हकप्रद शेयर कारोबारमा नयाँ अध्यायको सुरुवात, दशकपछि बन्यो हकप्रदको निस्सा कारोबार बिनियमावली

बिजमाण्डू
२०७५ बैशाख ११ गते १०:११ | Apr 24, 2018
हकप्रद शेयर कारोबारमा नयाँ अध्यायको सुरुवात, दशकपछि बन्यो हकप्रदको निस्सा कारोबार बिनियमावली


काठमाडौँ। हकप्रद निष्कासन गर्न गरिएको समायोजित मूल्यबाट हकप्रदको निस्सा कारोबार हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'हकप्रद शेयरको निस्सा कारोबार बिनियमावली,२०७४' मा उक्त बुँदा समेट्दै बिनियमावलीको मस्यौदा तयार पारेको छ।

Tata
GBIME
Nepal Life

हकप्रद निस्सा कारोवार गरेर धितोपत्र कारोबारमा नयाँ अध्यायको सुरुवात गर्ने योजना सार्वजनिक गरेको नेप्सेले एक दशकपछि आफ्नै सक्रियतामा नयाँ बिनियामवली तयार परेको हो।

२०६५ साल असार २७ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रेस विज्ञप्ति जारी गर्दै हकप्रदको निस्सा कारोबार गर्ने घोषणा गरेको थियो। नेप्सेका तात्कालिन महाप्रवन्धक रेवतबहादुर कार्कीले यस्तो घोषणा गरेका थिए। तर, हालसम्म पनि विनियामवली नआएकै कारण हकप्रदमा निस्सा कारोबार हुन सकेको थिएन।
 
नेप्सेले तयार गरेको बिनियमावलीलाई आगामी दिनमा बस्ने नेप्से संचालक समितिमा स्वीकृतिका लागि लैजाने तयारी भइरहेको स्रोतको दावी छ। संचालक समितिबाट स्वीकृति भएसँगै अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड पठाइने स्रोतले बतायो।

बिनियमावली स्वीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमा हकप्रदको समेत निस्सा कारोबार गर्न पाउने छन्। हकप्रदको दोस्रो बजारमा निस्सा कारोबार सुरु भएपछि कारोबार औपचारिक, संगठित र पारदर्शी हुने छ।

लगानीकर्ताले हकप्रदमा लगानी गर्ने रकम अभाव भए कि त दोस्रो ब्यक्तिलाई उसले तोकेको मूल्यमा आफ्नो हक हतान्तरण गर्नुपर्छ वा रकम अभावकै कारण हकप्रद मायामार्नु पर्ने अबस्था थियो। तर यो बिनियामाबली आएसँगै लगानीकर्ता, नेप्से र सरकारले समेत यसबाट लाभ लिन सक्ने स्रोतको भनाई छ।

दोस्रो बजारमा हकप्रदको निस्सा कारोबार भएसँगै लगानीकर्ताले दोस्रो बजारमा लगानीको थप औजार पाउने छन्। लगानीकर्ताले दोस्रो बजारबाट आफ्नो हकको सहि मूल्य प्राप्त गर्ने छन्। कारोबारबाट सदस्य दलाल कम्पनीले निश्चित कमिसन प्राप्त गर्नुका साथै सरकारले समेत कम्पनीबाट आयकरसँगै पूँजीगत लाभकर समेत प्राप्त गर्ने छ।

यसरी हुन्छ निस्सा कारोबार ?
‘कम्पनीले हकप्रदको निस्सा कारोबार गराउन आफ्नो पूँजी वृद्धिका लागि मौजुदा शेयरवालाहरुको हक कायम हुनेगरी हकप्रद शेयरको निष्कासन कम्पनी ऐन, २०६३ दफा ५६ को उपदफा ११ को प्रावधान अनुसार गरी त्यसलाई कारोबार योग्य बनाउनुपर्ने प्रावधान नियमावलीमा राख्नुपर्ने’ बिनियमावलीमा उल्लेख छ।

नियमावलीले तोके अनुसार हकप्रद निष्कासन गर्नु पूर्व नेपाल धितोपत्र बोर्डको स्वकृति लिनुपर्ने छ। स्वीकृत प्राप्त हकप्रद शेयरका लागि कम्पनीले तोकेको दिन शेयरधनी किताब बन्द गरी हकप्रद शेयरको निस्सा वितरणका लागि हकवाला शेयरधनीको यकिन गर्नुपर्ने छ। शेयरधनी किताब बन्द भएको सात दिनभित्र कम्पनीले केन्द्रीय निक्षेप प्रणाली मार्फत हकवाला शेयरधनीको खातामा हकप्रद शेयर जम्मा गरिदिनुपर्ने बिनियमावलीमा उल्लेख छ।

शेयरधनीको हक अनुसारको पुरै हकप्रद शेयर खातामा आएपछि उसले कम्तिमा १० कित्ता निस्सा शेयर दोस्रो बजारमा कारोबार गर्नुपर्ने छ। कम्पनीले हकप्रदको निस्सा कारोबारका लागि नेप्सेमा सुचिकृत गर्ने छन्। सुचिकृत शेयर ३५ दिनसम्म दोस्रो बजारमा कारोबार हुने मस्यौदामा उल्लेख छ।

कारोबार बन्द भएको सात कार्य दिनभित्र सम्बन्धित कम्पनीले आवश्यक नामसारी गरी हकप्रद शेयरको अधिकारवाला शेयरधनीको सूची तयार गर्नुपर्ने छ र यस्तो सूचीमा कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

दोस्रो बजारमा लगानीकर्ताले हकप्रदको निस्सा कारोबार गर्न लगानीकर्ताले खरिद वा बिक्रीका लागि सदस्य दलाल मार्फत लिखित आदेश दिनुपर्ने छ। निस्सा कारोबारपछि निस्साको राफसाफ तथा फर्छ्यौट प्रक्रिया सिडिएससी एण्ड क्लियरिङले गर्ने छ।

यस्तो निस्सा खरिद गर्नेले शेयरमा परिणत नभएसम्म कम्पनीले घोषणा गरेको लाभांश वा बोनस शेयर दुवै पाउने छैनन्। बार्षिक साधारणसभा भाग लिन र मताधिकार प्रयोग गर्न समेत यस्तो शेयर खरिद गर्नेले पाउने छैनन्। शेयरमा परिणत नभएसम्म शेयरहोल्डरको समेत अधिकार नपाउने बिनियमावलीको मस्यौदामा उल्लेख छ।

हकप्रदको निस्सा कारोबार गर्दा ५० हजार रुपैयाँसम्मको कारोबारमा घटिमा ०.५० प्रतिशत वा २५ रुपैयाँ शुल्क लाग्ने छ। ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.४० प्रतिशत, पाँच लाख देखि १० लाख रुपैयाँसम्म ०.३५, प्रतिशत १० लाखभन्दा माथि जतिसुकै रकमको कारोबार गर्दा ०.३० प्रतिशत रकम लगानीकर्ताले कमिसन तिर्नुपर्ने छ।