जग्गाको भाउ: प्रदेश राजधानी तोकिएपछि २ नम्बर प्रदेशमा उक्लियो जग्गाको भाउ, विराटनगरमा घट्यो

बिजमाण्डू
२०७५ बैशाख ११ गते ०९:५९ | Apr 24, 2018
जग्गाको भाउ: प्रदेश राजधानी तोकिएपछि २ नम्बर प्रदेशमा उक्लियो जग्गाको भाउ, विराटनगरमा घट्यो


काठमाडौं। प्रदेश राजधानी सिफारिस भएपछि पहिलोपटक प्रदेश नम्बर २ को राजधानी जनकपुरमा घरजग्गा कारोबार फस्टाएको छ। चालु आर्थिक बर्षको चैतमा २ नम्बर प्रदेशको राजधानी जनकपुरले एकै महिनामा तीन करोड ४९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेर नयाँ रेकर्ड बनाएको हो।

Tata
GBIME
Nepal Life

प्रदेश राजधानी सिफारिस हुनुअघि जनकपुर मालपोत कार्यालयले एक करोड रुपैयाँभन्दा कम राजस्व संकलन गर्दै आएको थियो। राजधानी सिफारिस भएपछि निरन्तर बढिरहेको जनकपुरको घरजग्गा कारोबार चैतमा आएर अझै फस्टाएको हो।

जनकपुर मालपोत कार्यालयले उठाएको राजस्व धनगढी र सुर्खेत मालपोत कार्यालयको भन्दा बढी हो। चैतमा प्रदेश नम्बर ७ को राजधानी धनगढीले दुई करोड ८० लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। त्यस्तै प्रदेश नम्बर ६ को राजधानी सुर्खेतले पनि दुई करोड ९३ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। अन्य प्रदेश राजधानीमा भने चार करोड रुपैयाँ बढी राजस्व संकलन गरेका छन्।

पोखरा, हेटौड र धनगढीमा पनि कारोबार बढ्यो
प्रदेश नम्बर ४ को राजधानी पोखरामा फागुनको तुलनामा चैतमा कारोबार बढेको छ। फागुनमा तीन करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको पोखरा मालपोत कार्यालयले चैतमा चार करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। फागुनको तुलनामा चैतमा झन्डै ७० लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ।

त्यसैगरि प्रदेश नम्बर ३ को राजधानी हेटौडमा पनि चैतमा घरजग्गा कारोबार बढेको छ। मालपोत कार्यालय हेटौडाले फागुनमा तीन करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा चैतमा पाँच करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जुन फागुनको तुलनामा ४६ लाख रुपैयाँले बढि हो। बृद्धि दर अनुपात भने कमै छ।

प्रदेश नम्बर ७ को राजधानी धनगढीमा भने सामान्य मात्रै कारोबार बढेको छ। फागुनमा दुई करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको धनगढीमा चैतमा दुई करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ।

विराटनगर, बुटवल र सुर्खेतमा कारोबार घट्यो
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा फागुनको तुलनामा चैतमा घरजग्गा कारोबार घटेको छ। फागुनमा पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको विराटनगर मालपोत कार्यालयले चैतमा चार करोड ७३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन फागुनको तुलनामा २७ लाख रुपैयाँले कम हो।

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पनि फागुनको तुलनामा चैतमा घरजग्गा कारोबार घटेको छ। मालपोत कार्यालय बुटवलले फागुनमा चार करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा चैतमा चार करोड ४५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। जुन फागुनको तुलनामा चैत्रमा ११ लाख रुपैयाँले कारोबार कम हो।

प्रदेश नम्बर ६ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि फागुनको तुलनामा चैतमा कारोबार घटेको छ। मालपोत कार्यालय सुर्खेतले फागुनमा तीन करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चैतमा दुई करोड ९३ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। फागुनको तुलनामा चैतमा ४८ लाख रुपैयाँले कारोबार घटेको छ।