जलविद्युत आयोजनाको हकप्रद शेयर खोल्न उर्जा उत्पादकहरुको माग, ‘लगानी रोक्ने काम भयो’

बिजमाण्डू
२०७४ चैत्र ९ गते १३:३१ | Mar 23, 2018
जलविद्युत आयोजनाको हकप्रद शेयर खोल्न उर्जा उत्पादकहरुको माग, ‘लगानी रोक्ने काम भयो’
काठमाडौं। उर्जा उत्पादकहरुले जलविद्युत कम्पनीहरुलाई हकप्रद शेयर जारि गर्न स्वीकृति दिनु पर्ने माग गरेका छन्। संघीय उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनसँग हकप्रद शेयर जारि गर्न नदिँदा नयाँ आयोजनाहरु सुरु गर्न समस्या भएको गुनासो गरेका हुन्।


 
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको 'समृद्धिका लागि जलस्रोत' बिषयक कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संघका पूर्वअध्यक्ष खड्गवहादुर विष्टले संस्थापक शेयरधनी थप्ने प्रावधानमा गरिएको कडाइले पनि लगानी बिस्तारमा समस्या भएको बताए।
 
'हकप्रद शेयर जारि गर्न नदिने धितोपत्र बोर्डको ब्यवस्थाले अर्को आयोजना सुरु गर्नका लागि चाहिने पैसा जोहो गर्न समस्या भएको छ' उनले भने, 'संस्थापक शेयरधनी थप्न कम्पनी रजिष्ट्रारको कार्यालयले रोकेका कारण लगानी प्रभावित हुन थालेको छ।'
 
घरघरमा बिजुली जनजनमा शेयर भन्ने सरकारी नीति नियामकीय निकायहरुको कडाइका कारण असफल हुनेतर्फ सचेत गराउँदै उनले तत्काल यस्तो नितिलाई फिर्ता लिनु पर्ने बताए। 'लगानी रोक्ने ब्यवस्थाले जनजनमा शेयर पुग्दैन' उनले भने, 'सरकारको नीति असफल हुनसक्छ।'
 
कार्यक्रममा संघका अध्यक्ष शैलेन्द्र गुरगाइँले उर्जा क्षेत्रमा सरकारले नयाँ नयाँ घोषणा गर्न छाडेर पुरानै योजना अनुसार काम गर्नु पर्ने सुझाव दिए। 'हामीसँग जत्ति पनि योजना र घोषणाहरु छन्' उनले भने, 'त्यसलाई कार्यान्वयनमा मात्र जोड दिँदा हाम्रो लक्ष्य प्राप्त हुन्छ।'
 
उनले ६ महिनामा बन्ने प्रशारण लाइनका लागि बर्षौ लाग्ने गरेको बताउँदै त्यसतर्फ पनि ध्यान पुर्याउन आग्रह गरे। 'प्रशारण लाइनको सबै सामान रेडिमेड हुन्छन्। ती सामानलाई यहाँ पोल गाडेर जोड्ने मात्र हो' उनले भने, 'यति कामका लागि दुनिया अध्ययन भनेर बर्षौ लाग्ने गरेको छ। मन्त्रालयले यसलाई छोट्याउनु पर्छ।'

Tata
GBIME
Nepal Life