार गर्ने गरि प्रकृया अघि बढाइएको छ। आरम्भको गत फागुन २३ गते प्राथमिक शेयर बाँडफाँड भएको हो। आरम्भको शेयर दोस्रो बजारमा कारोबारका लागि सिडीएससीमा आइतबार दर्ता भएको गुप्ताले जानकारी दिए। आइतबार दर्ता भएको शेयर सोमबारबाट लगानीकर्ताको खातामा जाने उनले बताए। लगानीकर्ताको खातामा यसै साता सबै शेयर पठाई सक्ने गरि काम हुने छ। 
 
दोस्रो बजारमा कारोबारकोलागि कम्पनीले यसै साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शेयर सूचीकरण गर्ने छ।शेयर सूचीकरण भएसँगै अर्को साता बाट आरम्भको दोस्रो बजारमा कारोबार सुचारु हुने छ।‘यस साता सिडीएससी र नेप्सेमा सूचीकरण हुन्छ, बीचमा कुनै अवरोध नभए अर्को साताबाट दोस्रो बजारमा कारोबार हुन्छ’ गुप्ताले भने। 
 
बाँडफाँडलाई छोट्याउन कम्पनीले सूचीकरणका लागि गर्नुपर्ने निवेदन लगायतका प्रक्रियालाई पहिलेनै सकेर बाँडफाँड लगत्तै सूचीकरण प्रक्रियालाई अघि बढाइने उनले बताए। हाल कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका,२०७४ को दफा ६ अनुअसार सिडीएससीमा सूचीकरणको लागि सात दिन भित्र निवेदन दिनुपर्ने प्रावधान छ। 
 
यस अघि प्राथमिक बजारमा कारोबार सुचारु हुन कम्तिमा ६० दिन लाग्ने गरेको थियो। पछिल्लो समय गत पुस २१ देखि २५ सम्म निष्कासन भएको उन्नति माइक्रोफाइनान्सको शेयर माघ २६ गते बाँडफाँड भएको थियो। माघमा बाँडफाँड भएको शेयर फागुन २२ गते देखि दोस्रो बजारमा कारोबार भएको थियो। उन्नति माइक्रोफाइनान्सको शेयर निष्कासन भएको दिन देखि ६०औं  दिनमा दोस्रो बजारमा कारोबार भएको हो।