विदेशको जागिर छाडेर नेपालमा उद्यम गर्ने बढे, गौतमको मासिक बचत सवा लाख रुपैयाँ

रासस
२०७४ चैत्र ८ गते १६:३५ | Mar 22, 2018
बनियानी, झापा। स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ। दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन्। विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ।
 
कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बनेका छन्। युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएका थिए। 
 
'स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,' उनले भने। अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताए। उनले २५ लाख रुपैयाँको लगानीमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आएका छन्। फार्ममा हाल ३० वटा साना–ठूला गाई छन्। दैनिक २०० लिटर दूध उत्पादन हुन्छ। 
 
'गोठबाटै प्रतिलिटर ६० मा दूध बिक्री हुन्छ,' उनले भने। गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आएका छन्। दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उहाँले मासिक एक लाख २० हजारसम्म बचत गर्दै आएका छन्। 
 

Tata
GBIME
Nepal Life