राजस्व विभागको नक्कली स्टीकर विरुद्ध ‘मेजर अपरेशन’, १५ दिनमा आधा दर्जन उद्योग शिलबन्दी

बिजमाण्डू
२०७४ चैत्र १३ गते १३:०९ | Mar 27, 2018
वीरगंज। आन्तरिक राजस्व विभागले १५ दिनमा अन्तशुल्कको नक्कली स्टीकर लगाउने आधा दर्जन उद्योगमा शिलबन्दी गरेको छ। विभागको टोलीले नक्कली स्टीकर लगाएको आरोपमा धनुषाको सांग्रिला डिष्टीलरी, नारायण डिष्टीलरी, सर्लाहीको अभिनव डिष्टीलरी, झापाको भोलेबाबा लिकर्स र विनर्स लिकर्समा शिलबन्दी गरेको हो। 


 
आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कृष्ण मैनालीले मुलुकभरी नै नक्कली स्टीकरको सञ्जाल देखिएकाले छानविन टोली गठन गरी अनुसन्धान तीब्र पारिएको बताए। उनका अनुसार उद्योगका विक्रेता र पसलमा समेत विभागले छापा मारेर शिलबन्दी गरिरहेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मदिरामा भइरहेको राजस्व चुहावट रोक्न निर्देशन दिएपछि विभागले मदिरा उद्योगमा मेजर अपरेशन सुरु गरेको हो। विभागले छापा मार्न थालेपछि उद्योगका संचालक र बिक्रेता फरार भएका छन्।
 
राजधानीका केही उद्योगसँगै पूर्व–पश्चिम तराईका जिल्लाहरुमा नक्कली स्टीकर टाँसेका उद्योगको सूचना आएको  मैनालीले बताए। ‘यसमा दर्जनौ उद्योगको संलग्नताको अशंका छ, दोषी भेटिए ऐन बमोजिम कारवाही हुन्छ,’ उनले बिजमाण्डूसँग भने।
 
उद्योगहरुको मदिरामा नक्कली स्टीकर फेला परेको अधारमा केही उद्योगको गोप्य अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए। नक्कली स्टीकरमा धरान, सिरहाको लहान, राजधानीका केही उद्योग तथा बारा–पर्सा कोरिडोरका समेत उद्योगहरुको संलग्न रहेको जानकारी आएको मैनालीले बताए।
 
राजस्वको छानविन टोली द्वारा वीरगंजमा छापा
अन्तशुल्कको नक्कली होलोग्रामसहितको स्टीकरको सम्बन्धमा आन्तरिक राजस्व विभागको छानविन टोली वीरगंज आएको छ। तीन दिनअघि आएको टोलीले विभिन्न उद्योगमा अनुसन्धान तीब्र पारेको छ। टोलीले वीरगंज बाइपासस्थित ज्योति डिष्टीलरीको बिक्रेता अनिल मिश्राको गोदाममा र सांग्रिलाको बिक्रेता वीरगंज स्थित न्यू मनोकामना स्टोर्सका सञ्चालक अमृत भुसालको गोदाममा छापा मारेर नमूना काठमाडौं पठाएको छ। 

 सस्तो मदिरा सोफी उत्पादन गर्ने पर्सा रामगढावाको उदयपुर डिष्टिलरीमा पनि छापा हानेको बताइएको छ।उदयपुर डिष्टिलरी वीरगंजका सञ्चालक श्रीराम हलका सञ्चालक रामदेव कलवारको हुन्। अनुगमन टोलीको छानविनबाट मदिरा व्यवसायीमा खैलाबैला मच्चिएको छ। यही विषयमा मंगलवार वीरगंज उद्योग वाणिज्य संघमा बैठक राखिएको छ।
 
कसरी सतहमा आयो नक्कली स्टीकर 
६ महिनाअघि कोलकत्ताबाट एउटा कम्पनीले रक्सौलको हिमालय ट्रान्सपोर्टमार्फत ठूलो परिमाणमा होलोग्रामसहितको नक्कली स्टीकर नेपाली आयातकर्ता कम्पनी हरिओम ट्रेडिङलाई पठाउँदा गर्दा वीरगंज भन्सारमा जाँचपासको क्रममा पक्राउ पर्यो। भदौ १९ गते ९ हजार ८७ थान (५०किलो) नक्कली स्टीकर बरामद भयो। साथमा हिमालय ट्रान्सपपोर्टका सञ्चालक एवं ३ जना नेपाली र एक जना भारतीय पक्राउ परे। 
 
उनीहरुको बयानको अधारमा करिब साढे ३ करोडको राजस्व छल्न भारतबाट ती नक्कली स्टीकर आयात गरिएको अनुसन्धानले देखायो। यसमा संलग्न दुई जना रिहा भइसकेका छन् भने दुई जना विगो र जरिवानासहित ७/७ करोड रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका छन्।
 
गत चैत ८ गते भैरहवा भन्सारमा यस्तै ठूलो परिमाणमा नक्कली स्टीकर नेपाल भित्र्याउँदा भारतीय गाडीसहित ४ जना पक्राउ परे। सांग्रिला डिष्टीलरीका व्यवस्थापक भवानी सुवेदी र कामेश्वर महतो, भैरहवावासी विनोद सिंह एवं भारतीय नागरिक मोहम्द गद्दि मुसलमान पक्राउ परे। यूपी ४३ एइ १६८२ नं को भारतीय गाडीबाट उनीहरु नक्कली स्टीकर भन्सार जाँचपास गराउँदा भैरहवा प्रहरीबाट उनीहरु पक्राउ परेका थिए। 
 
नक्कली स्टीकरमा कसको संलग्नता?
नक्कली अन्तशुल्कको स्टीकर भारतीय कम्पनीबाट आयात गरिएको छ। नेपालमा आन्तरिक राजस्व विभागले थालेको छानविनबाट भारतको कोलकत्ताको केही कम्पनी यस्तो धन्दामा सक्रिय रहेको पाइएको छ। नेपालमा कम लगानी गरी मदिरा उद्योग सञ्चालन गरेका उद्योग यसमा संलग्न रहेको पाइएको छ। उच्चस्तरको मदिरासँग प्रतिस्पर्धा गर्न नसकेर नक्कली स्टीकरको प्रयोग गर्न थालेको पाइएको छ। 

Tata
GBIME
Nepal Life