नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो, २०० रुपैयाँ हाराहारी आउने, सरकारी हिस्सा घट्ने

बिजमाण्डू
२०७५ बैशाख १८ गते ०९:३४ | May 1, 2018
नेपाल बैंकको एफपिओ निस्कासन प्रकृया अगाडि बढ्यो, २०० रुपैयाँ हाराहारी आउने, सरकारी हिस्सा घट्ने
काठमाडौं। नेपाल बैंकले निष्काशन गर्न लागेको एफपिओको बिक्री प्रवन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ। साधारणसभाबाट एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गर्ने अनुमति पाएसँगै बैंकले प्रकृया अगाडि बढाएको हो। 
 
थप प्रमियम मूल्य अहिलेसम्म नतोकेको बैंकले यस विषयमा धितोपत्र बोर्डसँग आन्तिरक गृहकार्य गरिरहेको छ।


 
बोर्डले थप प्रिमियम सहितको मूल्यमा स्वीकृति दिएपछि प्रकृया अगाडि बढ्ने छ। बिक्री प्रबन्धक नियुक्ति समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।
 
बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेकोमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ।
 
बैंकले प्रति कित्ता दुई सय रुपैयाँसम्म शेयर बिक्री गर्न सकिने अनुमान गरेको छ। अहिले बजारमा बैंकको शेयर प्रति कत्ता ३५२ रुपैयाँमा खरीद बिक्री भइरहेको छ। अहिले बैंकमा सरकारको ६२ प्रतिशत र बाँकीको ३८ प्रतिशत शेयर हिस्सा छ।
 
एफपिओ निस्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ। ३८ प्रतिशत हिस्सा बोकेर बसेकाहरुको स्वामित्व ३१ प्रतिशतमा झर्ने छ। एफपिओपछि भित्रिने नयाँ लगानीकर्ताको हिस्सा १७ प्रतिशत हुने छ।
 
एफपिओ निस्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ।

Tata
GBIME
Nepal Life