‘उद्योगी पनि खत्तम छन्, उद्योगको बोर्ड लगाएर व्यापार गरिरहेका छन्’, मातृका यादबको अन्तर्वार्ता




फरक काम गर्ने शैलीका कारण मातृकाप्रसाद यादब सधैँ चर्चाको केन्द्रमा रहिरहन्छन्। तेस्रो पटक मन्त्री बनेका यादबले अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।एलडिओलार्इ शौचालयमा थुनेका यादबले मन्त्री पद गुमाए तर आफ्नो खरो,निडर र साधारण छबिलार्इ परिवर्तन गरेनन्।‘हक्की र सन्की’ स्वभावका यादब  उद्योगमन्त्री भएर आएको भन्दै निजी क्षेत्र केही त्रसित भएपनि उनको इमान्दारितामा प्रश्न गर्न सक्ने अवस्थामा छैन।उनै मन्त्री यादबलार्इ बिजमाण्डूका सविन मिश्रबीपी साहले मन्त्री यादवलाई सोधे : उद्योगी व्यवसायी डराएको वा सशंकित भइरहेको अवस्था देखिन्छ। किन?



उद्योगमन्त्री बन्नु भएको छ। तपाईं जुन राजनीतिक पार्टी र सिद्धान्तबाट आउनु भयो त्यसले व्यक्तिगत पुँजी भन्दा पनि राज्यबाट धेरै कुरा नियन्त्रण हुनुपर्छ भन्ने मान्यता राख्छ। तर तपाईं र तपाईंको प्रधानमन्त्री र पार्टीको घोषणापत्रले भने निजी क्षेत्रको लगानी र पुँजी परिचालनलाई प्राथमिकतामा राखेको छ। यस्तो अवस्थामा आफ्नो जिम्मेवारीलाई कसरी लिनुभएको छ?
यो राम्रो विषय हो। मलाई लाग्छ हरेक विषय राजनीतिबाट परिचालन भइरहेको हुन्छ। तपाईंको पत्रकारिता पनि राजनीतिबाट मार्गनिर्देशित हुन्छ। राजनीति भनेको एउटा उद्देश्य पनि हो। त्यसमा निश्चित नीति हुन्छ। त्यो एउटा पाटो हो। हाम्रो देशमा मास्टर, डाक्टर र विद्यार्थी सबैले राजनीति गरिरहेका छन्।
तपाईंले जसरी सरकारी र निजी क्षेत्रको कुरा उठाउनुभयो, मूलत नेपालमा दुईवटै क्षेत्र असफल भएको छ। सरकारले चलाएका उद्योगधन्दा पनि फेल भयो। निजी क्षेत्रले त्यसलाई लियो र त्यो पनि फेल भयो। यही विचित्रको अवस्था हामीसामू छ। सरकारले जनताको सम्पत्ति बेचेर खायो, उसले पनि अब बेचेर खाँदैछ। अहिले हामी के छलफलमा छौँ भने राष्ट्रिय उद्योगधन्दा निजी क्षेत्रले चलाउनुपर्छ। यसका लागि तीनवटा मोडल छ। नेपालमा विभिन्न खनिजजन्य उद्योग छन्। फलाम खानी छ, अन्य साधन र स्रोत छन्। त्यसलाई सरकारले आफैं चलाउनु पर्छ। संभव भएसम्म पुराना उद्योग सरकार आफैंले चलाउने। अर्को साझेदारी मोडल भयो। र तेस्रो भनेको निजीकरण हो।

हाम्रो विगत हेर्दा सबै कुरा बेचेपछि समस्या समाधान हुन्छ भन्ने मान्यता विकास भयो। दुनियाँमा धेरै यस्ता अभ्यास भए, जहाँ पूर्णरुपमा निजीकरण गरिएका छैनन्। तर कमिसनको लोभमा निजीकरण गरियो। विकास गर्न त निगरानी गर्नुपर्छ। विकास त त्यत्तिकै हुँदैन नि। निजी क्षेत्रका कम्पनीले काम गर्ने मेनेजर राखेको हुन्छ, उसलाई लक्ष्य दिइएको हुन्छ र उसले त्यसअनुसार काम गर्छ। तर, सरकारीमा भने कर्मचारी राजा बन्छ।

कर्मचारीलाई युनियन र अनेक नाममा राजा बनाउने त तपाईंहरु जस्ता नेता हो नि!
मैले त्यही भन्दै छु। मन्त्री हुने बित्तिकै सम्राट ठान्ने। कर्मचारी राजा हुने। सेवा दिने भन्दा स्वार्थपूर्तीमा ध्यान धेरै भयो। म पनि मन्त्री हो नि। म आफैँलाई भनिरहेको छु। अहिले हाम्रो सरकारको जुन टिम छ, त्यसको उद्देश्य सेवा दिने छ। हामी भएकै चिजबाट सेवा दिन्छौँ। तपाईँ हेर्नुस् न प्रचण्ड प्रधानमन्त्री हुँदा आर्थिक वृद्धि कहाँ पुग्यो, लोडसेडिङ हट्यो, यही संरचनाले काम गर्योि नि। कुलमानजी र जनार्दनजीले काम गरेको देखियो नि। राम्रो गरेको उदाहरण पनि छन्। हाम्रो प्रधानमन्त्री र सिएम (चेयरम्यान प्रचण्ड) दुवैले सेवा दिनुपर्छ भन्नुभएको छ। त्यसले हामीलाई पनि अझै सजिलो बनाएको छ।

हामी अन्तरनिकाय समन्वय गरेर अघि बढ्न खोज्दै छौँ। गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतसँग समन्वय गरेर अघि बढ्छौँ। विगतमा हाम्रो टिम वर्क हुँदैनथ्यो। अहिले हामी त्यसलाई अघि बढाउने पक्षमा छौँ। सबैसँग सल्लाह गरेर अघि बढ्दा राम्रै हुन्छ नि। हाम्रो त सोध्यो भने लाज मान्ने कल्चर छ। हामी सामन्ती संस्कारमा हुर्कियौँ। सामन्तको विशेषता भनेको उनीहरु सर्वज्ञाता हुन्छन्। तर वास्तविकता त फरक हुन्छ नि। हामी सबैको बुद्धिलाई केन्द्रित गरेर अघि बढ्न खोजेका छौँ। प्रधानमन्त्री र हाम्रो सिएमले जस पाउनुपर्छ। उहाँहरुले जस पाएपछि हामी त त्यसै जस पाइहाल्छौँ। एउटा मातृकाले मात्रै जस पाउने कुरा होइन।



तपाईंको मन्त्रालयमातहत विभिन्न धरासायी उद्योग छन्। कति बन्द अवस्थामा छन्। कर्मचारी त्यसै पालेर राख्नुपरेको छ। ती उद्योगलाई के गर्नुहुन्छ?
तिनीहरुको अध्ययन भइरहेको छ। संभव भएका उद्योग सञ्चालनमा ल्याउँछौँ। एउटा त यही महिनामा सञ्चालनमा आउँछ।

कुन उद्योग?
त्यतातिर नजाऔँ। फेरि धेरै गडबड हुन्छ। ठुला गफ लगाएर हुँदैन। हामीले अब भाषण मात्रै गरेर भएन। हामी स-सानाबाट सुरु गर्दैछौँ। अहिले जनतामा अपेक्षा धेरै छ। त्यसअनुरुप जनादेश हामीलाई दिएको छ।

तपाईंको महत्वपूर्ण दायित्व लगानी अभिवृद्धिका लागि पहल पनि गर्ने हो। निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जिम्मेवारी छ। क्रान्तिकारी मातृका यादवसँग देशका उद्योगी व्यवसायी डराएको वा सशंकित भइरहेको अवस्था देखिन्छ। किन?
मैले त आव्हान गर्ने हो। निजी क्षेत्रको उच्च सम्मान हुन्छ। जहाँ जहाँ समस्या छ त्यो हल हुन्छ। मेरो एउटै शर्त हो, गडबड गर्न पाइँदैन। निजी क्षेत्रसँग जानुको अर्थ निजी क्षेत्रमा डुब्नु होइन। निजी क्षेत्रभित्रको कमी कमजोरीमा सरकार बग्ने होइन। सरकारीतर्फ जानुको अर्थ जेजे कमजोरी सरकारी क्षेत्रमा छन् तिनीहरुमा बग्नु होइन। हामी दुवैतर्फ करेक्सन गर्छौँ। उहाँहरु फाइल घुमाउँदा घुमाउँदा हैरान हुनुहुन्छ। मैले भनेको छु पाँच पैसा घुस नदिनुस्। घुस दियो भने काम हुँदैन। आखिर त्यो फाइल त म कहाँ आउँछ। थाहा त हुन्छ। त्यसैले फाइल कहाँ रोकिएको छ मलाई सूचना दिनुस् भनेको छु। कतिपय कानुनमा अप्ठ्यारा छन् त्यसलाई सहज बनाउन पहल गर्छु।

सरकारको प्राथमिकता उत्पादनमूलक उद्योगहरुमा धेरै छ। व्यापारभन्दा उत्पादनलाई प्राथमिकतामा हामी राख्छौँ। व्यापार पनि चाहिन्छ। तर मगाएर खाने कि आफू उत्पादन गर्ने। हामीले यसमा हेर्नुपर्छ। अहिलेसम्मको अवस्था कस्तो छ भने मगाएर खाइरहने तर आफ्नो उत्पादनलाई खतम गरिदिने। हाम्रो उद्योगीहरु पनि खतम छन्। उद्योगीहरु पनि साइन बोर्ड उद्योगको लगाएका छन् तर भित्र व्यापार गरेका छन्।

म एउटा कुरा भन्छु, सम्झिनुस् म मन्त्री होइन र तपाईंहरु पनि उद्योगी होइन। हामी नेपाली हौँ। हाम्रो देशका लागि के भूमिका हुन्छ सोच्दिनुस् भनेर हातै जोडेर भनेको छु। यो पनि एक किसिमको क्रान्ति हो। उहाँहरु पनि यसमा सहभागी हुनुहुन्छ। क्रान्ति भनेको आमूल परिवर्तन हो। आमूल परिवर्तन गर्नेतर्फ हामी पनि लाग्नुपर्छ। परिवर्तन पनि विस्तारै हुन्छ। कर छल्ने प्रवृत्ति हुनु हुँदैन। सरकारले पनि घुस लिनु हुँदैन।

एउटा मान्छेले सामान्य हिसाबले उद्योग दर्ता गर्दा नौ महिना समय लाग्ने देखिएको छ। घुस नमागेपनि यो पनि अवरोध नै हो। कसरी हटाउनुहुन्छ?

अब त्यो हुँदैन। अब पुरै कम्प्युटराइज्ड प्रणालीमा लैजान्छु। यसले कम जनशक्तिमा धेरै काम गर्न सकिन्छ। अर्को कुरा पारदर्शिता ल्याउँछ। काममा पनि सरलता ल्याउँछ। म्यानुअल्ली काम गर्दा पारदर्शिता हुँदैन। कतिवटा उद्योग चलेका छन् तथ्यांक छैन। विभिन्न स्वार्थ समूहले चलाइरहेका छन्। एउटा फाइल मन्त्री गएपछि मन्त्रीसँगै हरायो, पछि फेरि खोज्न लगाएर ल्याएँ। अनलाइनमा गएपछि, डेटाबेसमा तथ्यांक भएपछि धेरै कुरा पारदर्शी हुन्छन्। अनलाइनबाट उजुरी गर्ने र हाम्रो कुरा पनि त्यहाँ राख्ने प्रणाली बनिरहेको छ। त्यसलाई सञ्चालनमा ल्याउछौँ। त्यहाँ प्राप्त भएका सकारात्मक सुझाव ग्रहण गर्छौँ।



तपाईंको मातहत औद्योगिक प्रवर्द्धन बोर्ड छ। लगानी बोर्डको पनि तपाईं पदेन सदस्य हुनुहुन्छ। स्वदेशीसँगै विदेशी लगानी प्रवर्द्धनका लागि तपाईंको पहल कस्तो हुन्छ?
स्वदेशी र विदेशी लगानीकर्ताको लगानी विस्तारमा सहयोग पुर्यानउने छौँ। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो झुकाव स्वाभाविक रुपमा स्वदेशी लगानीकर्ताप्रति हुन्छ। स्वदेशी लगानीकर्ताबाट पार लाग्ने स्थिती अहिले छैन। स्वदेशी लगानीकर्ताको रकम स्वदेशमा छ/छैन भन्ने प्रश्न पनि उठेको छ। त्यसले गर्दा हामी दुईवटै लगानीलाई प्रोत्साहन गर्छौँ। हामी स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन्छौँ तर पर्खेर बस्ने होइन।

अहिले चिनीको विषय आएको छ। स्वदेशी खाने कि विदेशी। स्वदेशी खाँदा महँगो पर्ने भयो। विदेशी खाँदा सस्तो पर्ने भयो। अहिले अब चिनीमा कर बढाउँदै छौँ। बजार भाउ नबढ्ने गरी कर बढाउन लागेका छौँ। त्यसले हाम्रो उद्योगको संरक्षण हुन्छ र किसानको पनि संरक्षण पाएका छन्।

तर पनि स्वदेशी उद्योगीलाई भ्याट फिर्ता लगायतको सुविधा दिइएको छ। किसानले उखुको मूल्य पाउँदैन। तपाईंकै मतदाताले उखुको पैसा नपाएको अवस्था छ नि!
अब त्यस्तो हुँदैन। अब कसैले पैसा पाउँदैन भने सिधा निवेदन हाल्दा हुन्छ। जसले पैसा पाउँदैन त्यसलाई ठगी मुद्दा लगाएर कारबाही हुन्छ। त्यो क्रम अहिले सुरु भइसकेको छ। जनताले सिधै निवेदन हाल्ने र त्यसको बोधार्थ मन्त्रालयमा दिनुपर्छ। हामीलाई पनि रेकर्ड आउँदैन।

केही दिनअघि म वीरगञ्ज गएको थिएँ। गत वर्षको उखुको मूल्य ५३१ रुपैयाँ प्रति क्विन्टल थियो। त्यहाँ साढे तीनसयमा दलालमार्फत उद्योगीले किनेको छ। चिनी मिलका मालिकले दलालबाट चिनी किन्छ। त्यसलाई कारबाही गर्छु उजुरी देऊ भन्दा किसानहरु दिँदैन। त्यसैले कही समस्या भएको छ। किसानले पनि हामीलाई मद्दत गर्नुपर्छ। तपाईंहरु मिडियाले त मद्दत गर्नुभएको छ।



तपाईंले हेर्नुपर्ने क्षेत्र व्यापार र वाणिज्यको पनि छ। नेपाल र भारतबीच व्यापारिक अवरोधका विषयमा धेरै कुराहरु बाहिर आएका छन्। नेपालले विशाखापट्टनम बन्दरगाह उपयोग गर्न पाउने भनियो, त्यो पनि प्रभावकारी भएन। अहिले फेरि समुन्द्रसम्मको पहुँच भनिएको छ। सम्झौता धेरै काम कम भइरहे जस्तो लाग्दैन?
काम पनि भइरहेको छ। कामै भएको छैन भन्ने होइन। सम्झौता पनि भइरहन्छ। यथास्थितीमा हामी चल्न सक्दैनौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'सगरमाथा से सागर तक' भन्नु भएको छ। त्यो कुरा हाम्रो लागि ठुलो कुरा हो। भन्ने बित्तिकै जहाज त चल्दैन। पैसा चाहियो, मान्छे चाहियो अनि जहाज पनि चाहियो। खाली झण्डा लगाइदिएर त जहाज चल्नेवाला छैन। त्यहाँ नेपाली पनि चाहिन्छ। अहिले केही दिनका लागि सापटी लिएर चलाउँला। हामी सापटी पनि धेरै कुराको लिइरहेका छौँ। सापटी फिर्ता गर्दिन्छौँ र हाम्रो चलाउछौँ भन्ने अवस्था आउनुपर्छ।

विशाखापट्टनमको काम अगाडि बढिरहेको छ। विशाखापट्टनम पाइसकेपछि कलकत्तामा केही क्षेत्रको मनमौजी अन्त्य भएको छ। प्रतिस्पर्धा बढ्ने अवस्था देखिन लागेको छ। विशाखापट्टनमा धेरै सुविधा दिने कि कलकत्तामा भन्ने हुन थालेको छ। यसले केही सुविधा त देला। बंगलादेशसँग पनि व्यापारिक सहजताका लागि कुरा भइरहेको छ। बंगलादेशसम्म सुरुङमार्गको कुरा उठाएको थिएँ। त्यसमा पनि भारत सकारात्मक छ।

नेपालमा व्यापारका लागि नन् ट्यारिफ ब्यारिअर धेरै छन्। कसरी समाधानका उपाय निस्कन सक्छन्?
व्यापारिक अवरोध धेरै छन्। त्यसलाई हटाउनुपर्ने छ। टर्कीमा धागो निर्यातका लागि केही विषय उठेका थिए। हामीले टोली पठायौँ। त्यसले अध्ययन गरेको छ। त्यसले केही सकारात्मक सन्देश दिएको छ। समस्याहरु छन्। तर पहिले आफूले आँट गर्नुपर्छ। अहिलेको विश्वमा ट्रेड वार भइरहेको छ। हामीले त्यसमा भाग लिन खोइ त उत्पादन। उत्पादन छैन कहाँ भिड्नु।

विश्वका विभिन्न देशबाट हामीले सुविधा पाएका छौँ। डब्लुटिओको सदस्य भएर त्यस्ता सुविधा पाइएका छन्। ती सुविधा तत् तत् देशहसँग मागिरहेका छौँ। हामीलाई सुविधा दिने देशले पनि राष्ट्रिय स्वार्थ हेर्छ। त्यसैले परस्पर स्वार्थलाई सम्मान गर्दै कमजोरलाई सहयोग गर्ने नीतिअनुसार हामी अघि बढ्छौँ।



तपाईं मन्त्री भएर आएपछि धेरै बजार अनुगमनलाई चासोको रुपमा हेरेका छन् ?
बजार अनुगमनका विषयमा मैले धेरै कुरा बोलिसकेँ। अब काम गरेर देखाउँछु।

के काम गर्नुहुन्छ?
म गर्छु। बजारभाउ व्यवस्थित गर्ने। गुणस्तरका विषयमा कुनै सम्झौता हुँदैन। उत्पादकले उपयुक्त मूल्य पाउनुपर्छ। किसानले मूल्य पाउनुपर्छ। बजारमा बिचौलिया छन्। हामी पसल पसल हेर्छौँ तर बिचौलिया खोज्दै खोज्दैनौँ।

बिचौलिया तपाईंलाई घेरेर बस्ने कर्मचारीमा पनि छन् नि, मान्नुहुन्छ?
सबैतिर छन्। हामी त्यो बारेमा पनि छलफल गरेका छौँ। हिजो गृह मन्त्रालयमा छलफल भएको थियो। कर्मचारीहरु नै त्यस्ता पसलको शेयर लिएर बसेका छन्। काम गरिदिए बापत त्यस्तो शेयर पाएका छन्।

एउटै उद्योगमा दुईवटा सरकारी निकायले फरक फरक मितिमा छापा मार्ने र फरक फरक निर्णय गरेको पनि भेटियो नी?
अहिलेसम्म त्यस्तो कुरा मसम्म आएको छैन। विगतमा भएको थियो होला। अहिले बिचौलियाहरु पनि सचेत भएका छन्। मेरो आव्हान के हो भने राष्ट्रिय रुपमा अपराध गरेको छ भने राज्यले छुट दिनु हुँदैन। तर सबै आफैँ सुध्रिनुपर्छ।

मिडिया पनि सुध्रिनुपर्छ। पत्रकारहरु पनि बिचौलिया छन्। तपाईंहरु आफ्नो कुरा उठाउनु हुन्न क्या! झन खतरनाक छ पत्रकारहरु। हाल्ने बेलामा ब्यानर हाल्ने अनि सानो खण्डन् गर्ने। हामीसँग नसोधी जे पायो लेखिरहेको हुन्छ।



तपाईं माथि पनि त व्यापारीको दबाबमा अनुगमन गर्ने कर्मचारी सरुवा गरेको आरोप लागेको थियो नि!
म आफैँ भन्दिन्छु यो कुरा। म कम बोलेको छु तर उहाँ त नेता जस्तो हुनुभयो। मिडियामा बोलेको छ। गणतन्त्रमा कर्मचारी धेरै बोल्न पाउने व्यवस्था होला। सबै कानुन त मलाई थाहा छैन। निजी स्वार्थमा काम गरेकाले सरुवा गरिएको हो। एउटा पनि मुद्दा चलाउन सक्नु भएन। मुद्दा नचलाऊ भनेको भए म दोषी हुन्थेँ। मैले मुद्दा चलाऊ भनेँ उहाँले चलाउनु भएन। मेरो एउटा कुरा के भने दोषी ठहर नभई मिडियाको अगाडि ल्याउनु भएन।

व्यापारिको माग पनि यही त थियो नि ?
व्यापारीको माग होइन मेरो भिजन हो। व्यापारीले के भन्छ त्यो छाडिदिनुस्। अनुसन्धान ढोल पिटेर हुँदैन। दोषी भयो भने मिडियाको अगाडि ल्याउने। मुद्दा चलाउने बेलामा मिडियालाई दिने। सानो मान्छे नै किन नहोस् डिमोरलाइज्ड भयो भने ऊ समाजमा हिँड्न सक्दैन। हामीले त त्यस्ता मान्छेलाई सुधार्ने हो। सबैतिर गडबड छन्। मेरै निर्देशन सहसचिवले मान्दैन।

मैले त्यतिबेला भनेँ, शिक्षा र स्वास्थमा हामी किन जाने? शिक्षा मन्त्री के गरेर बस्छ, स्वास्थ्य मन्त्री के गरेर बस्छ? पहिले हामीले हाम्रो घर ठिक पार्नुपर्छ। तेल ठिक छ कि छैन। तेलको नाप ठिक छ कि छैन। त्यो हेर्नुपर्छ। खाद्यान्न हेर्नुपर्छ। हाम्रो तिर जाँदै नजाने कहाँ माल पाइन्छ खोजी खोजी हिँड्ने यो अनुगमन होइन। जुन जुन विषय जुन जुन मन्त्रालयसँग जोडिन्छ त्यसैलाई कारबाही गर भनेर भन्दिने हो।

तपाईं सोल्टी होटल र गौशालाको कुनै होटलमा जानु भयो भने दर फरक छ। वीर अस्पताल र नर्भिक अस्पताल जानु भयो भने दर फरक छ। त्यसमा के गर्ने? यस्तो अवस्थामा के गर्ने? यसको त मापदण्ड बनाउनु पर्छ नि। कुनै अस्पतालमा अनुगमन गर्नुपरे स्वास्थ्य मन्त्रालयले भनोस्। म मन्त्री भइसकेपछि हाम्रो मन्त्रालयले मात्रै नसकेपछि मैले अहिले आइजिपी हुनुभएका सर्वेन्द्र जीलाई भने तपाईं अनुगमन गरिदिनुस् न। थुप्रै पेट्रोल पम्पमा त्यसरी अनुगमन भयो। त्यसैले सबै मिलेर गर्नुपर्छ। हाम्रो दाहाल (व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका तत्कालीन महानिर्देशक कुमार दाहाल)को अनुगमन कहाँ पुग्यो? मलाई बदनाम गराउने कोशिश पनि भयो।

अर्को कुरा कसैले दुईचारवटा कुरा लेख्दैमा केही फरक पर्दैन। मलाई त्यसले असर गर्दैन। तस्कर र भ्रष्ट्राचारको पैसाबाट चलेको मिडियाले मातृकालाई केही बिगार गर्न सक्दैन।

तस्कर र भ्रष्ट्राचारको पैसा मिडियामा लगानी छ?
त्यतातिर नजाऔँ। श्रमजीवी पत्रकार प्रति मेरो सम्मान छ। एकाधबाहेक श्रमजीवी पत्रकार ठीक छन्। त्यहाँ भित्र पनि लडाईं  छ। श्रमजीवी पत्रकारप्रति मेरो सम्मान छ। एकाधले मनलागेको कुरा लेख्दा मलाई केही फरक पर्दैन।

तपाईंहरु दुईवटा पार्टी संयुक्त भएर चुनाव लड्नुभयो। एउटै घोषणापत्र बनाउनुभयो। औद्योगिक विकास र रोजगारी सिर्जनाको प्रतिबद्धता जनाउनुभएको छ। तपाईं सहभागी सरकार पाँच वर्षका लागि गठन भएको छ। अबको साढे चार वर्षपछि तपाईंसँग अन्तर्वार्ता गर्न आउँदा हाम्रो अवस्थामा कति परिवर्तन भएको देखिन्छ?
एकदम अप्ठ्यारो पर्योत। मातृका नै पाँच वर्ष मन्त्री रहन्छ रहन्न ग्यारेन्टी छैन। तर यो सरकार पाँच वर्षसम्म रहन्छ। त्यसैले मेरो आग्रह के छ भने नीतिगत रुपमा राम्रो कुराको निरन्तरता हुनुपर्छ। हुनसक्छ हाम्रो नीतिमा कमी कमजोरी भेटिएलान्। त्यसलाई नयाँ आउनेले समृद्ध बनाउनुपर्छ। मलाई लाग्छ अबको पाँच वर्षमा हामी संसारलाई उहादरण दिन सक्ने अवस्थामा पुग्छौँ।

म पहिलोपटक वन मन्त्री भएँ। दोस्रो पकट १३ दिन भूमिसुधार मन्त्री भएँ। त्यतिबेला माओवादी त पुरै क्रान्ति गर्न आएको भन्ने मेरो सोचाइ थियो र म त्यसमा हिँडेको हो। क्रान्ति भन्दा पनि क्रान्तिको जग अर्थात समाजवादको आधार तयार पार्न हामी काम गर्छौँ। अहिले तुलनात्मक रुपमा ठुलो मन्त्रालयको जिम्मेवारी छ। अहिलेसम्म धेरै मान्छेहरुले काम नगरी मोजमस्ती गर्न खोजे। हामी धेरै महेनत गर्छौँ। रोजगारी सिर्जना, औद्योगिक विकास विना समृद्धि हुँदैन। त्यो हामीले बुझेका छौँ।

सस्तोमा श्रम बेचेर महँगोमा अर्काले उत्पादन गरेको वस्तु किनेर खाएर मात्रै हुँदैन। हामीले आन्तरिक उत्पादनमा जोड दिनुपर्छ। हामी निर्यात गर्न सक्छौँ। हामीसँग धेरै महत्वपूर्ण वस्तु छन्। तिनीहरु गिट्टीको भाउमा गइरहेका छन्। त्यसको संरक्षण गर्नुपर्छ र उपयोग गर्नुपर्छ। हाम्रोमा संरक्षण भनेपछि धुप आरती लगाएर बस्ने मान्यता छ। त्यसरी हुँदैन। हाम्रो सम्पत्ति कौडीको मूल्य बेचिएको छ। कुन पहाडमा के कुरा छ भनेर अनुसन्धान गर्छौँ। कति क्षमता छ त्यो थाहा भएपछि त्यसको उपयोग गर्छौँ। बिर्ता बाँढेजस्तो पनि गरिएको छ। त्यो सबै अवस्थालाई हेरेर हामी अघि बढ्छौँ।



तपाईं आफैंले क्रान्तिकारी मातृका यादव भन्नुभयो। कति मान्छेलाई तपाईंसँग डर पनि छ। धेरैले तपाईंको कुरा सुन्न र पढ्न चासो पनि दिइरहन्छन्। वास्तवमा तपाईं कस्तो मान्छे हो?
मातृका देश र जनताको सेवा गर्ने साधारण मान्छे हो। मेरो वर्ग पनि त्यही हो। मेरो सोच पनि त्यही हो। मेरो जिन्दगी नै त्यसैमा लगाएको छु। म ठुलाबडाको छोरा होइन। जातीय, राष्ट्रिय र वर्गीय उत्पीडनमा परेको मान्छे हुँ। त्यसैले गर्दा मलाई अनुभूति छ। एउटा भनाइ छ, जसको पैतला फाटेको हुन्छ उसलाई वास्तविक पीडा थाहा हुन्छ। देख्नेलाई त्यो पीडा कहाँ थाहा हुन्छ र, भोग्नेलाई थाहा हुन्छ। मैले यी सबै कुरा भोगेको छु। जुन वर्गको प्रतिनिधित्व गरेको छु त्यसको सेवा गर्ने क्रान्तिकारी हुँ।

Share this Story

   

‘उद्योगी पनि खत्तम छन्, उद्योगको बोर्ड लगाएर व्यापार गरिरहेका छन्’, मातृका यादबको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.