प्रदेश राजधानी तोकिएका स्थानमा घरजग्गाको कारोबार बढ्यो, उपत्यकाको कारोबारमा आयो मन्दी

बिजमाण्डू
२०७४ चैत्र ८ गते १३:३३ | Mar 22, 2018
प्रदेश राजधानी तोकिएका स्थानमा घरजग्गाको कारोबार बढ्यो, उपत्यकाको कारोबारमा आयो मन्दी

काठमाडौं।प्रदेश राजधानी तोकिएका स्थानमा घरजग्गा कारोबार बढ्न थालेको छ।कारोबार बढ्न थालेपछि राजस्वको लक्ष्य भेट्याउन पनि सरकारलार्इ सहज भएको छ।

Tata
GBIME
Nepal Life

पहिला उपत्यकाको घरजग्गा कारोबारबाट राजस्वको लक्ष्य भेट्न सहज हुन्थ्यो।तर अहिले उपत्यकाको घरजग्गाको राजस्वको अंश विस्तार घट्न थालेको छ।उपत्यकामा कुल राजस्वको करिब ६० प्रतिशत राजस्व संकलन हुँदै आएको थियो। अहिले प्रदेशको घरजग्गा कारोबारले करिब ६० प्रतिशत राजस्व प्रदेशबाट मात्रै संकलन हुन थालेको छ।

फागुनमा एक अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।उपत्यकाको राजस्व ८१ करोड रुपैयाँमा सीमित भएको छ। उपत्यका बाहिरबाट भने एक अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन भएको छ।यस अघि माघमा एक अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन हुँदा उपत्यकामा ९१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। उपत्यकाबाहिर भने एक अर्ब सात करोड रुपैयाँ संकलन भएको थियो।

माघको तुलनामा घरजग्गा कारोबार खस्किएपनि प्रदेश राजधानीमा भएको कारोबारले लक्ष्यको नजिक पुग्न सहज भएको छ।फागुनमा दुई अर्ब दुई करोड रुपैयाँ राजस्व लक्ष्य रहेकोमा एक अर्ब ८५ करोड रुपैयाँ मात्र संकलन भएको छ।

प्रदेशमा निरन्तर वृद्धि
प्रदेश राजधानी टुङ्गो लागेर मुख्यमन्त्री पनि नियुक्त भइसकेपछि प्रदेश राजधानीमा घरजग्गा कारोबार व्यापक बढेको छ।

उपत्यकाको घरजग्गा कारोबारमा उतारचढाव आउँदा प्रदेशको कारोबार भने निरन्तर उकालो लागेको छ। प्रदेश राजधानीमा बुटवल, सुर्खेत, विराटनगर र जनकपुरमा घरजग्गा कारोबारले निकै गति लिएको छ। धनगढी, हेटौडामा उतारचढाव आउँदा पोखराको कारोबारमा भने गिरावट आइरहेको छ। 

प्रदेश राजधानी बनाएपछि मुस्किलले एक करोड रुपैयाँ राजस्व संकलन गर्दे आएको प्रदेश दुईको राजधानी जनकपुर र प्रदेश छ को राजधानी सुर्खेतमा भने घरजग्गा कारोबारले बढेको छ। बुटवलमा भने राजधानी सिफारिस नहुँदा पनि करोडौं रुपैयाँ राजस्व संकलन हुँदै आएको थियो।

उपत्यकाको कारोबारमा संकुचन
उपत्यकामा गत महिना कलंकी मालपोत कार्यलयले संस्थागत कारोबार गर्दा १० करोड रुपैयाँ बढी राजस्व संकलन गरेपनि फागुनमा पुनः पुरानै लयमा फर्किएको छ।

कलंकी मालपोत कार्यालयले गत महिना २२ करोड रुपैयाँ राजस्व संकलन गरेपनि फागुनमा १३ करोड रुपैयाँमै झरेको छ।अन्य मालपोत कार्यलयहरुको राजस्व पनि ओरालो लाग्दा डिल्लीबजार मालपोत कार्यालयले मात्रै माघको तुलनामा बढि राजस्व संकलन गरेको छ। माघमा १४ करोड रुपैयाँ राजस्व संकलन गरेको डिल्लीबजारले फागुनमा १८ करोड रुपैयाँ संकलन गरेको छ।

भक्तपुर, मनमैजु र साँखु मालपोत कार्यलयले सामान्य वृद्धिसहित गत महिनाकै हाराहारीमा राजस्व संकलन गर्दा चावहिल, टोखा र ललितपुरको राजस्वमा भने गिरावट आएको छ।