इटहरीमा खानेपानीको महशुल भूक्तानी अनलाइनबाट, इसेवामार्फत यसरी भूक्तानी गर्न मिल्ने

बिजमाण्डू
२०७४ चैत्र १० गते १७:०७ | Mar 24, 2018
काठमाडौं।सुनसरीको इटहरीका उपभोक्ताले इसेवामार्फत् महशुल भुक्तानी गर्न सक्ने भएका छन्। 
 
इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो । इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने, ‘हाम्रो संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो, अब इसेवामार्फत् भुक्तानी गर्न सकिने भएपछि उपभोक्तालाई निकै सहज भएको छ ।’संस्थाका आइटी अफिसर राजु दंगालका अनुसार अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरिएको छ।
 
यसअघि भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी,कास्कीकोे लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानी, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी  संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् ।
 
समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ।उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिनेभएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ । 
 
सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर ३० हजार बढी जोन प्वाइन्ट छन् ।  इसेवामार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स र बस टिकट, फिल्मका टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिन्छ ।  
 
 

Tata
GBIME
Nepal Life