सिडीएससीको अग्रसरता: अब केवाइसी पनि अभौतिक, लगानीकर्तालार्इ आइडी कार्ड

बिजमाण्डू
२०७४ चैत्र ७ गते १०:२९ | Mar 21, 2018

काठमाडौँ। केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले ग्राहक विवरण पत्र  (केवाइसी)लाई अभौतिक(डिजिटल) गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

लगानीकर्ताले पटक/पटक केवाइसी भर्नुपर्ने बाध्यात्मक अवस्थालार्इ अन्त्य गर्न सिडीएससीले डिजिटलमा लैजान थालेको हो।डिजिटल प्रणालीबाट एकपटक केवाइसी भरेपछि त्यसलार्इ केन्द्रीकृत गरेर राख्नेछ।‘हामीले लगानीकर्तालार्इ सहज होस् भनेर केवाइसी अभौतिक गर्न लागेका हौं।एक पटक केवाइसी भरेपछि हाम्रो सिस्टममा रहन्छ त्यसपछि पटक/पटक केवाइसी भर्नुपर्ने बाध्यता समेत हट्छ’सिडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बिजमाण्डूसँग भने।

योसँग सिडिएससीले शेयर बजारका वास्तविक लगानीकर्ताका लागि परिचयपत्र(इन्भेस्टर आईडी) दिने भएको छ। पहिलो चरणमा केवाईसीलाई अभौतिक गर्ने र त्यसैको आधारमा आइडी कार्ड दिने उनले बताए। धितोपत्र बजार, बैंक वित्तीय संस्था लगायतमा केवाईसी अनिवार्य गरेर अभौतिक गर्ने उनले बताए।

पछिल्लो समय सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन अनुसार यो व्यवस्था गर्न लागेको गुप्ताले बताए।हाल अभौतिक गरिने केवाइसीमा भरिने विवरणको मोडल तयार रहेको र त्यसलाई थपघट गर्न नियामक निकाय र सरोकारवालासँग छलफल गरेर अन्तिम टुंगो लगाउने गुप्ताले बताए। पहिला अभौतिक गरेको केवाइसीलाई ब्रोकर कम्पनी, निक्षेप सदस्य र बैंकमा प्रयोगमा ल्याइने छ। एक पटक अभौतिक भएको केवाईसीको बदलामा ब्यक्ति र लगानीकर्ताले एउटा कोड पाउने छन्। जुन कोड प्राप्त व्यक्तिले माग भएको ठाउँमा भर्ने छन्। जसको सिधा सम्पर्क सिडीएससीमा हुनेछ। उसले कोडबाट सिधै अभौतिक केवाइसी प्राप्त गर्ने छ।

व्यक्तिगत विवरण परिवर्तन भए केवाइसी अभौतिक गरिएको ठाउँमै गरेर निवेदन दिनुपर्नेछ। निवेदन दिएपछि केवाइसीको विवरण परिवर्तन हुनेछ।यसले लगानीकर्ताको समय वचत हुनेछ भने कागज लगायतका खर्च समेत घट्नेछ।पछिल्लो समय नेपाल धितोपत्रबोर्डले शेयर कारोबारलाई थप पारदर्शी र ब्यबस्थित गराउन सम्पत्ति शुद्धीकरण सम्बन्धि प्रचलित कानुनको ब्यबस्थालाई थप प्रभाबकारी बनाउन भन्दै केवाइसीलाई थप परिस्कृत गर्न निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार केवाइसीमा मुख्यत ग्राहक परिवारको मुख्य विवरण, पेशागत विवरण, ग्राहकको बसोबास गर्ने स्थानको नक्सा, इन्भेस्टमेन्ट कम्पनीमा संलग्न भए नभएको विवरण, धितोपत्र खरिद गर्ने प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उदघोष लगायतका विवरण पेश गर्नुपर्छ।

भौतिकमा भएको व्यवस्था अनुसार अभौतिक केवाइसीको मोडल तयार भएको गुप्ताले बताए। हाल धितोपत्रको कारोबार गर्न लगानीकर्ताले दोस्रो बजारमा केवाइसी विवरण भर्नुपर्ने प्रावधान छ। यस्तै बैंक वित्तीय संस्था लगायतमा समेत खाता खोल्दा केवाईसी भर्नु पर्छ। लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न ब्रोकर कम्पनीमा खाता खोल्नु पर्छ। जति वटा ब्रोकर कम्पनीमा कारोबार गर्न खाता खोल्ने हो सबैमा लगानीकर्ताले केवाइसी भर्नुपर्छ।