पुँजी बजारप्रति वर्तमान सरकार नकारात्मक छैन: गुरुङ, अनलाइन प्रणाली नयाँ आर्थिक वर्षबाट मात्रै

बिजमाण्डू
२०७४ चैत्र ८ गते १९:२४ | Mar 22, 2018
काठमाडौँ। पुँजी बजारप्रति बाम गठबन्धनको सरकार नकारत्मक नरहेको नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले बताएका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघ र नोबेल इनिसिएसन नेपालले संयुक्त रुपमा  विहीबार आयोजना गरेको  छलफल कार्यक्रममा गुरुङले आर्थिक समृद्धिको लागि पुँजी संकलनको विकल्प नभएको बताए। 
 
पछिल्लो समय चालु खर्च बढेको र पुँजीगत खर्च कमजोर भएका कारण समग्र देशको अर्थतन्त्रमा असर परेको उनले बताए। सरकारले बजेट खर्च गर्न नसक्दा त्यसको असर पुँजी बजारमा पनि परेको उनले बताए। 
 
सरकारले आगामी दिनमा पुँजीगत खर्च बढाउने, विकास निर्माणमा जोड दिनुका साथै समग्र अर्थतन्त्रलाई बलियो बनाउने प्रयत्न गर्ने गुरुङले बताए। यसले आर्थिक वृद्धिलाई पनि सहयोग गर्ने उनले बताए। 
 
पुँजी बजारलाई सरकारी नीति, बैंकको ब्याजदर र अन्य थुप्रै कुराले फरक पार्ने भएकाले त्यस्ता बिषयलाई गम्भीरतापूर्वक लिएर सरकारको ध्यानाकर्षण गराउने उनले बताए। बजारलाइ थप पारदर्शी बनाउँदै लैजान पहल गर्ने पनि उनले बताए। 
 
छलफलमा लगानीकर्ताहरुले लगातार बजार घटिरहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए। पछिल्लो समय २१ खर्बको बजार १५ खर्बमा झरेकाले अब सरकारले शेयर बजार प्रति स्पस्ट धारणा ल्याउनु पर्ने लगानीकर्ता संघका अध्यक्ष उतम अर्यालले माग गरे। 
 
लगानीकर्ताको पैसा नोक्सान हुनु भनेको राज्यको पैसा नोक्सान हुने भन्दै उनले यस विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिए। बजार निरन्तर घटिरहँदा नियमनकारी निकायले अभिभावकको काम नगरेको उनको आरोप छ। मार्जिन ल्यान्डिङमा लगानीकर्तालाई ७० प्रतिशतसम्म ऋण दिनु पर्ने उनले माग गरे। 
 
छलफलमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले धितोपत्र बोर्डले बजार घट्दा वा बढ्दा आफ्नो धारणा सार्वजनिक नगर्ने बताए। 'बिगतमा बोर्डले बजार घटबड हुँदा प्रेस विज्ञप्ती प्रकाशन गर्ने गरेको थियो, त्यसलाई बजारलाई प्रभावित पार्न खोजेको अर्थमा लिइयो,' उनले भने, 'प्रेस विज्ञप्ति निकाल्दा प्रभावकारी र ननिकाल्दा अप्रभावकारी भूमिका भन्न मिल्दैन।'
 
यस्तै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नयाँ आर्थिक वर्षबाट मात्रै नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको सुरुवात गर्ने जानकारी दिए। 

Tata
GBIME
Nepal Life

पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले बजारको सुधारका लागि सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।