११% को ब्याज सीमाले सबै बैंकमा निक्षेप बराबरी बाँडियो, ‘परिपक्व’ निक्षेप जोगाउन अर्को सहमति

बिजमाण्डू
२०७४ चैत्र ८ गते ११:५६ | Mar 22, 2018
११% को ब्याज सीमाले सबै बैंकमा निक्षेप बराबरी बाँडियो, ‘परिपक्व’ निक्षेप जोगाउन अर्को सहमति
काठमाडौं। बैंकले ११ प्रतिशतभन्दा बढि ब्याज दिन छाडेपछि संस्थागत निक्षेपकर्ताहरुले परिपक्व भएको पैसा बोलकबोल गर्ने बैंकहरुलाई बराबरी बाँड्न थालेका छन्। यसो गर्दा जुन बैंकबाट परिपक्व भएको छ, उसको निक्षेप घट्न थालेको छ।
 
समान ब्याज राख्दा परिपक्व भएको निक्षेप खोसिन थालेपछि बैंकहरुले नयाँ उपाय चयन गरेका छन्, जसले गर्दा परिपक्क भएजति निक्षेप त्यही बैंकमा रहन्छ।
 
केही बैंकले सहमति विपरित ११ प्रतिशतभन्दा बढि ब्याज तिर्दा निक्षेप खोसाखोसको अवस्था आइसकेको थियो। सहमति पालना गर्ने बैंकहरुको निक्षेप घटिरहेको थियो। 
 
बैंकर्स संघको अगुवाइमा परिपक्व भएजति निक्षेप टिकाउन त्यो बैंकले ११.१५ प्रतिशतसम्म ब्याज दिन पाउने अर्को सहमति भएको हो। जति रकम परिपक्व हुने हो, त्यति नै पैसाका लागि मात्र ११.१५ प्रतिशत ब्याज कबुल गर्न पाइन्छ। परिपक्व भएभन्दा बढि रकम कबुल गर्नु परे ११ प्रतिशतको सीमा नाघ्न पाइँदैन।
 
'११% को सहमतिलाई पालना गर्दा परिपक्क भएको निक्षेप बाँडिन थाल्यो' बैंकर्स संघका एक सदस्यले भने, 'यसले गर्दा सम्बन्धित बैंकको सिसिडी फेरि टाइट हुने अवस्था आयो। यसलाई रोक्न ११.१५ प्रतिशतसम्म ब्याज दिन पाउने सहमति भएको हो।'
 
कुनै संस्थाले १ अर्ब निक्षेपका लागि बोलकबुल आह्वान गर्दा सबैले  ११ प्रतिशत ब्याजको प्रस्ताव गर्न थाले। यसो हुँदा त्यो संस्थाले १ अर्ब पैसा बराबरी बाँड्न थाल्यो। यसले गर्दा ५० करोड रुपैयाँ कसैको परिपक्व भए त्यो पैसा पनि अर्को बैंकमा जाने अवस्था आयो। त्यसैलाई रोक्न ०.१५ प्रतिशत बिन्दु बढि ब्याजको अर्को सहमति भएको हो।
 
बैंकर्स संघका सदस्यहरुका अनुसार, अहिले २८ वटै बैंकले ११ प्रतिशतको सहमति पालना गरिरहेका छन्। कसैलाई अप्ठेरो परे बैंकर्स संघमा छलफल गरेर अप्ठेरो फुकाइन थालेको छ।

Tata
GBIME
Nepal Life