मदिरामा नक्कली स्टिकर प्रकरण: छानबिन अन्तिम चरणमा, पुष्टी भएमा उद्योग सदाका लागि बन्द

बिजमाण्डू
२०७५ बैशाख १६ गते १४:१२ | Apr 29, 2018

काठमाडौं। सरकारले मदिराको बोतलमा नक्कली अन्तशुल्क स्टिकर प्रयोग गरेको पुष्टी भएमा उद्योगनै बन्द गर्ने भएको छ।

Vigo
GBIME
Tata

आन्तरिक राजस्व विभागले मदिरामा नक्कली अन्तशुल्कको स्टिकरको छानविन गरिरहेको छ।तराईका विभिन्न उद्योगबाट उत्पादित मदिरामा नक्कली अन्तशुल्क स्टिकर प्रयोग त्यस्ता मदिरा उत्पादन गर्ने उद्योग, थोक व्यवसायी र खुद्रा व्यवसायीसम्मलाई कारबाहीको तयारी गरिएको हो। 'जुन क्षेत्रमा नक्कली स्टिकर भेटिएको हो त्यसै क्षेत्रका करदाता सेवा कार्यालय र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान अन्तिम चरणमा पुर्यातएका छन्,' आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले भने, 'हामीलाई जानकारी भएसम्म अनुसन्धान अन्तिम चरणमा पुगेको छ।' विभागका अनुसार नक्कली स्टिकर प्रयोग गर्ने उद्योगीलाई जेल सजाय र नगद जरिवाना दुवै हुनेछ।

'अहिले केही थोक बिक्रेता र केही उद्योगमा सिलबन्दी गरिएको छ,' उनले भने, 'संलग्नता हेरेर उद्योगसम्मलाई नै कारबाही गर्ने अधिकार अन्तशुल्क ऐनले दिएको छ। त्यसैअनुसार कार्यालयहरु अघि बढ्छन्।'नक्कली स्टिकर प्रयोग भएका मदिरा आन्तरिक राजस्व कार्यालयले जफत गरिसकेका छन्। त्यस्ता स्टिकर आपूर्ति गर्नेहरुका विषयमा पनि विभागले अनुसन्धान गर्ने तयारी थालेको छ। 'कमसल गुणस्तरका मदिरा उत्पादन गर्नेहरुले यस किसिमका नक्कली स्टिकर प्रयोग गरेका छन्, उनीहरुलाई स्टिकर उपलब्ध गराउनेहरुकै विषयमा अनुसन्धान गर्नु आवश्यक देखिएको छ,' विभागका एक अधिकारीले भने, 'सम्बन्धित कार्यालयहरुले त्यो विषयमा पनि अनुसन्धान अघि बढाउने छन्।'

युवराज खतिवडा अर्थमन्त्री भए लगत्तै उनले नक्कली अन्तशुल्क स्टिकरको अनुसन्धानमा कडाइ गर्न निर्देशन दिएका थिए। आन्तरिक राजस्व कार्यालयहरु वीरगञ्ज, बुटवल र झापाले नक्कली स्टिकर प्रयोग गर्ने त्यस्ता उद्योगमाथि शिलबन्दी गरेको छ। विभागले नक्कली स्टिकर प्रयोग गरेको आरोपमा धनुषाको सांग्रिला डिस्टिलरी, नारायण डिस्टिलरी, सर्लाहीको अभिनव डिस्टिलरी र झापाको भोलेबाबा लिकर्स र विनर्स लिकर्समा शिलबन्दी गरेको थियो।