मंसिरमा सबै तहको निर्वाचन सकिएपछि विदेशी लगानी बढ्न थाल्यो, हरेक महिना विदेशी लगानी दोब्बर

बिजमाण्डू
२०७४ चैत्र १० गते १७:३८ | Mar 24, 2018
मंसिरमा सबै तहको निर्वाचन सकिएपछि विदेशी लगानी बढ्न थाल्यो, हरेक महिना विदेशी लगानी दोब्बर
काठमाडौं। मंसिरमा सबै तहका निर्वाचन सकिएपछि विदेशी लगानी लगातार उकालो लागेको छ।संघ र केन्द्रको निर्वाचनपछि स्थायी सरकार बन्ने स्पस्ट संकेत देखिएपछि विदेशी लगानी बढ्न थालेको हो।

Tata
GBIME
Nepal Life

विदेशी लगानीकर्तामा आत्मविश्वासकै कारण लगानी गर्न हौसिएका हुन्।उद्योग विभागका अनुसार पुसमा १ अर्ब ११ करोड रुपैयाँको विदेशी लगानी आएको थियो।माघ र फागुनमा २ अर्ब ६२ करोड र ४ अर्ब ५४ करोड रुपैयाँ बराबरका विदेशी लगानीका उद्योग दर्ता भएका छन्।विदेशी लगानीका उद्योगमा चिनियाँ कम्पनीको वर्चस्व छ।

पुसमा चीनबाट ४५ करोड रुपैयाँको विदेशी लगानी प्रतिवद्धता भएको थियो। पुसमै भारतबाट भने एक करोड ५० लाख रुपैयाँको मात्र विदेशी लगानीको प्रतिवद्धता भएको थियो। अन्य देशबाट भने ४२ करोड रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको थियो।माघमा चीनबाट एक अर्ब ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको थियो। भारतबाट माघमा ४७ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ।अन्य देशबाट पुसको ४२ करोड रुपैयाँको लगानी प्रतिवद्धता घटेर माघमा ८ करोड ३० लाख रुपैयाँमा झरेको थियो।
 

फागुनमा भने चीनबाट चार अर्ब २८ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ। जुन माघको एक अर्ब ६० करोड रुपैयाँभन्दा करिब तेब्बर बढी हो।
भारतबाट भने माघमा आएको ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता घटेर फागुनमा पाँच करोड ३० लाख रुपैयाँमा झरेको छ।अन्य देशबाट माघमा आएको ८ करोड रुपैयाँको प्रतिवद्धता बढेर फागुनमा १८ करोड ८० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ।
 
अन्य देशहरुमा अमेरिका, बेलायत, अष्ट्रिया, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, जापान, कोरिया, मलेसिया, बंगलादेश, सिरिया लगायतका देशबाट विदेशी लगानीको प्रतिवद्धता आएको छ।
 
नेपाली लगानीका उद्योग पनि बढे
यो समयमा नेपाली लगानीकर्ताबाट पनि विगत भन्दा राम्रो लगानीको प्रतिवद्धता भएको छ।
 
जलविद्युतमा आएको लगानी प्रतिवद्धता बाहेक पुसमा स्वदेशी र विदेशी गरि ६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो। माघमा यो लगानी बढेर ७ अर्ब रुपैयाँ पुगेको छ।फागुनमा स्वदेशी तथा विदेशी दुवै गरि १३ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिवद्धता भएको छ। जुन माघको भन्दा झन्डै दोब्बर बढी प्रतिवद्धता हो।
 
जलविद्युत क्षेत्रको समेत लगानी जोड्दा पुसमा १६ अर्ब र फागुनमा ६१ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भएको थियो।
 
उत्पादनमुलक उद्योगमा लगानी बढ्यो
फागुनमा आएको १३ अर्ब रुपैयाँको लगानी प्रतिवद्धतामा सिमेन्ट उद्योग, औषधी उद्योग, तामाखानी र  विद्युतीय गाडीका उद्योगमा धेरै लगानी प्रतिवद्धता आएको छ।
 
तीन वटा सिमेन्ट उद्योगमा तीन अर्ब ५० करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता भएको छ।काठमाडौंमा अत्याधुनिक कार सर्भिस सेन्टरको लागि एक अर्ब ५० करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता भएको छ।
 
सोलुखुम्बुमा तामाखानीमा दुई अर्ब रुपैयाँ चिनियाँ लगानी आएको छ। मकवानपुरमा पनि आयुर्वेदिक औषधी उद्योगमा दुई अर्ब रुपैयाँनै चिनियाँ लगानी प्रतिवद्धता आएको छ।