राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने नीतिगत व्यवस्था गर्ने संकेतसँगै बैकले थाले पहल, अभाव हट्ला

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ चैत्र ८ गते १०:०३ | Mar 22, 2018
काठमाडौं। विदेशी संस्थाबाट ऋण ल्याउन दिने बारे राष्ट्र बैंकले अध्ययन थालेपछि बैंकहरुले पैसा भित्र्याउन पहल थालेका छन्। बैंकर तथा ब्यवसायीले नयाँ निक्षेप सिर्जना गर्नका लागि विदेशी पैसा ल्याउन दिनुपर्ने माग गरेपछि यसमा अध्ययन सुरु भएको हो।


 
अर्थमन्त्रीमा नियुक्त भएलगत्तै डा. युवराज खतिवडाले पनि विदेशी संस्थाबाट नेपाली बैंकले पैसा ल्याएर लगानी गर्ने वातावरण बनाउनु पर्ने बताएका थिए। यसअघि नै राष्ट्र बैंकले अध्ययन सुरु गरे पनि प्रकृया अघि बढ्न सकेको थिएन। अर्थमन्त्रीबाट सकारात्मक प्रतिकृया आएपछि राष्ट्र बैंकले नीतिगत व्यवस्थाका लागि अध्ययन थालेको हो।
 
अहिले नेपाली बैंकहरुले विदेशबाट ऋण लिएर नेपालमा लगानी गर्न सहज छैन। राष्ट्र बैंकले भर्खरै मात्र ५ लाख डलरसम्म ऋण लिन पाउने ब्यवस्था गरे पनि त्यो रकम पर्याप्त नभएको बैंकरको धारणा छ। त्यसैले आफ्ना विदेशी 'करेस्पोन्डेन्ट' बैंकसँग पैसा ल्याएर नेपालमा लगानी गर्न पाउनुपर्ने माग उनीहरुले गर्दै आएका थिए।
 
नेपाल उद्योग वाणिज्य महासंघले पनि विदेशी पैसा ल्याएर लगानी गर्ने वातावरण तयार पारिदिन माग गर्दै आएको थियो।
 
'मैले विदेशमा आफ्नो कारोबार भइरहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग पैसाका लागि कुराकानी गरिसकेको छु' नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'नीतिगत ब्यवस्था भए बैंकहरुले सजिलै विदेशी बैंकहरुबाट पैसा ल्याउन सक्छन्।'
 
ओरालो लाग्दो रेमिटेन्स, सुस्त विकास खर्च र ब्याज बढाउँदा पनि सर्वसाधारणको निक्षेप परिचालन हुन छाडेपछि नयाँ पैसा सिर्जनाका लागि बैंकहरुले पहल थालेका हुन्। बैंकर्स संघका अध्यक्षसमेत रहेका ढुङ्गानाले नीतिगत व्यवस्था भए धेरै बैंकले विदेशबाट पैसा ल्याएर यहाँ ऋण लगानी विस्तार गर्न सक्ने बताए।
 
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका ग्लोबल तथा कमर्सियल बैंकिङ प्रमुख गोरख राणाले नीतिगत ब्यवस्था भए विदेशी बैंकबाट पैसा ल्याएर नेपालमा लगानी गर्न सकिने बताए। 'यसबारेमा राष्ट्र बैंकले नीतिहरु पुनरावलोकन गर्नुपर्छ' उनले बिजमाण्डूसँग भने।
 
नेपाली बैंकहरुमा संयुक्त लगानी रहेको विदेशी संस्थाबाट पहिलो चरणमा पैसा ल्याउन सकिने बैंकरहरुले बताए। त्यसवाहेक पनि आफूले कारोबार गरिरहेको विदेशी बैंकहरुबाट पनि पैसा ल्याउन सकिने उनीहरुको धारण छ। 
 
'त्यहाँ २/३ प्रतिशत ब्याजमा उनीहरुले लगानी गरिरहेका छन्। हामीले पाँच प्रतिशत ब्याज तिर्ने हो भने पैसा सजिलै भित्रिन्छ' ढुङ्गानाले भने, 'त्यो पैसा यहाँ लगानी गर्न सकिन्छ। १०/११ प्रतिशतमै ऋण लगानी गर्दा पनि राम्रो आम्दानी हुन्छ। साथै लगानी बिस्तार भएर पनि जान्छ।'
 
एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले तरलता अभावको समस्या सँधैका लागि अन्त्य गर्न विदेशी बैंकबाट नेपाली बैंकले पैसा ल्याएर लगानी गर्ने ब्यवस्था गर्नुपर्ने बताए। उनको बैंकमा पनि विदेशी संस्था एफएमओको शेयर छ। 'हामी एफएमओबाटै पनि पैसा ल्याउन सक्छौं' उनले भने, 'त्यो पैसा यहाँ ऋण विस्तार गर्दा अर्थतन्त्रलाई पनि फाइदा हुन्छ।' उनले विदेशी बैंकबाट ल्याएको पैसामा लागत कम हुने भएकाले निजी क्षेत्रले सस्तो दरमै ऋण पाउने बताए।
 
राष्ट्र बैंकले ऋण ल्याउने प्रकृया,ब्याजदर र ऋणको सीमाका बारेमा अध्ययन थालेको छ।
 
'अनियन्त्रित हिसावले पैसा ल्याउनु पनि भएन' उनले भने, 'निश्चित मापदण्ड बनाएर ल्याउनु पर्छ।' त्यसैको बारेमा अध्ययन भइरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताए।
 
ब्याज तिरेर ल्याएको पैसाले नेपालमा 'बिजिनेस' पाएन र अनुत्पादक क्षेत्रमा लगानी बढेमा अर्थतन्त्रलार्इ थप जोखिम हुने उनीहरु बताउँछन्। 'अर्थतन्त्रलाई जोखिम नहुने गरि पैसा भित्र्याउनु पर्छ भन्ने हो' ती अधिकारीले भने, 'केही न केही नीतिगत व्यवस्था गरेर जानु पर्छ भन्ने पक्षमा हामी छौं।'

Tata
GBIME
Nepal Life