बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा मोबाइल सेवा, ढोरपाटनमा थ्रिजीको विटिएस स्थापना

रासस
२०७५ बैशाख १० गते १६:१० | Apr 23, 2018

काठमाडौँ। नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

 टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका–९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । सो ठाउँ बाग्लुङ सदरमुकामदेखि १२४ किलोमिटरको सडक दूरीमा र करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित छ ।

 उक्त सेवाबाट त्यस स्थानका करीब ५०० घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन् । बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो  सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ ।

 त्यसैगरी डोल्पाको दुर्गम ग्रामीण क्षेत्र धो मा भि स्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाउँपालिकामा स्थापित विटिएसबाट त्यस स्थानका करीब दुई हजार बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुनेछन् । यो दुनै सदरमुकामदेखि करीब तीन दिनको पैदल दूरीमा पर्छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिर्इन्।

 प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।