टेलिकमले सामुदायिक बिद्यालयमा आइसिटी सेन्टर खोल्यो, अस्पताललाई समेत सहयोग

बिजमाण्डू
२०७५ बैशाख ११ गते १३:३६ | Apr 24, 2018

 काठमाडौं। नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत बिभिन्न अस्पताल तथा केही सामुदायिक बिद्यालयहरुलाई सहयोग गरेको छ।
चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुसार विभिन्न अस्पताललाई कम्बल तथा केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको टेलिकमले बिज्ञप्तीमार्फत जनाएको छ ।

Tata
GBIME
Nepal Life

टेलिकमले दिएको जानकारी अनुसार कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५/२५ थान कम्बल उपलब्ध गराएको छ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण गर्ने टेलिकमले जनाएको छ । यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पारिने बताइन्। उक्त अवसरमा अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गरेको बिज्ञप्तीमा उल्लेख छ।

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटी सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार टेलिकमले भूकम्प प्रभावित ११ वटा जिल्लामा आइसिटी सेन्टर स्थापना गरेको जनाएको छ। लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा आइसिटि सेन्टर अन्तिम चरणमा पुगेको पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गरिन्। आइसिटि सेन्टर शुभारम्भ कार्यक्रममा प्रबन्ध निर्देशक राजभण्डारीले इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गरिन्।

उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको जनाएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा  निःशुल्क उपलब्ध गराएको बताइएको छ ।