नयाँ वर्ष मनाउने ट्रेण्डले बढायो पर्यटकको मोबिलिटी, सौराहा र पोखराका सबै होटल खचाखच

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ चैत्र ३० गते १६:१४ | Apr 13, 2018
नयाँ वर्ष मनाउने ट्रेण्डले बढायो पर्यटकको मोबिलिटी, सौराहा र पोखराका सबै होटल खचाखच

काठमाडौं। नयाँ वर्षमा देशका मुख्य पर्यटकीय गन्तब्यहरु आन्तरिक पर्यटकले भरिएको छ। पछिल्लो केही वर्षदेखि ‘न्यू इयर सेलिब्रेसन’ गर्ने ट्रेण्ड बढेको छ। यसैकारण आन्तरिक पर्यटकको चाप बढेको हो।

Tata
GBIME
Nepal Life

 
फाइल फोटो

होटल संघ नेपालका अनुसार काठमाडौं नजिकैका गन्तब्य नगरकोट र धुलिखेलका होटल आन्तरिक पर्यटकले भरिएका छन् भने उपत्यका बाहिर पोखरा,चितवन,लुम्बिनी लगायतका पर्यटकीय गन्तब्यमा भीड बढ्दो छ। पर्यटकीयस्थल पोखरा र चितवनका सबैजसो होटल बुकिङ भइसकेका छन्।
 
चितवनको पर्यटकीयस्थल सौराहा आन्तरिक पर्यटकले भरिभराउ छ। क्षेत्रीय होटल संघ सौराहाका अनुसार सौराहामा ९० प्रतिशत अकुपेन्सी छ। ‘अहिलेसम्म ९० प्रतिशत आन्तरिक पर्यटकले भरिभराउ भइसकेको छ’संघका अध्यक्ष सुमन घिमिरेले बिजमाण्डूसँग भने, साँझसम्ममा शतप्रतिशत बुकिङ हुनेछ।’
 
उनले पछिल्लो समयमा नेपाली घुम्न निस्किने ट्रेन्ड सुरु भएकाले पर्यटकीय गन्तब्य भरिभराउ हुन थालेको बताए। चितवनको सौराहामा ११० सुविधायुक्त होटल छन् भने झण्डै ६० वटा रेष्टुरेन्ट छन्।
 

यहाँ दैनिक २८ सय पर्यटक बस्न सक्ने क्षमता छ। रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल(रेवान)सौराहाको आयोजनामा फूड फेष्टिबल र सांस्कृतिक कार्यक्रम हुँदैछ। यस्तै पोखरामा समेत आन्तरिक पर्यटक खचाखच छन्।
 
आन्तरिक पर्यटकको प्रमुख गन्तब्य मानिने पोखरामा दुर्इवटा कार्यक्रम हुँदैछ। पोखरामा फूड फेष्टिबल र कन्सर्टमा रमाउनेहरुको घुइँचो छ। पोखरास्थित क्राउन हिमालयजका संचालक आग्रह अर्यालका अनुसार पोखराका सबैजसो होटल प्याक भइसकेका छन्। ‘पोखराका सबै होटल प्याक भइसकेका छन्।’-उनले बिजमाण्डूसँग भने, हाम्रो होटलनै माइनस बुकिङ भएर अर्को होटलमा राख्नुपरेको छ।
 
पोखरामा पर्यटन प्रवर्द्धनकालागि विगत वर्ष झैँ यसपाली १५ औँ फेवा नववर्ष महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका उनले जानकारी दिए।
 
हाल ५० प्रतिशत बाह्य पर्यटक र ५० प्रतिशत आन्तरिक पर्यटकको सहभागिता रहेको उनले बताए। उनले भने,' अहिले नयाँ वर्ष आइरहँदा ८० प्रतिशत भन्दा बढी रुम बुक भइसकेका छन्।' पर्यटन सिजनमा ६० प्रतिशत बाह्य तथा आन्तरिक पर्यटकको आवगमन भएको पोखरामा अहिले नयाँ वर्ष मनाउन आउने ४० प्रतिशत पर्यटकको आवगमन थप बढेको उनको दाबी छ। 
   

नयाँ वर्षको मौका पारेर काठमाडौं, नगरकोट, धुलिखेल, चितवन, पोखरा, बन्दीपुर, धनकुटा लगायतका पर्यटकीय गन्तब्य बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकले भरिएको होटल संघ नेपालका महासचिव विनायक शाहले बताए।

उनले भने,'विगत तीन वर्षदेखि नेपालीहरुको पर्चेजिङ रेट बढ्दै गएको छ र आन्तरिक पर्यटकको चाप पनि बढ्दै गएको छ। यो नयाँ वर्षमा अधिकांश सर्वसाधरण परिवार सहित मुलुकका विभीन्न पर्यटकीय गन्तब्यस्थलमा छन्। अहिले ६० प्रतिशत नेपालीले घुमघाममा प्राय खर्च गर्दै आएको देखिन्छ।
होटलका साथै नेपालीले नै चलाउँदै आएको रिसोर्ट, होमस्टेमा बर्थडे, एनिभर्सरी, पर्व, नयाँवर्ष लगायतका समारोह मनाउँदै आएको पाइएको छ।

नयाँ वर्ष मनाउन अधिकांश सर्वसाधारण पोखरा र चितवन गएको उनको दाबी छ। पोखरामा आयोजित फेवा फेस्टिभलले आन्तरिक पर्यटक तानेको पाइएको छ। नयाँ वर्षले आन्तरिक पर्यटन बढ्नुका साथै एडभेन्चरस टुर गर्न आउने वाह्य तथा आन्तरिक पर्यटकको चाप विगत वर्ष भन्दा वृद्धि भएको उनी बताउँछन्।

धुलिखेलमा नयाँ वर्ष मनाउन दुई दिनमै दुई हजार भन्दा बढी पर्यटक आएको क्षेत्रीय होटल संघका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका संचालक प्रेमकण्ठ श्रेष्ठले जानकारी दिए। उनले भने' अहिले धुलिखेलमा नयाँ वर्ष मनाउन आउने पर्यटकको चाप छ। धेरैजसो होटल फुल्ली प्याक छन्। होटल प्याक भएर मैले नै ग्राहकको लागि अर्को होटलमा २० वटा रुम बुक गरिदिएँ।'

उनका अनुसार धुलिखेलमा नयाँ वर्ष लक्षित फुड फेस्टिभल र नाचगानको समेत आयोजना गरिएको छ।