अमलेखगंजमा खुल्यो ५ करोडको लगानीमा रिसोर्ट, जंगल सफारीले निकुञ्जमा पर्यटक बढ्ने

बिजमाण्डू
२०७५ बैशाख ६ गते १६:४२ | Apr 19, 2018
अमलेखगंजमा खुल्यो ५ करोडको लगानीमा रिसोर्ट, जंगल सफारीले निकुञ्जमा पर्यटक बढ्ने

वीरगंज। पर्सा राष्ट्रिय निकुञ्ज घोषणा भएसंगै निकुञ्ज वरपर होटेल व्यवसायमा लगानी थपिन थालेको छ। पर्साको झावराहामा २० करोडका लगानीमा ईन्दु वाइल्ड लाइफ रिसोर्टको निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा बाराको अमलेखगंजमा ५ करोडको अर्को रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ ।

Tata
GBIME
Nepal Life

एलिफेन्ट भिलेज रिसोर्टको नामले स्थापना गरिएको रिसोर्टमा बारा होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्माले लगानी गरेका छन् । उनको सिमरामा होटल सगुन पनि सञ्चालनमा छ । ८ कठा क्षेत्रफल जग्गामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्न लागेको उनले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाहिरीय पर्यटकलाई लक्षित गरी सो रिसोर्ट अमलेखगंजमा खोलिएको हो।

अमलेखगंजमा पर्सा राष्ट्रिय निकुञ्जको हात्तिसार छ, तर सुविधा सम्पन्न होटल वा रिसोर्ट नहुँदा पर्यटकलाई सिमरामा वा हेटौडामा बस्नु पर्ने बाध्यता थियो । त्यस्तैलाई मध्यनजर गर्दै अमलेखगंजमा लगानी गरेको उनले बताए।

अमलेखगंजमा १५० वर्ष पहिले भारतबाट नेपालमा रेल आएको स्थल पनि हो, त्यहाँ रेलको टिकट काटने काउन्टर पनि छ,पर्यटकको लागि त्यो टिकट घरलाई पनि आकर्षित बनाएर प्रस्तुत गर्न सकिन्छ ।
अमलेखगंजका पर्यटकीय आकर्षणका क्षेत्रहरु पहिचान गरी पर्यटकलाई तान्नुपर्ने शर्माले बताए। पर्सा राष्ट्रिय निकुञ्ज, वनजंगलको शान्त वातावरणको सम्भावना देखेर आफुले अमलेखगंजमा रिसोर्ट निर्माणको कार्य एक वर्ष अघिदेखि शुरु गरेको बताउँछन् ।

रिसोर्टमा टिपिकल नेपाली ढिँडो, लोकल कुखुरालगायतको आवश्यक सम्पूर्ण खानेकुराको परिकार पनि उपलब्ध गराउने सञ्चालक शर्माले बताउँछन् ।

रिसोर्टमा विवाहकालागि ३ सय जना अट्ने हल, १० वटा कटेजलगायतको निर्माण गरिएको छ।

हलमा विवाह,पार्टी बैठक,सभा गर्न सकिने बताइएको छ । साथै, पर्सा राष्ट्रिय निकुञ्जको ठाँउ तथा वन्यजन्तु अवलोकनकालागि जंगल सफारीको पनि सुविधा रहेको छ ।