काठमाडौं। अर्थ मन्त्री डा. युवराज खतिवडाले सबै किसिमका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको औपचारिक शुरुवात गरेका छन्। भुक्तानीतर्फ २६ जिल्लामा थालनी भईसकेको प्रणाली बुधबार राजस्व संकलनतर्फ करदाता सेवा केन्द्र ठमेलबाट प्रारम्भ गरिएको हो।
'राम्रो कामको शुभारम्भ भएको छ। करदाताले कति सहज रूपमा प्रयोग गर्छन् त्यसमा बिचार पुर्याउनु पर्छ,' अर्थमन्त्री डा. खतिवडाले भने, 'केही अप्ठ्यारो छ भने सरल बनाउनु पर्छ। छिट्टै सबै राजस्व तिर्न सकिने बनाउछौ।'
उनले यसका लागि छुट्टै कानुन बनाउनु पर्ने बताउँदै अहिले पनि इलेक्ट्रोनिक सिग्नेचर प्रमाणीकरणमा समस्या रहेको बताए। 'विद्युतीय माध्यमबाट ठेक्का लगाउँदा भौतिक मन्त्रालयको खर्च एक तिहाइ घटेको छ,' उनले भने, 'राजस्व तिर्न जाँदा सहज भएन भन्ने समस्या अब हुँदैन।'
उनले राजश्व बुझाउन दिउँसो भ्याइएन भने पनि राति फुर्सदमा तिर्न मिल्ने बताउँदै प्रविधिमा आधारित भएकाले केही जोखिम हुनसक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्दै जाने बताए।
राजश्व सचिव शिशिर ढुङ्गानाले राजस्व प्रशासनका लागि यो एउटा महत्वपूर्ण डिपार्चर भएको बताए। उनले २०७५ सालभित्र देशभरका सम्पूर्ण कार्यालयमा अनलाइन पेमेन्ट सिस्टम विस्तार गरिसक्ने बताए। उनले तत्काललाई १ लाखभन्दा कम मात्रै बुझाउन सकिने बताए।