नेपालको बाणिज्य बैंकको पहिलो महिला सिइओ शिवादेवी काफ्लेकी अनुपमा खुँजेली?

बिजमाण्डू
२०७५ बैशाख २३ गते १०:०३ | May 6, 2018
नेपालको बाणिज्य बैंकको पहिलो महिला सिइओ शिवादेवी काफ्लेकी अनुपमा खुँजेली?


Tata
GBIME
Nepal Life

सुविधाको हिसाबले बैंकिङ क्षेत्रको जागिरलाई आकर्षक रोजगारी अवसरको रुपमा लिइन्छ। त्यसमा पनि बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा पुग्ने धेरैको सपना हुन्छ तर त्यो अवसर धेरै कमले प्राप्त गर्दछन्। हाम्रो जस्तो पुरुषप्रधान समाजमा बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा धेरै पुरुषहरु स्वभाविक रुपमा पुगेका छन्। 

 
महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृतमा पुग्न त्यति सहज छैन। भर्खरै मेगा बैंक नेपालको संचालक समितिले बैशाख २ गतेबाट लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनुपमा खुँजेलीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। 
 
उनी नियुक्त भएसँगै सञ्चार माध्यमहरुले नेपालको वाणिज्य बैंकमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुँजेली भनेर निरन्तर रुपमा समाचार संप्रेषण गरिरहे। सञ्चार माध्यमहरुले अनुपमा खुँजेलीलाई बैंकको पहिलो महिला सिईओ बताईरहँदा विगतको वास्तविकतालाई भने भुलेको देखिन्छ। खुँजेली निजी क्षेत्रको बाणिज्य बैंककी पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन्, न कि बाणिज्य बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत।
 
पूर्ण सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा अर्थ मन्त्रालयले श्रीमती शिवादेवी काफ्लेलाई बिगतमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो। नेपाल राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक पदबाट अवकाश भएपछि श्रीमती शिवादेवी काफ्लेलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिले व्यवसायिक विशेषज्ञ संचालकको पदमा मिति २०६७ बैशाख ८ गते नियुक्ति दिएको थियो। त्यसताका राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेकोले अर्थ मन्त्रालयले मिति २०६८ श्रावण २५ गते श्रीमती काफ्लेलाई प्रमुख कार्यकारी अधिकृतको समेत कामकाज गर्ने पत्र दियो। 
 
श्रीमती काफ्लेले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नुभयो। राष्ट्रिय वाणिज्य बैंकमा २०६८ पुस २१ गते खुला प्रतिष्पर्धाबाट छनौट भई कृष्णप्रसाद शर्मा बैंकको सिईओको रुपमा नियुक्ती भए। यसरी चार महिनाभन्दा बढी समय काफ्लेले राष्ट्रिय वाणिज्य बैंकको सिईओ भएकी थिइन्। यसको तथ्यगत प्रमाण राष्ट्रिय वाणिज्य बैंकमा भेट्न सकिन्छ।
 
सञ्चार माध्यमहरुले अनुपमा खुँजेलीलाई निजी क्षेत्रको वाणिज्य बैंकहरुमध्येबाट मात्र पहिलो महिला सिईओको रुपमा बुझ्न सकेनन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अन्तर्गत इजाजातपत्र प्राप्त गरी सञ्चालित सम्पूर्ण वाणिज्य बैंकहरुको सिइओको रुपमा खुँजेलीलाई चित्रण गरिरहँदा इतिहास त मर्छ नै काफ्लेमाथि अन्याय पनि हुन जान्छ। 
 
जुनबेला काफ्ले प्रमुख कार्यकारी अधिकृत बनेकी थिइन्, त्यसबेलाका सञ्चार माध्यमहरुले श्रीमती काफ्लेलाई नेपालको वाणिज्य बैंकको इतिहासमा पहिलो महिला सिईओ भनेर प्रचार गरेका थिए। तर यति चाँडै इतिहास बिर्सिएर खुँजेलीलाई पुनः नेपालको वाणिज्य बैंकको इतिहासमा पहिलो महिला सिईओको रुपमा व्यक्त गर्नु कतिको जायज हो?  
 
यो लेख कसैको जीवनमा फाइदा वा बेफाइदा पुर्याउने मनसायले लेखिएको होइन, सरोकारवाला, नागरिक समाज, सञ्चार माध्यम तथा आम नागरिकलाई वास्तविकताको बारेमा  जानकारी दिने प्रयास मात्र गरिएको हो। हुन त बैंकको पहिलो महिला सिईओ भएर कुनै प्रमाणपत्र पाईने वा उपाधि पाइने होडबाजीको बिषय होइन। तर पनि महिलाकै विषयको एउटा सत्य कुरा आम नागरिकले थाह पाउनु नागरिकको अधिकार हो भने सम्बन्धित व्यक्तिप्रति न्याय पनि हो। यदि श्रीमती काफ्लेभन्दा अघि पनि नेपालको वाणिज्य बैंकमा कोही सिईओ भइसकेको भए त्यो पनि खोजको विषय हुनसक्छ। यतिबेलासम्म भने श्रीमती काफ्लेप्रति न्याय हुनु आवश्यक छ।
(लेखक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी हुन्)