सरकारको निर्देशनपछि धमाधम यातायात कम्पनी दर्ता गर्दै व्यवसायी, यी हुन् नयाँ दर्ता भएका कम्पनी

बिजमाण्डू
२०७५ बैशाख १२ गते ०८:३३ | Apr 25, 2018
काठमाडौं। सिन्डिकेटको पक्षमा केही यातायात व्यवसायीले आन्दोलन गरिरहँदा  केही यातायात व्यवसायीहरु भने कम्पनी दर्ता गर्न धमाधम कम्पनी रजिष्टारको कार्यालय जान थालेका छन्। कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार राजेन्द्र थापाका अनुसार पछिल्लो समय यातायात व्यवसायीहरु कम्पनी दर्ता गर्न आउने क्रम बढेको छ। 


 
कम्पनी रजिष्टार कार्यालयको सोमबारसम्मको तथ्याङक अनुसार यातायात व्यवस्था विभागले चैत १८ गते निर्देशिका जारी गरेपछि १५ वटा यातायात कम्पनी दर्ता भएका छन्।
 
त्यसैगरी १६ वटा दर्ताको प्रक्रियामा रहेका छन् भने २६ वटाले कार्यालयम कम्पनी दर्ता गरि पाउँ भनि निवेदन दिएका छन्। यसअघि ६ सय ५२ वटा यातायात कम्पनी दर्ता भैसकेका कम्पनी रजिष्टार कार्यालयले जनाएको छ। 
 
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट वा एकाधिकारलार्इ निषेध गरेको छ। सो ऐनको दफा ९३ ले यातायात व्यवस्था विभागमा ‘सेवा पञ्जीकृत’ नगरी सवारी धनी वा व्यवस्थापकले सार्वजनिक सवारी यातायात सञ्चालनमा प्रयोग गर्न पाइँदैन भनेको छ। 
 
ऐन बनेपनि कार्यान्वयनमा आउन सकेको थिएन। पटक पटक सर्वोच्च अदालतले सरकारको नाममा सिन्डिकेट हटाउ भनि  परमादेश दिएको र विभागको प्रयास पनि असफल बनेको थियो। यातायात व्यवसायीहरुले समितिमार्फत सार्वजनिक सवारीसाधनहरु सञ्चालन गरिरहेका थिए। समितिको नामबाट व्यसायीले सिन्डिकेटको जरो गाडेर बसेका थिए। 
 
चैत १८ गते यातायात व्यवस्थापन कार्यविधी निर्देशिका जारी गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गर्यो। उक्त निर्देशिकाले यातायात समितिलार्इ कम्पनी मोडलमा लैजाने र सेवा पञ्जीकरण गरे मात्रै रुट इजाजत र नवीकरण गर्ने निर्णय गर्यो।कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट पञ्जीकृत हुनुपर्ने व्यवस्था लागु भयो। 
 
अघिल्लो साता बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको यातायात संस्था र समितिहरु दर्ता र नवीकरण असार मसान्तबाट नगर्ने निर्णय गर्यो।
 
सरकारले सिन्डिकेट हटाउन खोजेपछि सिन्डिकेटका नाममा फाइदा लिर्इरहेका व्यवसायीहरुले हड्ताल गर्ने घोषणा गरे। आम मानिसको दैनिक जीवन प्रत्यक्ष प्रभाव पार्ने गरी ट्याङकर व्यवसायीहरुले पेट्रोलियम पदार्थ ढुवानी रोक्ने र ट्रकहरु व्यवसायीहरुले सामान ढुवानी रोक्ने निर्णय गरे।
 
व्यवसायीको यस्तो चेतावनी पछि पुन मंगलबार बसेको मन्त्रीपरिषदको वैठकले नागरिकको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द  हड्ताल गर्न नपाउने गरि राजपत्रमा सुचना प्रकाशन गर्ने निर्णय गर्यो। यसरी राजपत्रमा सुचना प्रकाशन गरेपछि निजी क्षेत्रको सवारीसाधन सरकारले नियन्त्रणमा लिएर सञ्चालन गर्न सक्छ।
 
यी हुन निर्देशिका आएपछि दर्ता भएका यातायात कम्पनी:
मध्यविन्दु यातायात, नमस्ते राजहरे रिक्सा तथा अटो यातायात,सृष्टि यातायात,पैयुखोला यातायात,हामी सबैको यातायात,स्वयम्भु मन्जु श्री यातायात,कन्कार्इ यातायात,रिद्धिसिद्धि यातायात,मायादेवी यातायात,रेसुगा रिक्सा तथा टेम्पो यातायात,फुलवारी यातयात,शुभविहानी यातायात,माण्डवी यातायात,तिनाउ ट्याम्पो यातायात,चौविसे कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका छन्।
 
कम्पनी दर्ताका लागि निवेदन दिने संस्थाहरुमा काभ्रे बस सेवा यातायात, साँखु यातायात लगायतका रहेको रजिष्टार कार्यालयले जानकारी दिएको छ।
 
कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार थापाका अनुसार अहिले दैनिक रुपमा यातायात व्यवसायीहरु कम्पनी दर्ता गर्न आइरहेका छन् भने बुझ्न आउनेको सङ्ख्या बढ्दो छ। 
 
यातायात व्यवसायीहरुले सिन्डिकेटको पक्षमा आन्दोलनमा लागिरहँदा  कम्पनीमा जाने व्यवसायीको सङ्ख्या बढिरहेका कारण सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेटको जरो उखेलिने निश्चित भएको छ। 
 

Tata
GBIME
Nepal Life