इन्भेष्टमेन्ट बैंकको सबैभन्दा उच्च नाफा, चैतमै २ अर्ब ८३ करोड रुपैयाँ कमायो, स्प्रेड दर घट्यो

बिजमाण्डू
२०७५ बैशाख १२ गते १०:३० | Apr 25, 2018
इन्भेष्टमेन्ट बैंकको सबैभन्दा उच्च नाफा, चैतमै २ अर्ब ८३ करोड रुपैयाँ कमायो, स्प्रेड दर घट्यो

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले चालु बर्षको चैतमै १९ प्रतिशतले नाफा बढाएर २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ। गत बर्षको चैतमा २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको थियो। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेहरुमध्ये नेपाल इन्भेष्टमेन्टले सार्वाधिक नाफा गरेको हो।
 
बैंकले ९ महिनाको अवधिमा ४ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी तीन अर्ब ४७ करोड रुपैयाँ थियो। स्प्रेड दर घटाए पनि बैंकले नाफा बढाएको छ। गत बर्ष ब्याजको स्प्रेड दर ४.८८ प्रतिशत थियो भने यस वर्ष ४.२८ प्रतिशतमा झरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ९ महिनामा एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्ष एक अर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब एक अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा अझ बढि १० अर्ब ९१ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १३.७८ प्रतिशतबाट घटेर १३.२५ प्रतिशतमा झरेको छ। पूँजी र जगेडा बढाए अनुसार निक्षेप र कर्जा लगानी पनि ह्वात्तै बढाएको बैंकको पूँजी कोष स्थिर जस्तै देखिन्छ।

खराब कर्जा भने ०.६४ प्रतिशतबाट बढेर ०.७६ प्रतिशत पुगेको छ। चर्को ब्याजदरको प्रभावले बैंकको आधार व्याजदर ६.८९ प्रतिशतबाट बढेर ९.१२ प्रतिशत पुगेको छ। पूँजी बढाएसँगै विजनेस पनि बढाउन सफल बैंकको प्रति शेयर आम्दानी एक रुपैयाँ मात्रै घटेर ३५ रुपैयाँ झरेको छ। बैंकले एक वर्षमा वासलातको आकार १२ प्रतिशतले बढाएर एक खर्ब ७१ अर्ब रुपैयाँ पुर्याएको छ।