मदिरामा नक्कली स्टीकर विरुद्ध राजस्वको देशैभरि ‘मेजर अपरेशन’, झापाका दुर्इ उद्योगमा सिलबन्दी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ चैत्र ९ गते १५:४२ | Mar 23, 2018

विराटनगर। झापाका दुई मदिरा उद्योगले मदिरामा नक्कली स्टीकर टाँसेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले दुबै उद्योगमा सिलबन्दी गरेको छ ।

Tata
GBIME
Nepal Life

डा युवराज खतिवडा अर्थमन्त्री भएर आएपछि नक्कली स्टीकरमा मेजर अपरेशन सुरु भएको हो।यसअघि नक्कली स्टीकर लगाउने मदिरा भेटिएपनि कुनै कारवाही हुँदैन्थ्यो।आन्तरिक राजस्व कार्यालय झापाले शिवशताक्षी नगरपालिकास्थित भोलेबाबा लिकर्स र गौरादह नगरपालिकामा सञ्चालित विनर्स लिकर्सको कार्यालय, गोदाम, कारखाना लगायतका महत्त्वपूर्ण ठाउँमा सिलबन्दी गरेको हो ।

दुबै उद्योगबाट ५० र ७० युपीका सस्ता प्रकारका मदिराको उत्पादन र बेखबिखन गरिँदै आएको छ ।आन्तरिक राजस्वले भोलेबाबाको कारखाना र गोदाममा गत चैत ३  गते र विनर्स लिकर्समा गत चैत ५ गते छापा मारेर सिलबन्दी गरेको हो ।आन्तरिक राजस्वको दमक शाखाका अधिकृत तिलक थापाका अनुसार सदरमुकाम चन्द्रगढीस्थित कार्यालयबाट आएको टोलीले सिलबन्दी र मुचुल्का गरेको हो ।

दुबै उद्योगबाट उत्पादित मदिरामा टाँसिएका अन्तःशुल्कका स्टिकर नक्कली भएको आशङ्का गरिएको छ । शङ्काको घेरामा परेका त्यस्ता स्टीकरहरु डिस्ट्रिब्युटर र होलसेलरबाट तथा उद्योगका गोदामबाट पनि निकालिएका छन् ।दुबै उद्योगका स्टीकरसहितका मदिराका बोतल विभागमा परीक्षणका लागि पठाइएको छ ।

आन्तरिक राजस्व विभागका निर्देशक नारायण भण्डारीले झापाबाट दुई मदिरा उद्योगका उत्पादनमा टाँसिएका अन्तःशुल्कका स्टीकर परीक्षणका लागि आइपुगेको पुष्टि गरे ।‘दुबै उद्योगबाट स्टिकर आइपुगेका छन्’, निर्देशक भण्डारीले भने, ‘तर ती नक्कली हुन् वा सक्कली भत्रे परीक्षण भइसकेको छैन । विभागले छिटै विशेषज्ञ बोलाएर परीक्षण गर्न लगाउँदैछ ।’

विभागले मुलुकका विभित्र मुख्य १० ठाउँबाट त्यहाँ उत्पादित मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि मगाएको भण्डारीले जानकारी दिए ।‘उद्योगबाट मात्र होइन’, उनले भने, ‘डिस्ट्रिब्युटर, होलसेलर र खुद्रा पसलेबाट पनि सङ्कलन गरिएको छ । नक्कली स्टिकरका विषयमा विभाग गम्भीर छ र यस विषयमा कडा कारबाही गर्ने नीति अख्तियार गरिएको छ ।’

झापाका साथ सुनसरीको धरान, सिराहाको लाहान र काठमाडौंका दुई स्थान, तथा तराईका केही जिल्लाबाट मदिरामा टाँसिएका स्टिकर अध्ययन र परीक्षणका लागि झिकाइएको उनले स्पष्ट पारे ।निर्देशक भण्डारीले नक्कली स्टीकर रोक्न विभाग देशैभरि सक्रिय रहेको बताए।