दुई वटा चर्चाले शेयर बजार उक्लियो, करिव एक अर्ब रुपैयाँको कारोबार

बिजमाण्डू
२०७४ चैत्र २५ गते १५:४४ | Apr 8, 2018
काठमाडौं। शेयर बजार ५१.६५ अंकसम्म पुगेर ४४.२६ अंकमा बन्द भएको छ। सुरुबाटै बढेको शेयर बजार पछि केही करेक्सन भएको थियो। तर फेरि उक्लिएको बजारले करिव ५२ अंकसम्म छोयो।
 

Tata
GBIME
Nepal Life

दुई वटा हल्लाले आज शेयर बजारलाई प्रभावित गरेको छ। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गएर सम्बन्ध सुधार गरेको र त्यसले मारवाडी समुदाय फेरि शेयर बजार प्रवेश गरेको चर्चा चलेको थियो। यसले गर्दा शेयर बजार सुचकले १२६७ अंक नाघ्यो।

 
प्राविधिक विश्लेषकहरुले निरन्तर झरिरहेको शेयर बजार १२६५ देखि ७० को बीचमा पुगे, त्यसपछि बढ्नेि प्रक्षेपण गरिरहेका थिए। मारवाडी समूदाय फेरि बजार बसेको चर्चाले सुचक सजिलै १२६७ अंक माथि पुग्यो। त्यसपछि प्राविधिक विश्लेषकले प्रक्षेपण गरेको भन्दै अर्को 'हौवा' फिँजाइयो। यसले गर्दा बजार उक्लिएको हो।
 
शेयर बजार २ बजेर २३ मिनेटसम्ममा ५१.६५ अंकको सुधार देखिएको थियो। लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बैंकहरुले विदेशबाट पूँजी भित्र्याएर तरलताको समाधान गर्ने नीति आएकाले पनि मनोबल बढेको बताए। 
 
बजार विश्लेषक सुरज अधिकारीले धेरै लामो समयदेखि बजार लगातार गिरावट आइरहेको अवस्थामा 'अल्पकालिन वाउन्स ब्याक' भएको बताउछन्। 
 
बजार उकालो लाग्दै गर्दा बीमा कम्पनी तथा लघुवित्तको कारोबार पनि ह्वात्तै बढेको छ। यसको असर समग्र कारोबार रकममा देखिएको छ। बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पूँजी शेयर बजारमा प्रयोग हुँदा पनि बजारमा प्रभाव पर्ने गरेको उनले बताए। 
 
केपि शर्मा वली प्रधानमन्त्री भएको दिन बजार ३६ अंकले बढे पनि त्यसयता लगातार घटिरहेको थियो। अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएपछि उनले बोलेका कुरालार्इ आधार मान्दै बजार घटिरहेको थियो। तर प्रधानमन्त्री भारत भ्रमणमा गएसँगै भारतसँगको सम्बन्ध र भारतीय लगानी बढ्ने भन्दै शेयर बजारमा सुधार देखिएको हो। 
 
साताको पहिलो दिन कारोबार सुरु भए देखिनै बढ्न थालेको थियो। कारोबार सुरु भएको २६ मिनेटसम्म बढेको बजार पुनः तल झर्दा २ अंकको मात्रै सुधार देखिएको थियो। त्यसपछि बजार पुनः सम्हालिँदै जाँदा २ बजेर २३ मिनेटसम्ममा ५१.६५ अंकको सुधार देखियो। तर २ बजेर २६ मिनेटदेखि २ बजेर ४७ मिनेटसम्म २५ अंकले गिरावट देखियो। त्यसपछिको समयमा बजार पुनः उक्लिएर अन्तत: ४४.२६ अंकले बढेर १२९४.६५ विन्दुमा रोकिएको छ। 
 
आइतबार ३.५४ प्रतिशतको सुधार देखिदा कारोबार रकम मंसिर यताकै अधिकतम ९१ करोड ७७ लाख रुपैयाँको भएको छ। गत मंसिर १३ गते एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो। त्यसयता सबै भन्दा कम १७ करोड रुपैयाँसम्म भयो।
 
साताको पहिलो दिन सम्पुर्ण सूचक तथा उपसूचक उकालो लागेका छन्। आइतबार सबैभन्दा धेरै बीमा  समुहको ६.१७ प्रतिशतले सुधार देखियो भने दोस्रोमा लघुवित्तको ६.०८ प्रतिशतको सुधार भयो। बाँकी बैंकिङ समुहको २.९७, ब्यापार ३.७७, होटल ४.५५, विकास बैंक १.६६, जलविद्युत ४.४८, फाइनान्स १.५५, उत्पादन तथा प्रसोधन २.२९ प्रतिशतको सुधार देखिएको छ। 
 
आज १७६ वटा कम्पनीको कारोबार हुँदा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने राधी विद्युत कम्पनीका शेयरधनीले ३.४३ प्रतिशतले गुमाएका छन्।