राजश्व प्रशासन सुधार गर्न अर्थमन्त्रीले दुई निकायका प्रमुख परिवर्तन गरे, राय र शर्मा ल्याइयो

बिजमाण्डू
२०७४ चैत्र २३ गते १५:२३ | Apr 6, 2018
काठमाडौं। राजश्व प्रशासन सुधार योजनामा आक्रामक देखिएका अर्थमन्त्री डा. युवराज खतिवडाले आँफूअन्तर्गतका दुई निकायको प्रमुख हेरफेर गरेका छन्। राजश्व चुहावट तथा भन्सार कार्यालयलाई चुस्त र पारदर्शी बनाउन डा. खतिवडाले दुई सहसचिवलाई शक्तिशाली विभागको प्रमुख बनाएका हुन्।


 
अर्थमन्त्रीले भन्सार विभाग र ठूला कर दाता प्रमुख परिवर्तन गरेका हुन्। भन्सार विभागको महानिर्देशकमा सहसचिव तोयम राय ल्याएका छन् भने ठूला करदाता कार्यालयको नेतृत्व धनिराम शर्मालाई जिम्मा दिएका छन्। 
 
रायले सहसचिव हुने बित्तिकै पनि भन्सार विभाग र आन्तरिक राजस्व विभागमा रहेका काम गरिसकेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट केही दिनअघि उनको अर्थ मन्त्रालयमा सरुवा भएको थियो। राय भक्तपुर, रुपन्देही र मोरङको प्रमुख जिल्ला अधिकारी पनि भइसकेका छन्। भन्सारका निवर्तमान महानिर्देशक जगदीश रेग्मीको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।
 
अर्थमन्त्री खतिवडाले नियुक्त हुने बित्तिकै भन्सार विन्दूमा कडाईको निर्देशन दिएका थिए। उनले मदिरामा नक्कली स्टिकर प्रयोग गरेर राजश्व छल्नेबीरुद्ध पनि कार्वाही थाल्न निर्देशन दिएका थिए। भन्सारमा हुने न्यून बिजकीकरण र गलत मूल्यांकन पेश गरेर सामान आयात गर्ने परिपाटी अन्त्य गर्न उनले निर्देशन दिएका थिए। त्यसैको निरन्तरताका लागि उनले प्रशासनिक नेतृत्व परिवर्तन गराएका हुन्।
 
ठुला करदाता कार्यालयको प्रमुखमा ल्याइएका शर्मा तीन वर्षअघि सहसचिव भएका हुन्। उनी राजस्वकै 'क्याडर' हुन्। काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत रहेका उनको केही दिनअघि अर्थ मन्त्रालयमा सरुवा भएको थियो। उनले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको रुपमा पनि काम गरिसकेका छन्।
 
ठूला कर असुली गर्नुपर्ने यो कार्यालय पछिल्लो समय कमजोर बन्दै गएको छ। एनसेलको कर विवाददेखि अन्य ठुला व्यवसायिक फर्मबाट कर असुली गर्दा 'स्ट्याण्ड' राख्न नसकेको भन्दै कार्यालयको भूमिकाको आलोचना हुने गरेको छ। अध्यागमन विभागबाट ठुला करदाता कार्यालय पुगेका गंगाराम गेलालको भने सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। 
 
अब आइआरडीमा को ?
राजस्वमा सबैभन्दा ठूलो योगदान दिने निकाय आन्तरिक राजस्व विभागको नेतृत्व परिवर्तनको तयारी भइरहेको छ। तत्कालिन प्रमुख चुडामणि शर्मामाथि भ्रष्टाचारको आरोप लागेपछि किशोरजंग कार्कीलाई विभाग लगिएको थियो। 
 
अर्थ मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा विष्णुप्रसाद नेपाल र रामशरण पुडासैनीमध्ये एकजनालाई पठाउने तयारी भइरहेको छ। नेपाल यसअघि अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख थिए। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा राजस्व व्यवस्थापन महाशाखाको प्रमुख भएका नेपाल अहिले महालेखा नियन्त्रकको कार्यालयमा छन्।
 
पुडासैनी अर्थ मन्त्रालयकै सहसचिव हुन्। उनी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रुपमा कार्यरत छन्। अर्थ मन्त्रालयभित्र उनी अर्थमन्त्री खतिवडाका निकटस्थ मानिन्छन्। खतिवडाले केही दिनअघि सार्वजनिक गरेको स्वेतपत्र लेखनको भित्री समूहमा बसेर उनले काम गरेका थिए। 

Tata
GBIME
Nepal Life