डेढ वर्षअघि स्थापना भएको वीरगंजको पतञ्जली आयुर्वेद उद्योगमा विवाद, डेढ सातादेखि उत्पादन ठप्प

बिजमाण्डू
२०७४ चैत्र ७ गते १३:३७ | Mar 21, 2018
डेढ वर्षअघि स्थापना भएको वीरगंजको पतञ्जली आयुर्वेद उद्योगमा विवाद, डेढ सातादेखि उत्पादन ठप्प

वीरगंज।गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले वीरगंजमा स्थापना गरेको पतञ्जली आयुर्वेद उद्योगबाट उत्पादन ठप्प भएको छ।

Tata
GBIME
Nepal Life

भारतबाट कच्चा पदार्थ आउन बन्द भएपछि डेढ सातादेखि उत्पादन ठप्प भएको हो।महत्तो र भारतीय योगगुरु रामदेवको संयुक्त लगानीमा डेढ वर्षअघि यो उद्योग स्थापना भएको थियो। महत्तो र योगगुरु रामदेवका बीचमा लगानी विवाद उत्कर्षमा पुगेपछि भारतबाट कच्चा पदार्थ आउन बन्द भएको हो।

नेपाली र भारतीय व्यवस्थापन पक्ष वीच उद्योग सञ्चालनको विषयमा विवाद भएपछि उत्पादन ठप्प भएको कम्पनीका प्रशासकीय अधिकृत सीताशरण कण्ठले जानकारी गराए ।‘करिब एक साता देखि भारतबाट कच्चा पदार्थ आएको छैन,’उनले भने,‘माथिल्लो तहमा छलफल भइरहेको छ,तर कम्पनी लगभग बन्द जस्तै बनेको छ ।’आवश्यक सुरक्षाको प्रत्याभूति उपलब्ध नभएको भन्दै भारतीय पक्षले नेपाल स्थित पतञ्जलीको शेयर खरिद गर्न पनि पछि हटेको स्रोतले बतायो

यसरी सुरु भयो विवाद
तीन महिना देखि भारतीय व्यवस्थापकीय टोलीले उद्योगको व्यवस्थापन सम्हाल्यो ।पतञ्जलीबाटै राकेशकुमार शर्माको नेतृत्वमा आधा दर्जन कर्मचारी उद्योगमा खटिए।

शर्मासँगै यूनिलिभरबाट रामप्रसाद अधिकारी,लेखा तथा मार्केटिङमा बालकृष्ण झा र उनका दुर्इ भार्इ सुमित र सुजित झा उद्योगमा आए।भारतीयले व्यवस्थापन सम्हालेपछि विना कारण मजदुर निकाल्न थाल्यो।

मजदुर नेता अभिमन्यु पटेल,नितेश कुमार र दिपक कर्णलगायतलाई उद्योग व्यवस्थापनले कारवाही गरेर हटायो । माओवादी निकट अखिल नेपाल औद्योगिक संघ एकाई गठन गरेको थाहा पाएपछि भारतीय पक्षले मजदुर हटाउन शुरु गरेको थियो ।यही विषयबाट उद्योगमा द्धन्द्ध सुरु भयो।भारतीय पक्षले गत फागुन १६ गते व्यवस्थापन पक्षलाई केही मजदुरले उद्योगमै घेरेर कुटपिट गर्न खोजेको आरोप लगायो। बारा प्रहरी प्रशासनले पनि उचित सुरक्षा प्रबन्ध दिन नसकेको भारतीय पक्षले आरोप लगायो ।

कम्पनीमा नियुक्त भएकै दिन प्रबन्धक रमेश यादवलगायत भारतीय कामदारलार्इ कार्यकक्षमै थुनेर पिटेको उनीहरुको आरोप छ। यति मात्रै होइन कुटपिटमा संलग्न मजदुरलार्इ कुनै कारवाही नगरेको भारतीय पक्षको आरोप छ।कुटपिट हुँदा पनि सुरक्षाका लागि कुनै पहल नगरेको जानकारी
पतञ्जलीको केन्द्रीय कार्यालयमा उनीहरुले गराए।यो जानकारी पाउनेवित्तिकै भारतबाट कच्चा पदार्थ आउन रोकियो।भारतीय पक्षले बाराको उद्योग छाडिसकेको छ।उनीहरु स्वयम्भुमा रहेको पतञ्जली नेपालको कार्यालयमा सरेका छन्।

तर यता बाराका सहायक जिल्ला अधिकारी मुकेश केसरीले मजदुर र व्यवस्थापनबीत सामान्य विवाद मात्रै भएको र भारतीय पक्षलार्इ सुरक्षा दिएको दाबी गरे।‘व्यवस्थापन र मजदुरको श्रम अधिकारको विवाद हो।व्यवस्थापनले श्रम ऐनलार्इ मान्ने हो भने समस्या समाधान भइहाल्छ’उनले भने।

पतञ्जलीको ब्रान्ड खोसेपछि के हुन्छ ?
व्यवस्थापन र सुरक्षाको विषयमा विवाद उत्पन्न भएपछि पतञ्जली ब्राण्ड खोसिए के हुन्छरु स्रोतका अनुसार पतञ्जलीले ब्राण्ड खोसेमा महत्तोले नेपाल उद्योगग्रामको नाममा उद्योग संचालन गर्नेछन्।पतञ्जलीले भने नवलपरासीको कावासोतीमा उद्योग स्थापनाको तयारी गरिरहेको छ।

 सन २०१६को नोभेम्बरमा २५ करोडको लागतमा यो उद्योग स्थापना भएको थियो ।उद्योगको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र योगगुरु रामदेवले संयुक्त रुपमा गरेका थिए।उद्घाटनमा रामदेवले पाँच वर्षभित्र पाँच अर्बको बनाउने घोषणा गरेका थिए।