नेप्से सूचक १२३० अंकको लाइनमा झर्यो, सरकारले प्याकेजमा सम्बोधन गर्न लगानीकर्ताको माग

बिजमाण्डू
२०७४ चैत्र ७ गते १५:४७ | Mar 21, 2018

काठमाडौं। बुधबार शेयर बजारमा १.९४ प्रतिशतको गिरावट भएको छ।  शेयर बजारमा कारोबार सुरुवातको १० मिनेट देखिनै घट्न सुरु भएको थियो।
नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २४.४० अंकले घटेर १२३१.०७ अंकमा ओर्लिएको छ। 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.४९ अंकले घटेर २६२.४० अंकमा ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

बुधबार १५१ कम्पनीको १४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ।

उपसूचकमा नौ समुहको कारोबारमा उत्पादन तथा प्रसोधनको उपसूचक बाहेक सबै घटेका छन्। उत्पादनमुलक समूह ५८.४८ अंकले बढेको छ। बैंक २२.११, होटल २३.३१, विकास बैंक १३.८६, जलाबिद्युत २२.७, फाइनान्स ६.४, बीमा १८६.६९, अन्य ९.८५, लघुवित्त ४८.५२ अंकले घटेको छ।

शेयर बजार लगतार घट्नुमा बैंक तथा वित्तीय क्षेत्रको ४ गुणा भन्दा धेरै पूँजी बढाउने काम भएको र  बजारमा धेरै नै शेयरको सप्लाइ हुँदा बजारमा गिरावट आएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए।

नेपाल राष्ट्र बैंकको चाहना वाणिज्य बैंक गाभेर १२/१५ वटामा झार्ने थियो तर हकप्रदको गलत बाटो अपनाउँदा पुरै शेयर बजारलार्इ असर परेको उनको भनाई छ।  

नेपाल राष्ट्र बैंकले गरेको गल्तीलाई  बीमा समितिले दोहोर्याएको उनको आरोप छ।  बैंकिङ क्षेत्रको शेयरको संख्या बढेकाले पनि बजारलार्इ अझ बढी पनिक बनाएको उनले बताए।  बीमा समितिले थप १० वटा जीवन बीमा र तीन वटा निर्जीवन बीमा कम्पनीलार्इ नयाँ अनुमति दिने प्रकृया बढाउनुले शेयर बजारलार्इ असर परेको उनको तर्क छ। उनले भने- ‘बजारमा शेयर सप्लाइ बढिरहँदै गर्दा बैंकको व्याजदर पनि उच्च भयो जसले घटिरहेको बजारलार्इ थप पेनिक बनायो।’

 

बैंक तथा वित्तीय संस्थाको सर्वासाधारण शेयर पहिले धेरै कम भएको तर ४९:५१ प्रतिशतमा कन्भर्जन गर्न पाउने मोडल ल्याएपछि यसले सर्वसधारणको शेयर सप्लाइ बढाएको उनले बताए। हाइड्रोपावर कम्पनीहरुले प्राथमिक शेयर निष्काशन गरेर पनि बजारमा थप सप्लाइ भएको उनको भनाई थियो।  
शेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सेचेन्जले यस विषयमा केही नबोलेको रौनियारको आरोप छ।

सरकारले शेयर बजारलार्इ प्याकेजमा सम्बोधन गर्नुपर्ने रौनियार बताउँछन्। प्याकेज अन्तर्गत सबैभन्दा पहिले नेपाल स्टक एक्सचेन्जमा अनलार्इन ट्रेडिङ ल्याउनुपर्ने उनको भनाई छ। यस्तै चक्रपथ बाहिर नगएको ब्रोकर कार्यालयलाई विस्तार गर्न पनि उनले माग गरे।