भारतका बैंकहरुमा एकपछि अर्को ठगी काण्ड, पिएनबीपछि एक्सिससहितमा ४ हजार करोड घोटाला

बिजमाण्डू
२०७४ चैत्र ६ गते १७:०५ | Mar 20, 2018
मुम्बई। भारतका बैंकहरुमा एकपछि अर्को ठगी तथा घोटाला काण्डहरु सार्वजनिक हुन थालेका छन्। हिरा कारोबारी निरब मोदीले पन्जाब नेशनल बैंकमा गरेको घोटाला काण्ड सेलाउन नपाउँदै एक्सिस बैंकको मुम्बई स्थित मुख्य कार्यालयबाट प्रतितपत्र (एलसी) प्रयोग गरी एउटा कम्पनीले २५० करोड भारु घोटाला गरेको घटना सार्वजनिक भएको छ।
 
घोटाला गरेको आरोपमा पारेख आल्मिनेक्स लिमिटेडका तीन जना निर्देशक पक्राउ परेका छन्। कम्पनीका तीन निर्देशकहरु भँवरलाल भण्डारी, प्रेमल गोरागान्धि तथा कमलेश कनुंगोले २० भन्दा बढी पार्टीहरुसँग चार हजार करोड रुपैयाँ ठगेको सार्वजनिक भएको छ। 
 
४ हजार करोड रुपैयाँ ठगी काण्डमा एक्सिस बैंकको २५० करोड रुपैयाँ घोटाला भएको बैंकले जनाएको छ। बैंकको मुख्य कार्यालयबाट एलसी लेटर अफ क्रेडिट प्रयोग गरी उनीहरुले ति बिभिन्न पार्टीलाई ठगेको आरोपमा प्रहरीले हिरासतमा राखेको हो।
 
यस घटनमा प्रहरीले बैंकका कुनै अधिकारीको संलग्नता भए नभएकोबारे  केही सार्वजनिक गरेको छैन। बैंकले कम्पनीका अन्य निर्देशकहरु अमिताभ पारेख, राजेन्द्र गोठी, देभांशु देशाइ, किरन पारेख तथा बिक्रम मोर्दानीबिरुद्ध पनि उजुरी दर्ता गरेका छन्। यसमध्ये अमिताभ पारेखको सन् २०१३ मै मृत्यु भैसकेको छ।
 
कम्पनीले सन् २०११ मा बैंकबाट १२७.५ करोड भारुको एलसी खोलेको बैंकले जनाएको छ। उनीहरुले यो रकमलाई ब्यक्तिगत खातामा सारेर बिभिन्न बैंक तथा कम्पनीको कर्जा चुक्ता गरेको देखिएको छ। यस्तै कम्पनीले फर्जी बिलहरु तथा नक्कली सप्लाइ बिजकहरु तयार पारी एलसीको दुरुपयोग गर्दै आएका थिए। कम्पनीले एक्सिसमात्र नभइ एसबिआइ तथा आइओबी बैंक लगायतका २२ वटा पार्टीलाई यसरी नै ठग्दै आएको बारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
 
पारेख आल्मिनेक्सले आल्मुनियम पाताहरुको उत्पादन तथा बिक्री गर्दै आएको थियो।
 
कम्पनीले इन्डियन ओभरसिज बैंक तथा एसबिआइ बैंकमा ठगी गरेको बिषयमा सिबिआइले अनुसन्धान गरिरहेको छ। उनीहरुले एक्सिस बैंकबाट अल्पकालीन ऋणका रुपमा १२५ करोड भारु लिएका थिए।
 
सन् २०११ मा कम्पनीले बैंकबाट वर्किङ क्यापिटलका रुपमा १२७.५ करोड भारु लिएको थिए। बैंकले कम्पनीलाई कच्चा पदार्थ तथा उपकरण किन्नकालागि एलसी समेत जारी गरिदियो। तर कम्पनीले ति सबै रकम पुराना कर्जा चुक्ता गर्न ब्यक्तिगत खातामा सारेको र बिभिन्न बैंकको लोन सेटल गरेको अनुसन्धानमा देखिएको छ।
 
सन् २०१२ मा कम्पनीले ४९ करोड भारु बराबरको आल्मुनियम पाताहरु किनेको नक्कली कागजपत्र पेश गरेको थिए। 
 
सन् २०१३ मा बैंकले एलसी सुविधामा कटौती गरिदिएपनि कम्पनीले फेरि ७० करोडका आल्मुनियम पाता किन्न चाहेको भन्दै ७० करोड भारुको एलसी सुविधा लिएको देखिएको छ। तर नक्कली कागजपत्र तयारी पारी बैंकमा बुझाएर कम्पनीले पैसा ब्यक्तिगत खातामा सार्दै घोटाला गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

Tata
GBIME
Nepal Life