२ अंकले घटेको बजारमा कारोबार रकम भने बढ्यो, लगानीकर्ताकै मनोबल नबढ्दा बृद्धि टिकेन

बिजमाण्डू
२०७४ चैत्र १४ गते १५:४२ | Mar 28, 2018

काठमाडौँ। मंगलबार दोहोरो अंकले बढेको शेयर बजार बुधबार पुन घटेको छ। बुधवार शेयर बजारको कारोबार मापन गर्ने सूचक २.९० अङ्कले घटेर १२०४.८१ अंकले ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो दिन बजार ३९.१६ अंकले बढेको थियो। बुधवार क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२६ अङ्कले घटेर २५७.४८ अङ्कमा ओर्लिएको छ।

बजारमा लगानीकर्ताबीच दुईथरीको मनोविज्ञान हावी हुँदा बजारमा तीव्र उतारचढाव देखिएको इन्भेस्टर फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले जानकारी दिए। ‘सरकारले श्वेतपत्रमा बजारबारे सम्बोधन गर्ने र त्यसपछि बजार बढ्ने अनुमान एक थरी लगानीकर्ताले लगाएका छन्। अर्काथरी लगानीकर्ता भने ब्याज दर र शेयरको आपूर्ति यथावत रहेको अवस्थामा श्वेतपत्रकै आधारमा बजार नबढ्ने आँकलन गरिरहेका छन्’- घिमिरेले भने।

बजार बढ्छ भन्ने लगानीकर्ताको बाहुल्य हुँदा बजार बढ्ने र घट्छ भन्ने लगानीकर्ताको मनोविज्ञान हाबी हुँदा बजार घट्ने गरेका कारण बजारमा तीव्र उतारचढाब देखिएको घिमिरेको भनाई छ।


वास्तविकतामा बजारमा ब्याजदर घट्ने र शेयरको आपूर्ति कम नभएसम्म बजार बढ्ने आधार नहुने उनको तर्क छ। यसैलाई सम्बोधन हुने किसिमका गतिविधि सरकारले गर्नुपर्ने उनको बताए।

बुधवार १६२ कम्पनीका १३ लाख ५२ हजार कित्ता शेयर ५१ करोड ४१ लाख रुपैयाँमा कारोबार भयो। मंगलबार ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको थियो। बुधवार सबैभन्दा बढी युनिलिभर कम्पनीको दुई करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ।

उपसूचक मिस्रित देखिएका छन्। १० समूहको कारोबारमा ६ समूह घटेका छन् भने चार समूह बढेका छन्। बैंक २.९३, विकास बैंक १.१६, उत्पादन मूलक १४.७२ र अन्य २.८७ अङ्कले घटेका छन्। ट्रेडिङ ४.५६, होटल १८.९५, जलाबिद्युत २१.१५, फाइनान्स ५.८२, बीमा ९१.४१, लघुवित्त २९.०९ अङ्कले घटेका छन्।

बुधवार सबैभन्दा बढी राधि विद्युत् कम्पनीका शेयरधनीले १० प्रतिशत कमाए। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.४२ प्रतिशत गुमाए।