तस्करको ताकमा सुन नै किन? नाफा बढी कि तस्करी सजिलो? अवैध सुन राज्यले के गर्छ?

सविन ढकाल/बिजमाण्डू
२०७५ बैशाख ११ गते १६:५२ | Apr 24, 2018

काठमाडौं। गृहमन्त्री भएलगत्तै निरिह शैलीमा रामबहादुर थापा बादलले एक सार्वजनिक कार्यक्रममा भनेका थिए – विमानस्थलबाट खुलेयाम टनका टन सुन तस्करी भइरहेको छ। यसो भनिरहँदा पदीय मर्यादामा रहेको उनले बिर्सेका थिए अथवा तस्कर तह लगाउन नसक्ने स्वीकारोक्ति। 

Tata
GBIME
Nepal Life

उनी मन्त्री हुँदा ३३ किलो सुन कान्ड चर्चित थियो। विमानस्थलबाट बाहिरिए पनि सुन तस्करीको भेद पत्ता लगाउने प्रहरी आफै कुहिरोको काग बनिरहेको थियो। धेरैको ध्यान खिचिरहेको यस काण्डमा तस्करदेखि, हत्यारा हुँदै प्रहरीकै उच्चपदस्थ अधिकारीसमेत तानिएका छन्। भलै सुन कहाँ छ पत्ता लागिसकेको छैन।

३३ केजी सुन प्रकरणलाई लिएर अहिले पूर्व डिआइजीदेखि सुन व्यापारीसम्म छानविनको वृत्ताकारभित्र समेटिएका छन्। सुनका पटके तस्कर त पटकपटक समातिएका छन्।

धेरैजसो विमानस्थल हुँदै दुवईबाट नेपालमा सुन भित्रिने गरेको जानकारहरु बताउँछन्। स्थलमार्ग हुँदै पनि नेपालमा अवैध सुन भित्रिने गरेको छ। तिब्बत जोड्ने तातोपानी नाका भूकम्पपछि बन्द भएका कारण रसुवा नाका तस्करीको रुटका रुपमा विकास भइसकेको छ।

चीनको तिब्बत हुँदै तस्करले नेपाल भित्र्याएको सुन भारत पुर्यातउने गरेको देखिन्छ। तस्करको रुटबाट भित्रेकोमध्ये केही सुन यहीँकै व्यवसायीले खपतत गर्छन्। सुन तस्करीमा यहाँका व्यवसायीको समेत नसा जोडिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सोझो बाटो नभइ तस्करीको रुटबाट घुमाउरो तरिकाले किन भित्रन्छ त सुन?

उत्तर धेरै कठिन छैन। अन्तर्राष्ट्रिय बजारको सुनको मूल्यसँग दाँज्ने हो भने ५० ग्राम सुनामा नै २० देखि २५ हजार रुपैयाँको मार्जिन छ, तस्करीको बाटोको लगत कटाउँदा पनि। १ केजीमा कम्तिमा ४ लाख रुपैयाँदेखि ५ लाखसम्म फाइदा हुन्छ। त्यसैले सुन कारोबार गर्ने व्यवसायी पनि अपराधको सञ्जालका हिस्सा बन्न थालेका छन्।

सरकारले सुनको आयात निरुत्साहित गर्न भन्सार दर बढाएको छ। विदेशी मुद्रामा तिर्नुपर्ने महँगो धातुले वित्तीय सन्तुलनमा असर पार्ने भएकाले पनि सुन आयातमाथि सरकारको नियन्त्रण बढी हुने गर्छ। १ ग्राम सुनमा ४ सय २० रुपैयाँ भन्सार तोकिएको छ। ५० ग्राम सुन ल्याउँदा भन्सारमात्रै तिर्ने हो भने २१ हजार रुपैयाँ त सोझै सरकारलाई बुझाउनुपर्छ। 

सरकारले विदेशबाट फर्किँदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिँदा दैनिक ५ देखि ८ किलोसम्म सुन बिनाभन्सार नेपाल भित्रिने गरेको थियो। नेपाल फर्किन लागेका व्यक्तिलाई सुन बोकाएर पठाउने र भन्सार छल्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो। विदेशबाट प्रति व्यक्ति ५० ग्रामका दरले सुन पठाउने र विमानस्थलमा नै तस्करलाई बुझाउने गरेको प्रहरीले पटक-पटक फेला पारिसकेको छ।   

सुन तस्करीको ग्राफ उकालिएकै कारण हो केही समय यता नेपाल प्रहरीले तस्करीको सुन बरामद गर्नेक्रम पनि बढेको। नेपाल प्रहरीले २०७१ सालदेखि अहिलेसम्म देशभरबाट अवैधरुपमा भित्र्याएको ५ सय ३ केजी सुन बरामद गरिसकेको छ।

अवैधरुपमा भित्र्याएको सुन चाहिँ राज्यले के गर्छ?

धेरै मनमा प्रश्न उठेको हुन सक्छ। प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँछ।

राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्छ। प्रहरीले सुन समातिसके पछि पक्राउ परेका अभियुक्तलाई राजश्व अनुसन्धान विभागलाई बुझाउँछ। अभियुक्तलाई म्याद थप गरी मुद्दा चलाउँछ।

विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यस दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्याङ्कन हुन्छ। मूल्याङ्कन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा रकम भुक्तानी गर्छ र सुन आफ्नो गोदाममा थन्क्याउँछ।

यदि, राज्यले अवैध रुपमा भित्रिएको सुनचाँदीको गहना समातेमा भने राष्ट्र बैंकले त्यसलाई सोझै मूल्य तिर्दैन। गहनलाई शुद्धिरण गरिन्छ। रसायन हटाइन्छ। सुन शुद्ध भएपछि त्यसको मूल्याङ्कन गरेर राजश्व खातामा पैसा जम्मा गरिदिन्छ।

सुनको शुद्धता राष्ट्र बैंकको टक्सार विभागमा गरिन्छ। राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउँछ। जस्तो सरकारले पदक तथा पुरस्कार बनाउँदा, विशेष उपलक्ष्यहरुमा सुनको सिक्का निर्माण गर्दा वा अन्य प्रयोजनका लागि सुन प्रयोग गरिन्छ।

कहिलेकाहीँ आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिन्छ। जस्तो केही वर्षअघि नेपालको शोधनान्तर घाटा उच्च भएपछि सुन आयातमा प्रतिबन्ध लगाइएको थियो।

त्यो बेला आन्तरिक बजारमा सुनको हाहाकार भयो। त्यस बेला राष्ट्र बैंकले सुनको गहना बनाउनेलाई निश्चित परिमाणमा सुन बिक्री गरेको थियो।