व्यवसायीले सामानको यथार्थ विवरण नबुझाएपछि भन्सारमा थप कडाई, बाहिरी सेटलमेन्ट निगरानीमा

बिजमाण्डू
२०७५ बैशाख ११ गते १५:३४ | Apr 24, 2018
व्यवसायीले सामानको यथार्थ विवरण नबुझाएपछि भन्सारमा थप कडाई, बाहिरी सेटलमेन्ट निगरानीमा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा कडाई गर्दै न्यून बिजकीकरण र हुन्डी कारोबारीलाई एकैपटक प्रहार सुरु गरेका छन्। भन्सारमा न्यून बिजकीकरण गरी सामान आयात गर्ने र राजस्व छल्ने व्यवसायी र विदेशमा कारोबार गर्दै उतै 'सेटलमेन्ट' गर्नेमाथि खतिवडाले एकैपटक प्रहार थालेका हुन्।
 

Tata
GBIME
Nepal Life

नेपालमा आयात गर्ने सामानको भुक्तानीका लागि बैंकिङ प्रणालीबाट कम रकम पठाउने र धेरै रकमको 'सेटलमेन्ट' विदेशमा नै हुन थालेपछि त्यसलाई नियन्त्रणका लागि पनि प्रयास थालिएको हो।

'बिलमा कम मूल्यका सामान आयात भएको देखाउने र बैंकिङ प्रणालीबाट थोरै रकम विदेश पठाउने तर नेपाल बाहिर नै धेरै कारोबार सेटल हुन थालेको शंका बढेपछि भन्सारबाटै त्यसमा कडाईको प्रयास गरिएको हो,' अर्थ मन्त्रालयसम्बद्ध स्रोतले भन्यो।

भन्सारमा बुझाइएको विवरण र बजारमा एउटै सामानको मूल्यमा ठूलो अन्तर देखिन थालेपछि अर्थ मन्त्रालयले त्यसमा कडाई थालेको हो। व्यवयासीहरुले देश बाहिर विभिन्न स्रोतबाट आफूले खरिद गर्ने सामानको भुक्तानी गर्ने तथा गैह्र बैंकिङ प्रणालीबाट पैसा पठाउने गरेको सूचनाका आधारमा खतिवडाले कडाईका लागि निर्देशन दिएका हुन्।

'कति सामानको भुक्तानी नगदबाहेक अन्य बहुमूल्य धातुहरुमार्फत पनि हुने गरेको सूचना प्राप्त भएको छ, कति व्यवसायीले बैंकिङ प्रणाली बाहिरबाट पैसा पठाउने गरेको पनि भेटिएको छ,' स्रोतले भन्यो, 'त्यसको नियन्त्रणका लागि भन्सारबाटै कडाई गर्न लागिएको हो।'

अर्थमन्त्री नियुक्त हुने बित्तिकै खतिवडाले भन्सारमा सन्दर्भ मूल्यका आधारमा मात्रै आयातित सामानको मूल्यांकन् गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै भन्सार बिन्दूहरुमा सामानको मूल्यांकन् तथा जाँचपास प्रक्रियामा कडाई गरिएको छ। नेपालस्थित आयातकर्ताहरु भने अर्थमन्त्रीको यो निर्देशनको विरोध गरिरहेका छन्।

भन्सारमा कडाई गर्दा व्यवसायीले कम सामान आयात गर्ने र त्यसको प्रभाव राजस्व संकलनमा पनि पर्ने अनुमान गरिएको छ। तर, अर्थमन्त्री खतिवडा भने त्यसबाट पछि हट्ने पक्षमा भने छैनन्।

'आयातमा आधारित राजश्वको योगदान धेरै छ, आयात कम हुँदा राजश्व संकलन पनि स्वत: प्रभावित हुने भए पनि अर्थमन्त्रीज्यू कडाईको निर्णयबाट पछि हट्ने मनस्थितीमा हुनुहुन्न,' मन्त्रालयका एक सहसचिवले भने।
 
यसअघि अर्थमन्त्री खतिवडाले भन्सारमा मूल्यांकन् गर्दा व्यवसायीले विभिन्न ब्राण्डका ब्राण्डेड सामानको नक्कली उत्पादन आयात गर्दा पनि सक्कलीसरह नै मूल्यांकन गरी राजश्व तिराउन निर्देशन दिइसकेका छन्। व्यवसायीले सस्तो दरमा नक्कली सामान आयात गर्ने तर बजारमा भने सक्कलीसरह बेच्ने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न भनेका हुन्।
 
भन्सारमा कडाई गरिएको भन्दै व्यवसयीले भन्सारको यार्डमा सामान थुपार्न थालेका छन्। यस्तै भारतका विभिन्न शहरमा सामान बोकेका कन्टेनरको लाइन लागेको भन्दै पुरानै व्यवस्थाअनुसार सामान आयातको व्यवस्था मिलाउन अर्थ मन्त्रालय तथा राजस्व प्रशासनसमक्ष दबाब दिइरहेका छन्।

आयात कम भएका कारण राजस्वको लक्ष्य नपुग्ने अवस्था आए पनि त्यसलाई कमजोरीका रुपमा नलिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आयात कम हुँदा विदेशी मुद्रा सञ्चितीमा त्यसले सकारात्मक प्रभाव पार्ने भएकाले आत्तिन नहुने उनको भनाइ छ।

'कानुनअनुसारको कारबाही अघि बढाएर राजस्वको लक्ष्य भेट्टाउनेतर्फ तपाईंहरुको कामकारबाही केन्द्रित हुनुपर्छ,' खतिवडाले कर्मचारीलाई भनेका छन्, 'आयात कम भयो, त्यसले लक्ष्य पुरा भएन भनेर तपाईंहरु डराएर हुन्न।'

चालु आर्थिक वर्षमा सरकारले राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन। चैतसम्म आइपुग्दा भन्सार र आन्तरिक राजस्वतर्फ दुवै स्रोतमा लक्ष्यअनुसारको असुली भएको छैन। गैह्रकर राजस्व भने लक्ष्यभन्दा धेरै असुली भइरहेको छ।

अर्थमन्त्री खतिवडाले व्यवसायीलाई पनि 'फेयर ट्रेड'का लागि व्यवसायीलाई पनि आग्रह गरिरहेका छन्। कर कार्यालयले कानुनको परिपालना गराउने भन्दै खतिवडाले व्यवसायीलाई पनि मर्यादित व्यवसायका लागि आग्रह गर्ने गरेका छन्।