पुँजी बृद्धिले उचालिएको नेप्से सूचक पछाडि फर्कदै, शेयर बजार २६ महिना अघिकै अवस्थामा पुग्यो

बिजमाण्डू
२०७४ चैत्र ९ गते १४:३८ | Mar 23, 2018

काठमाडौं। नेप्से सूचक ओरालो लाग्ने क्रममा बिहीबारको नेप्से सूचक २ वर्ष दुर्इ महिना पछाडि धकेलिएको छ। बिहीबार कायम भएको १२२०.४४ अंकको सूचक २०७२ माघ १७ गते कायम भएको १२२०.७ अंक भन्दा तल झरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्देशनसँगै एकाएक उचालिएको शेयर बजार पहिलाकै अवस्थामा फर्किने क्रम रोकिएको छैन।

नेपाल राष्ट्र बैंकले २०७२ साउन ४ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड र फाइनान्सको ८० करोड रुपैयाँ पुँजी बृद्धि गर्न निर्देशन जारी गरिएको थियो। त्यसदिन नेप्से सुचक १०४०.३६ अंकमा थियो।

राष्ट्र बैंकको यस मौद्रिक नीति अनुरुप २०७२ भदौ मसान्तसम्ममा पुँजी बृद्धि योजना पेश गर्न निर्देशन गरेको थियो। नीति अनुरुप अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रद र बोनस शेयरको बाटो रोजेका थिए।

हकप्रद तथा बोनस शेयरको प्रलोभनमा अधिकांश बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार ह्वात्तै बढ्यो जसले गर्दा शेयर बजार २०७३ साउन १२ गतेसम्ममा १८८१.४५ अंकसम्म पुग्यो।

यो नेप्सेकै अहिलेसम्मकै उच्च सूचक हो। यसैलार्इ थप सपोर्ट बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाउन २०७३ असार मसान्त सम्ममा पुँजी बृद्धि योजना माग गर्यो। जसले बीमा कम्पनीको शेयर पनि थप उचालियो। 

तर त्यस पछिका बजारमा केहि उतारचढाव देखिए पनि २०७३ चैत्र १९ गते १७०९ विन्दुमा रहको नेप्से सूचक त्यस यता लगातार घटिरहेको छ।

यसै नीति अनुरुप १५८ वटा बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने प्रकृयामा सामेल भए जसले गर्दा ११८ वटा बैंक तथा वित्तीय संस्था खारेज भर्इ ४० वटामा सिमित भएका थिए। तर ८ अर्ब पुँजी पुर्याउनुपर्ने बाणिज्य बैंक भने मर्जरको बाटो भन्दा पनि हकप्रद तथा अन्य साना विकास बैंक तथा फाइनान्सलार्इ गाभेर पुँजी बढाउन अग्रसर भए जसले गर्दा संख्यात्मक रुपमा संस्था घटेपनि पुँजीको हिसाबले भने धेरै नै बढ्यो। यसैबीचमा बैंक तथा वित्तीय संस्थाले ६७ अर्ब रुपैयाँ भन्दा धेरैको हकप्रद मार्फत पुँजी आह्वान गरे। यसले बजारमा शेयरको सप्लाइ मात्रै ह्वात्तै बढ्यो।

अझै पनि कतिपय बैंक तथा वित्तीय संस्थाले पुँजी जुटाएका छैनन्। जसले गर्दा भोलिका दिनमा शेयर सप्लाइ बढ्नेछ। गत आर्थिक वर्षको नाफाबाट बोनस घोषणा गरेका बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीको शेयर नेप्सेमा सूचिकृत हुनै बाँकी छ। यसले भोलिका दिनमा थप सप्लाइ सिर्जना गर्नेछ।

नियमनकारी निकायले पुँजी बढाउने काम गर्दैगर्दा दुर्इ बर्षभित्रमा केही कमाएका लगानीकर्ताले पनि अहिलेको अवस्थामा धेरै गुमाएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्विका पौडलले बताए। यसैबीचमा शेयर बजार धेरै नै न्युन विन्दुमा आयो।

लगानीको ब्याज मात्रै जोड्दा पनि लगानीकर्ताको लगानी नउठेको उनले बताए। शेयर बजारमा बिना योजना धेरै नै आपूर्ति भएकाले यसलार्इ उपभोग गर्न सक्ने गरी संरचना तयार नभएको पौडेलको भनाई छ।

उनी भन्छन्- ‘पुँजी बजारलार्इ अर्थतन्त्रको ऐनाको रुपमा हेरिन्छ। हाम्रो सन्दर्भमा दुर्इ वर्ष अगाडिकै सूचकलार्इ आधार मान्ने हो भने पनि त्यसमा २० प्रतिशत घाटा छ। अझ उच्च विन्दुबाट तल झरेको बेलाका लगानीकर्तालार्इ हेर्ने हो भने अझ धेरै घाटा छ। सरकारले सोच्नुपर्ने थियो तर सोचिएन।’

यस्तो बेला सरकार र सरोकारवाला निकायले बढी गम्भीर भैदिनुपर्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन्छन्। ‘दुर्इ चारजना व्यावसायिक तथा ठूला घरानालार्इ मात्र असर गर्ने विषय होइन। सामान्य तरकारी पसल गरेकाले पनि शेयरमा लगानी गरेका छन्’- उनले भने।