३३ किलो सुनकाण्डका मोस्ट वान्टेड ‘गोरे’को नाममा रेडकर्नर नोटिस, अब १९० देशका प्रहरीले खोज्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ बैशाख १२ गते ०८:०६ | Apr 25, 2018
विराटनगर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा बाहिरिएको ३३ केजी सुन र योसँगै जोडेर भएका तीन जनाको मृत्यु प्रकरणमा मुख्य व्यक्ति भनी प्रहरीले बताउने गरेका गोरे वा रुपेश पनि भनिने चूडामणि उप्रेतिलाई खोज्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ।


 
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ घर भएका उप्रेतिलाई अब १ सय ९० मुलुकका प्रहरीले खोजी गर्ने छन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले अन्तर्राष्ट्रिय रुपमा उप्रेतिको खोजी भइरहेको बताए। 
 
एसपी बिसीले भने, 'गोरे पक्राउपछि यस घटनाका मुख्य नाइके र योजनाकार को-को हुन् भन्ने भेद पनि खुल्नेछ। साथै तीन जनाको हत्या किन गरियो भन्ने रहस्य पनि उद्घाटित हुनेछ।’
 
पूर्वोत्तर मोरङमा काङ्ग्रेस र एमालेका स्थानीय नेतासित सुमधुर सम्बन्ध बनाएका र निरन्तर तिनलाई बारम्बार सहयोग समेत पुर्‍याउँदै आएका गोरे हाल भारतमा लुकेर बसेको शंका प्रहरीले गरेको छ। उनकी श्रीमती भने दुबईमा छिन्।
 
सुन काण्डमै अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र गोरे नातेदार भएको पत्ता लागेको छ।
 
गत फागुन १८ गते रहस्यमय ढङ्गले मारिएका उर्लाबारी–७ का ३० वर्षीय सुन व्यापारी सनम शाक्यको शव विराटनगरको पोखरियामा बरामद भएपछि ३३ किलो सुन प्रकरण सतहमा आएको थियो। 
 
को हुन् गोरे ?
उर्लाबारी नगरपालिका वडा नं. ७ पशुपति टोल स्थायी घर भएका गोरे स्थानीय तहका फुटबल खेलाडीसमेत हुन्। उनी मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा उनी पनि एक मुख्य खेलाडी थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले शङ्का गरेका थिएनन्।
 
रूपेशका बाबु पूर्व प्रहरी र असईबाट सेवामुक्त भएका व्यक्ति हुन्। भारतीय आर्मीमा जागिरे जीवनबाट आफ्नो कामकाज सुरु गरेका गोरे त्यहाँ धेरै समय टिक्न सकेनन्। आर्मीमा लागेको एक वर्षपछि नै उनी जागिरबाट भागे र खाडी राष्ट्र कुवेत पुगे। कुवेतमा आबुधाबी प्रहरीमा पनि जागिर खाए तर त्यहाँ पनि धेरै टिक्न सकेनन् र ‘निजी काम’ गर्छु भन्दै हिँड्न थाले।
 
यही ‘निजी काम’पछि उनले एकाएक आफ्नो जीवनस्तर उकासेका हुन्। यसपछि उनी कुनै सम्भ्रान्त झैँ देखिन थालेका थिए। 

सुन तस्करीको धन्दाको सुरुवात दुबईबाट
पाँच वर्ष दुबईमा रहँदा रूपेशले त्यहीँबाट सुन पठाउने र हुन्डी कारोबार गर्ने अवैध धन्दालाई माथि पुराइसकेका थिए। त्यसपछि नेपाल फर्किएका उनी दुबई, सिङ्गापुर लगायतका मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँमा आपूर्ति गर्ने कार्यमा सक्रिय भए।
 
‘पहिले दुबईमै बसेर सुन पठाउने काम गर्ने गरेको पाइयो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘पछि चूडामणि आफैँ नेपाल फर्किएर कारोबारी भएर सुन तस्करी गर्न थालेको पत्ता लाग्यो।’

माछा मार्ने गजबको सोख
‘उनी पूर्वमा रहँदा स्थानीय रिक्सा चालकलाई लिएर विभिन्न स्थानमा माछा मार्न लिएर जान्थे’, उर्लाबारीका एक स्थानीय युवकले बताए, ‘रिक्सा चालकलाई दैनिक एक हजार रुपैयाँ दिएर माछा मार्न लगाउँथे। इलाम, झापा, मोरङका विभिन्न खोलामा उनले माछा मार्न लगाएका छन्। एक किलो माछा मार्दा पनि एक हजार, माछै नमार्दा पनि एक हजार दिन्थे रे।’
 
ती युवाको भनाइ थियो, ‘हेर्दा विदेशीजस्तै देखिन्थे। रिसाहा स्वभावका थिए। सँगैको साथीसित चित्त बुझेन भने पिट्न पनि बेर लाउँदैनथे।’
 ‘गोजीमा एक सय रुपैयाँभन्दा कहिल्यै हुँदैनथ्यो’, उर्लाबारीका एक स्थानीय युवकले भने, ‘कसैलाई रकम दिनुपर्यो भने नजिकका साथीभाइसित सापटी लिएको बहाना गरेर माग्थे तर भोलिपल्टै फर्काइहाल्थे।’
 
२३ अभियुक्तमाथि तीन-तीन मुद्दाको भारी  
अवैध सुन प्रकरणमा पक्राउ परेका २३ जनालाई तीन प्रकारको अभियोग लगाउँदै मोरङ  जिल्ला अदालतमा अन्तिम म्याद थप गराएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए। प्रहरीले पक्राउ परेका पुर्व डिआईजी निरौला र राप्रपा एकीकृतका नेता भुजुङ गुरुङसहित थाई र नेपाल एयरलायन्सका कर्मचारी, अन्य सुन व्यापारी, भरिया र सवारी चालक गरी २३ जनालाई मानव अपहरण, कर्तव्य ज्यान र सङ्गठित अपराधमा मुद्दा चलाउने जानकारी दिएको छ। यसबाहेक उप्रेती लगायतका केही अभियुक्तलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि कारबाही गर्न सकिने प्रहरीको निष्कर्ष छ। 
 
मोरङ प्रहरीले १९ वैशाखमा सम्पूर्ण अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अभियोग–पत्र मोरङ जिल्ला अदालतमा दर्ता गराउनुपर्ने छ। 
 
घटनाको छानबिन सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले पनि गरिरहेको छ। चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो। टोलीको प्रतिवेदनको आधारमा प्रहरीले मुद्दाको अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गर्न सरकारी वकीललाई बुझाउनु पर्छ।  

यी हुन् पक्राउ पर्ने
घटनामा संलग्न रहेको आशङ्कामा हालसम्म पक्राउ पर्नेमा पूर्व डिआइजी निरौलासहित बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र नरेन्द्र कार्की छन्। 
 
त्यस्तै लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान उर्फ चाचाजी वा एमके, राजेन्द्र थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डङ्गोल, तुलाराम थारू, राजनकुमार र माधव घिमिरे भन्ने मदनप्रसाद घिमिरेलाई पनि पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यी हुन् प्रहरी खोजीका
त्यस्तै मुख्य आरोपी उप्रेतीसहित नर्वदा खरेल (निरु), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँ, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दाबा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल उप्रेती, भीमकुमारी खरेल र सुरेन्द्र गौतम अझै फरार रहेको प्रहरीको दाबी छ।

Tata
GBIME
Nepal Life