असारभित्र सबै स्थानीय तहमा बैंक शाखा, तत्काल १५ सय नयाँ कर्मचारी चाहिने

बिजमाण्डू
२०७४ चैत्र ८ गते ०८:०३ | Mar 22, 2018
काठमाडौँ। असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्ने भएको छ। नेपाल राष्ट्र बैङ्कले बैंकरहरुलाई ठाउँको नाम तोकेरै आर्थिक वर्षको अन्तिमसम्म शाखा बिस्तार गरिसक्न भनेको छ। 
 
सबै स्थानीय तहमा बैङ्कको शाखा पुर्‍याउने सरकारी अभियान अनुसार राष्ट्र बैङ्कले असार मसान्तभित्र काम सक्ने गरी निर्देशन दिएको हो। देशभर ७५३ वटा स्थानीय तह छन्। यसमध्ये ४५७ वटा स्थानीय तहमा बैङ्कको शाखा खोल्नु पर्ने थियो। ४५७ मध्ये ९८ वटा स्थानीय तहमा शाखा खुलिसकेका छन्। 
 
३५९ वटा स्थानीय तहमा शाखा खोल्नु पर्नेमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धा अनुसार काम गरिरहेका थिए। बाँकी ११६ स्थानमा शाखा खोल्न बैंकहरु तयार थिएनन्। राष्ट्र बैङ्कले ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए। बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार नभएपछि राष्ट्र बैङ्कले ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएको हो।
 
'असार मसान्तसम्म सबै ठाउँमा बैङ्कको शाखा पुगिसक्ने छ। अब बैङ्किङ पहुँच नभएको ठाउँ रहने छैन' बैंकर्स सङ्घका एक अधिकारीले भने, 'वैशाख/जेठभित्रै करिब २०० स्थानीय तहमा शाखा खुलिसक्ने छन्। बाँकी शाखा पनि असार मसान्तभित्र खुल्ने छन्।'
 
राष्ट्र बैङ्कका अनुसार, खोटाङका तीन, ओखलढुङ्गाको एक, संख्वासभाको तीन, सोलुखुम्बुको दुई, ताप्लेजुङको तीन, उदयपुरको एक, पर्साको एक, रौतहटको एक, सप्तरीको एक, सर्लाहीको एक, धादिङको दुई, काभ्रेको एक, मकवानपुरको एक र सिन्धुलीको एक स्थानीय तहमा बैङ्क पुगेका छैनन्।
 
साथै सिन्धुपाल्चोकको एक, मनाङको एक, गुल्मीको एक, रोल्पाको चार, रुकुमको दुई, दैलेखको दुई, डोल्पाको चार, हुम्लाको तीन, जाजरकोटको तीन, जुम्लाको एक, कालिकोटको ६, मुगुकोको दुई, सल्यानको एक, अछामको दुई, वैतडीको दुई, बझाङको ८, बाजुराको ६, डडेल्धुराको एक, दार्चुलाको दुई, डोटी र कैलीको एक/एक स्थानीय तहमा बैङ्क पुगेका छैनन्। 
 
राष्ट्र बैङ्कको निर्देशन सुरुमा अटेर गर्नेहरुले यसपालि भने थप जटिल ठाउँहरूमा पुग्नु पर्ने भएको छ। शाखा खोल्नका लागि स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई भने लगाइएको छैन। बाँकी २७ वटा वाणिज्य बैंकहरुलाई मात्र निर्देशन दिइएको छ। 
 
७६ वटामा सबैभन्दा बढी शाखा खोल्ने जिम्मा नबिलले पाएको छ। बैङ्कले सात वटा स्थानीय तहमा शाखा खोल्नु पर्ने छ। यसअघि उसले पाँच वटा शाखाको प्रतिबद्धता जनाएको थियो। एभरेष्ट बैङ्कले पनि सात वटा थप शाखा खोल्नु पर्ने भएको छ। बैकले यसअघि चार वटा शाखा खोल्ने प्रतिशतबद्धता जनाएको थियो।
 
बैङ्क अफ काठमाण्डू, कृषि विकास, हिमालयन, जनता, नेपाल बैङ्क, नेपाल एसबिआइ बैङ्कले पनि थप ६/६ वटाका दरले शाखा खोल्नु पर्ने भएको छ। 
 
'असार मसान्तभित्र ३५९ वटा स्थानीय तहमा शाखा खोलिसक्नु पर्ने भएकाले ठुलो सङ्ख्यामा कर्मचारी नियुक्तिको प्रक्रिया थाल्नु पर्ने छ' एक बैंकरले भने, 'त्यसका लागि चैँ समय अभाव हुन सक्छ।' एउटा शाखाका लागि बैङ्किङ कारोबारमा मात्र कम्तीमा तीनदेखि चार जना कर्मचारी आवश्यक पर्छ। यसबाहेक एक जना म्यासेन्जर र दुई जना सुरक्षा गार्ड पनि चाहिन्छ। त्यसो हुँदा सात जना कर्मचारी आवश्यक पर्छ।


 
बैंकरका अनुसार ३५९ वटा स्थानीय तहमा जानका लागि बैङ्किङ कारोबारमा करिब साढे १४ सय कर्मचारी चाहिन्छ। यसको आधा सङ्ख्या सुरक्षा गार्ड चाहिन्छ। 'बैङ्किङ कारोबारमा केही वर्ष अनुभव भएको मान्छे खटाउनु पर्ने भएकाले कर्मचारी अभाव हुन सक्छ' उनले भने।
 
चार जना कर्मचारीमध्ये पनि एक जना जुनियर अफिसर स्तरको चाहिन्छ। एक जना सुपरभाइजर र बाँकी दुई जना सामान्य खाले कर्मचारी भए पनि पुग्छ। ऋणलगायत अन्य काम गर्ने भए थप कर्मचारी आवश्यक पर्छ।
 
ती ठाउँमा शाखा खोल्नका लागि सरकारले बाटो, बिजुली, इन्टरनेट र सुरक्षाको व्यवस्था मिलाउँछ। राष्ट्र बैङ्कले एक वर्षका लागि निर्ब्याटजी ऋण बैंकहरुलाई उपलब्ध गराउँछ। स्थानीय तहको वाणिज्य बैंकहरुमा रहेको खातामा सरकारले अनुदान बजेट राखिदिने भएकाले सबै तहमा शाखा खोल्न अनिवार्य गरिएको हो।
 
 

Tata
GBIME
Nepal Life