ब्रान्डेड सामानको नाममा ‘डुप्लिकेट’ आयात गर्दै हुनुहुन्छ? अब तिर्नुपर्छ सक्कलीसरह भन्सार

बिजमाण्डू
२०७५ बैशाख ९ गते १७:०५ | Apr 22, 2018
ब्रान्डेड सामानको नाममा ‘डुप्लिकेट’ आयात गर्दै हुनुहुन्छ? अब तिर्नुपर्छ सक्कलीसरह भन्सार

काठमाडौं।सरकारले नक्कली सामान आयात गरेर सक्कली भन्दै बिक्री गर्ने प्रवृत्तिलार्इ अंकुश लगाउने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री डा.युवराज खतिवडाले मुहाननै सफा गर्ने भन्दै भन्सार कार्यालयमार्फतनै ब्राण्डेडका नाममा नक्कली सामान आयात गर्ने प्रवृत्तिलार्इ अंकुश लगाउन खोजिएको हो।आयातकर्ताले भन्सारमा एक किसिमको मूल्य समावेश भएको बिल पेश गर्ने तर बजारमा भने अधिकतम नाफा गर्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न आधिकारिक मूल्यलाई आधार बनाएर राजस्व तिराउन लागिएको भन्सार विभागका महानिर्देशक तोयम रायले बताए।

'भन्सार अधिकृतले वस्तुको उत्पादक तथा आधिकारिक विक्रेताले वेबसाइटमा राखेको मूल्यलाई आधार बनाएर मूल्यांकन गर्न सक्छ र त्यसको आधारमा कर निर्धारण गर्न सक्छ,' रायाले भने। यो व्यवस्था छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। विभागका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय ब्राण्ड प्रयोग गरेर आएका सामानको भन्सार मूल्यांकन सक्कली सामानकै आधारमा हुनेछ।उदाहरणका लागि नाइक,एडिडास,जारा,बोस लगायतका सामान चीनमा ट्याग लगाएर आयात गरिन्थ्यो।

चीनबाट आयात भएका ती सामानको भन्सार मूल्यांकन अरु सरह हुँदै आएको थियो।तर अब ती सामानको भन्सार मूल्यांकन सक्कली सामानकै आधारमा हुनेछ।यो भन्सार मूल्यांकन हुनेवित्तिकै नक्कली सामान ल्याएर सक्कली भन्दै बिक्री गर्ने प्रवृति समेत रोकिन्छ।उनले भन्सारमा यो व्यवस्था लागु भएमा उपभोक्तालार्इ समेत राहत हुने बताए। 'यो व्यवस्था कार्यान्वयनमा आएपछि नक्कली सामान आउने, उपभोक्ता ठगिने अथवा भन्सार विन्दूबाट हुने राजस्व छली नियन्त्रण हुन्छ,' महानिर्देशक रायले भने, 'यसले सबैभन्दा धेरै फाइदा त व्यवसायीलाई नै गर्छ। उपभोक्ता पनि ठगिँदैनन् र राजस्व पनि चुहावट हुँदैन।'

मुहानको सफाई यही हो?
चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले भनेका थिए, 'भन्सारमा कम मूल्यांकन गरेर छाडिदिने र दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको चाहिँ अन्त्य हुनुपर्छ। हामी मुहानमै यसलाई सम्बोधन गर्छौं । यसो गरेनौं भने कुनै न कुनै विसंगतिमा हामी सधैं संघर्ष नै गरिरहने अवस्थामा हामी फस्छौं। त्यसैले हामी मुहान सफा गरौं भनेर लागेको हो।'

गत दशैंअघि तत्कालीन् आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्ग क्षेत्रमा अनुगमन गर्दै ब्राण्डेड पसलमा सील लगाएका थिए। न्यून मूल्यमा सामान ल्याएर अधिक मूल्यमा बिक्री गरेको भन्दै ती पसलमा मन्त्रीकै अग्रसरतामा सील लगाएका हुन्।

अर्थमन्त्रीले भन्सार विन्दूमा नै कडाई गर्ने र त्यसैबाट राजस्व चुहावट नियन्त्रण गर्ने संकेत त्यतिबेला नै गरेका थिए। राजस्वको संरचनामा आयात व्यापारको ठुलो हिस्सा भएकाले त्यसैको शुद्धिकरणमा मन्त्री खतिवडाले जोड दिएका थिए। 'शब्द जे प्रयोग गर्दा पनि भयो, तर हामीले सुधारको काम गर्न खोजेका छौँ,' महानिर्देशक रायले भने, 'यसले सकारात्मक कम गर्छ भन्नेमा विश्वस्त छौँ।'

राजस्वको लक्ष्य नपुगेका कारण अहिले भन्सार विभाग पनि दबाबमा छ। चैत मसान्तसम्ममा विभागलाई २ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा लक्ष्यभन्दा १२ अर्ब कम अर्थात २ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। राजस्वमा निरन्तरको दबाब र सुधारका लागि मन्त्रालयबाट निर्देशन प्राप्त भएकाले विभागले नयाँ रणनीति अघि सारेको हो।