आन्तरिक राजश्व कार्यालयले भ्याटको सुक्ष्म अध्ययन थाल्यो, बिल नकाट्नेलाई कारवाही

रासस
२०७५ बैशाख २१ गते १६:४६ | May 4, 2018
चितवन। आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ। करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । 
 
मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताए। कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ ८९ करोड ३६ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकामा ८० करोड एक लाख ८५ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो। 
 
पङ्गेनीले मूल्य अभिवृद्धि बिल नकाट्ने, कम काट्ने र कुनै पनि किसिमको करको दायरामा नआउनेसमेत भेटिएपछि तीव्र अनुगमन गरिएको बताए। अनुगमनका क्रममा भ्याट बिल नकाटेको पाइएमा नियमानुसार कारवाही गरिने उनले जानकारी दिए।  
 
कार्यालयका कर्मचारीहरुले सुराक सञ्जालसमेत प्रयोग गरेर अनुगमन गरिरहेका छन्। कतिपय कम्पनी तथा प्रतिष्ठानमा आशंका देखिएकामा पूर्ण लेखापरीक्षण गरी कर कायम गर्ने काम पनि कार्यालयले गरिरहेको छ। 
 
कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा १२ महिनामा ५० लाख रुपैयाँसम्म कारोवार हुँदा दर्ता हुन नपर्ने व्यवस्था छ। साथै मूल्य अभिवृद्धि लाग्ने वस्तु तथा सेवा मिश्रित कारोवार र सेवाको हकमा २० लाख रुपैयाँ सम्मको कारोवार हुनेले दर्ता गर्नु नपर्ने व्यवस्था भएको उनले बताए।  एक पटकमा १० हजार रुपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्दा पनि दर्ता गर्नुपर्ने व्यवस्था रहेको अधिकृत पौडेलले  जानकारी दिए। 
 
कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ४५ करोड ६७ लाख राजश्व संकलन गरेको छ। जुन लक्ष्यको १०७ प्रतिशत हुन आउँछ। यस आवमा कार्यालयले १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ।  गतवर्ष १६ अर्ब ८८ करोड २० लाख राजश्व संकलन गरेको थियो। 
 
कार्यालयले चितवन र नवलपरासी पश्चिम जिल्ला हेर्दै आएको छ। यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजश्व अन्तःशुल्कबाट उठ्ने गरेको कार्यालयका प्रमुख पङ्गेनीले बताए। हाल कार्यालयको मातहतमा करीब ८० हजार करदाता  छन्।

Tata
GBIME
Nepal Life