शेयर बजारमा किन हुन्छ उतारचढाव, लगानीकर्ता भन्छन्- शेयर पनि सम्पत्ति हो भन्ने विश्वासै भएन!

बिजमाण्डू
२०७४ चैत्र ५ गते १५:०३ | Mar 19, 2018

काठमाडौं। शेयर बजार लगातार ओरालो लाग्दा शेयर बजारमा अघिपछि देखिने भिडभाड चहलपहल देखिन छाडेको छ। शेयर बजारबाट यति कमायौ भन्नेहरु देखिन छाडेका छन्।

Tata
GBIME
Nepal Life

शेयर बजार अनलाइन बनाउने, विदेशी लगानी भित्र्याउने, स्टक डिलर तथा मार्केट मेकर आउने भन्ने कुरामात्रै शेयर बजारको विकास नहुने नियमित लगानी गर्दै आएका सुमन थापा बताउँछन्।

शेयर बजारमा केही न केही समाचारले प्रभाव पारिरहनुको प्रमुख कारण नेपालको पूँजी बजार पूर्णरुपमा विकास हुन नसकेर हो। अहिलेसम्मको शेयर बजारलार्इ हेर्ने हो भने लगानीकर्ताले स्थायित्व भन्दा पनि बढी उतारचढाव चाहेको थापा बताउँछन्। बजारमा केही उतार चढाव आउने वित्तीकै नाफा हासिल गर्ने तर दिर्घकालीन रुपमा लगानी गरेर फाइदा दिने लगानीकर्ता कम हुँदा बजारमा धेरै नै उतार चढाव देखिएको थापाको तर्क छ।

शेयर बजारमा यस भन्दा अघि नागरिक लगानी कोष स्टक डिलरको रुपमा आउने, अनलाइन प्रणाली आउने, शेयर बजारमा एनआरएन भित्र्याउने भन्ने समाचारले शेयर बजारमा प्रभाव पार्थ्यो तर आजका दिनमा बैंकको तरलता जबसम्म समाधान हुने बाटो तर्फ जाँदैन शेयर बजार सुधारिने अवस्था नभएको एक पुराना लगानीकर्ता दिपक पाण्डे बताउँछन्।

हिजोका दिनमा शेयर बजारबाटै जिविकोपार्जन हुन्छ भन्दै लगानी गर्दै आएको भएपनि अबका दिनमा लगानी गर्ने वातावरण नभएको पाण्डे बताउँछन्।
‘अहिले जति पनि पूँजी परिचालन भएको छ यो सबै पूँजीमै सिमित भयो लगानी भएन। पूँजीले लगानी गर्ने क्षमता बढाउने हो। क्षमता विकास भयो तर लगानीको दायरा बढेन यसले गर्दा बैंकिङ प्रणालीमै असर पर्यो’- सुमन थापाको भनाई छ।

बैंक तथा वित्तीय क्षेत्रमा पूँजी बढाउने निर्देशन भयो । यसकालागि जति पनि पूँजी चाहिएको थियो शेयरबजारबाटै लगिएकोले बैंकिङ क्षेत्रमा तरलता देखिएको थापा तर्क गर्छन्। शेयर बजारमा सप्लाइ साइड मात्रै बढ्यो तर डिमाण्ड सिर्जना गर्ने काममा सरकार तथा कुनै पनि निमयनकारी निकाय नलागेको उनले बताए।  हिजो बोनस तथा हकप्रदको आशामा शेयर खरिद गरेका लगानीकर्ता हाल बोनस र हकप्रद हातमा आउँदा पनि शतप्रतिशत घाटामा रहेको उनको दावी छ।  

नेपालीले शेयरलार्इ भौतिक सम्पत्तिका रुपमा विश्वास गर्न नसक्नु नै शेयर बजारमा अनावश्यक उतारचढाव हुनुको कारक रहेको बजार विश्लेषक श्रीराम जोशी बताउछन्।

‘भर्खरै सान्जेन र रसुवागढी हाइड्रोपावरले कर्मचारी संचयकोषका संचयकर्ताकालागि शेयर निष्कासन गर्दा साढे ८ लाख संचयकर्तामध्ये एक लाख ८२ हजारले मात्रै आवेदन दिनु भनेको बौद्धिक वर्गनै शेयर बजार प्रति अनविज्ञ रहेको उदाहरण हो’- जोशीले भने।

यसकालागि माध्यमिक तह देखि जुनसुकै संकायमा पनि शेयर बजार सम्बन्धी पाठ्यक्रम समावेश गर्न जोशी सुझाव दिन्छन्।  
शेयर नै पुँजी निर्माणको आधार हो भन्ने जबसम्म मानिसको बुझाइमा नभएसम्म र शेयरमा लगानी गर्ने विश्वास नजागेसम्म नेपाली शेयर बजारमा स्थायित्व नआउने जोशी बताउँछन्।

शेयर बजारमा छोटो अवधिकालागि लगानी गर्ने लगानीकर्ता धेरै भएको हुँदा लगानीकर्ताको प्रकृति छुट्याउनुपर्ने आवश्यकता लगानीकर्ता महेश नेपालीले महसुस गरेका छन्।

‘बजारमा छोटो छोटो समयका लगानीकर्ता धेरै हुँदा बजार नियन्त्रणभन्दा बाहिर गयो अब लगानी गर्ने प्रकृतिका आधारमा कर प्रणाली ल्याउनु पर्छ’- नेपालीको भनाई छ। अल्पकालीन लगानी गर्नेलार्इ धेरै र लामो समयकालागि लागि लगानी गर्नेलाई कम कर लगाउने नियम भए बजार व्यवस्थित हुने नेपाली बताउँछन्।  

अहिले शेयर बजारमा विदेशी लगानी भित्र्याउनेबारे छलफल चलिरहेको छ। यसले बजारलार्इ केही माथि लैजान्छ। ‘बजारमा एकै पटक अर्बौ रुपैयाँ भित्रिन्छ तर नाफा एकै पटक लैजान खोजे भने अहिले भएकै लगानीकर्ताबाट पैसा लैजाने हुन्’- नेपालीको भनाई छ। यसले बजार स्थायी बनाउने भन्दा पनि बजारमा अझ बढी उतारचढाव हुने नेपाली बताउँछन्। उनी नेपालीहरुलार्इ नै शेयर बजारमा लगानी गर्ने वातावरण बनाउनु पर्ने तर्क गर्छन्।

बैंकलार्इ ब्रोकरको लाइसेन्स दिने या ब्रोकरलार्इ नै शाखा विस्तार गर्न दिनुपर्ने उनको सुझाव छ। नेप्से तत्काल अनलाईन प्रणालीमा गएमा पनि शेयर बजारमा धेरैको पहुँच हुने नेपाली बताउँछन्।