दुई कम्प्युटर इन्जिनियर जसले सूचनाप्रविधिलाई किचेनसम्म पुर्याए, यसरी सुरु भयो ‘फाइन्ड यु फुड’

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ चैत्र २३ गते १८:०४ | Apr 6, 2018
दुई कम्प्युटर इन्जिनियर जसले सूचनाप्रविधिलाई किचेनसम्म पुर्याए, यसरी सुरु भयो ‘फाइन्ड यु फुड’


काठमाडौं। शहरको व्यस्त जीवनका कारण खाजा खान दैनिक रेष्टुरेन्ट जान असम्भव छ। समय अभावले रेष्टुरेन्टका परिकार घरमै बनाएर खान पनि नभ्याउने अवस्था पनि हुन्छ।

Tata
GBIME
Nepal Life

अनि सपरिवार बाहिर खाना खाने योजनाहरु पनि ब्यस्तताकै कारण पर सरिरहेको छ भने त्यसले थप तनाव पनि ल्याउने गर्छ। यस्तो अवस्थामा घरमै बसेर रेष्टुरेण्टको स्वाद लिनका लागि 'फाइन्ड यु फुड' ले तपाईंलाई सहयोग गर्छ। कम्प्युटर इन्जिनियरहरु रञ्जन गौतम र जगदीश गौतमले घरमै खाना पुर्याउनेगरी ‘फाइन्ड यु फुड’ अनलाइन सुरु गरेका छन्।

काठमाडौंमा हाल दुई किसिमका खानाका पारखीहरु छन्। युवा बर्गले गर्ने जमघट र परिवारसहितका अधबैँसेहरुले गर्ने जमघटलाई फरक किसिमले नै डिल गर्नुपर्ने हुन्छ। प्राय 'टिनएजर्स' साथीभाई सँगै रेष्टुरेन्टमा जाने गर्छन् तर व्यस्तताका कारण परिवारलाई लिएर रेष्टुरेन्ट जान नभ्याउनेहरुले पनि घरमै जमघट गर्न सकुन् भन्नका लागि उनीहरुको साइट केन्द्रित छ।

परिवारलाई लक्षित गर्दै खाना डेलिभरीको काम सुरु गर्दा उनीहरुले ६ लाख लगानी गरेको बताए। आफैँले जोगाएको र परिवारले थपिदिएको पैसाले ब्यवसायलाई अघि बढाइरहेको जगदिश र रञ्जन बताउँछन्। 'सुरुवातमा फ्यामिली कस्टमरलाई प्राथमिकता दिँदै आएका थियौँ। महिना नबित्दै कार्यालय, समारोह लगायत विभिन्न क्षेत्रबाट खानाको माग बढ्न थाल्यो।’- रन्जनले भने।

रिङरोडभित्र निःशुल्क फुड डेलिभर गर्दै आएको ‘फाइन्ड यु फुड’ले  रिङरोडबाट नजिकै रहेका ठाउँहरुमा सीमित डेलिभरी चार्ज लिँदै खाना पुर्याउँछ। उपत्यकाभित्र पाँचवटा किचन खोल्ने योजना बनाएका उनीहरुको लक्ष्य हो ‘सातै प्रदेशमा 'फाइन्ड यु फुड'को शाखा खोल्ने।’ 'फाइन्ड यु फुड' ले हाल एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मका ५० वटाभन्दा बढी नेपाली र कन्टिनेन्टल परिकार डेलिभर गर्दै आएको छ।

कम्प्युटर इन्जिनियरिङमा स्नातक पढ्न सुरु गरेदेखि नै यी दुई युवाले आइटीलाई ब्यवसायमा प्रयोग गर्ने सोच बनाइसकेका थिए। खाना र स्वास्थ्य क्षेत्रमा सुचना प्रविधीको प्रयोग कम भएको उनीहरुले पाए। चार महिनाको अध्ययनपछि उनीहरुद्ये निकालेको निष्कर्ष थियो त्यो। थप अध्ययनकालागि काठमाडौंका रेष्टुरेन्टहरु चाहार्न थाले। रेष्टुरेन्टमा प्राय युवा वर्गहरु पुग्ने तर परिवार भएका सर्वसाधारणहरुको पहुँच कम भएको उनीहरुले पाए।

अध्ययनपछि उनीहरुको निष्कर्ष थियो – ‘ब्यस्त र परिवारका लागि घरमै खाना पुर्यागउने ब्यवसायको बजार राम्रो छ।’रञ्जन भन्छन्,'पढाइ सूचना प्रविधीको, जमाना सूचना प्रविधीकै अनि कुरा स्मार्ट सिटीका। सिटी मात्र स्मार्ट भएर मात्र भएन, सेवा पनि स्मार्ट हुनुपर्योप। त्यसैले खानाका पारखीलाई लक्षित गर्दै हामीले ‘फ्रि अनलाइन फुड होम डेलिभरी’को योजना बनायौँ।' कम्पनीले फेसबुक, साइट र फोनमार्फत सेवा दिँदै आएको छ। व्यवसाय प्रवर्द्धनकै लागि सूचना प्रविधीको प्रयोग गर्नुपर्ने रन्जन बताउँछन्। 

अर्का संचालक जगदीश भन्छन्,' पढेपछि जागिर खानुपर्छ भन्ने कन्सेप्ट पुरानो भइसक्यो। हाल कलेज सकिएपछि जागिर खाने सोचबाट प्राय युवाले सन्यासै लिइसके। नयाँ अवधारणा लिएर व्यवसाय गर्ने युवा समूह पनि विस्तारै वृद्धि भइरहेको छ।'यी दुईले छिट्टै नै इ-सेवा र खल्ती एप मार्फत पनि कारोबार गर्ने योजना बनाएका छन्। फाइन्ड यु फुडको मोबाइल एप बनाउने पनि उनीहरुको लिस्टमा छ।

अनलाइन फुड सप्लाइको काम सुरु गरेको चार महिनामै उनीहरुमा आत्मविश्वास भरिएको छ। सेवापछिको प्रतिक्रिया राम्रो आएको र ग्राहकको विश्वास जित्नेमा ढुक्क भएको उनीहरु बताउँछन्। खानेकुरा डेलिभरी गरिसकेपछि उनीहरु फोन, फेसबुक र साइटमा आएको प्रतिक्रिया हेर्न हतारिन्छन्। उनीहरुले ‘सकारात्मक प्रतिक्रिया’ आइरहेको खुशी बाँडे।

घरको हाइजिन र रेष्टुरेन्टको स्वाद दिने उनीहरुको किचेनमा चार जना कुक, दुई जना सेल्स अपरेटर र आठ जना डेलिभरी गर्ने कर्मचारी  छन्। जगदिश भन्छन् –‘पन्ध्र दिनको फरकमा किचनको सबै सामान निकालेर सफा गर्छौं।’ उनका अनुसार किचेनमा कार्यरत सेफ तथा हेल्परहरु तारे होटलमा काम गरिसकेको र बिएचएम पढेका छन्।

अनलाइन अर्डर आएपछि एक घण्टामा नै खाना डेलिभर गर्ने उनीहरुलाई ट्राफिक जामले बेलाबेला सताउने गर्छ। भनेको बेला खाना डेलिभर गर्न समस्या पर्दा भने उनीहरु दिक्क हुन्छन्। रन्जन भन्छन्-‘हाम्रो किचेनमा तयार भएको खाना समयमै पुर्याउन पाए ब्राण्डप्रतिको विश्वास कायम रहन्छ।’
‘आजकल सबै ग्राहक हेल्थ कन्सियस छन्। अनुभवी सेफ र हेल्पर आफैँ पनि परिकारलाई ‘ओइली’ बनाउँदैनन्।

चाइनिज खानामा अजिनोमोटो आवश्यक हुन्छ। नेपाली रैथाने तथा कन्टिनेन्टल खानामा हाल्नुपर्ने इन्ग्रेडियन्ट्स पनि ग्राहकको स्वाद र माग अनुसार हाल्ने गर्छौं।’- जगदिश भन्छन्।  शनिबार 'फाइन्ड यु फुड' ले खाना डेलिभर गर्दैन। तर हरेक शनिबार आउन थालेको खानाको अर्डरले भने उनीहरुलाई दबाब परेको छ। अब भने शनिबार पनि खाना डेलिभर गर्ने योजनामा उनीहरु छन्। रन्जनका अनुसार धरान, विराटनगर, बुटवल लगायत उपत्यका बाहिरबाट पनि खानाको लागि इन्क्वाइरी आउन थालेको छ।