काठमाडौं।सरकारले नेपाल दूरसंचार प्राधिकरणलार्इ कुनै पनि कार्य अघि नबढाउन निर्देशन दिएको छ।
वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणले गर्दै आएका सबै काम तत्काललार्इ रोक्न निर्देशन दिएको हो।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राधिकरणका अध्यक्ष दिगम्बर झाप्रति लक्षित गर्दै यो निर्देशन आएको हो।अघिल्लो शेरबहादुर देउवा सरकारका पालामा झाको कार्यकाल थपिएको थियो।
कार्यालयका अनुसार चार वटा निर्णय गर्दै प्राधिकरणका सबै काम रोकिएको छ।कार्यालयका अनुसार कुनैपनि लाइसेन्स,इजाजतपत्र, अनुमतिपत्र जारी नगर्ने,कुनै पनि सेवा थप नगर्ने,फ्रिक्वेन्सी वितरण नगर्ने,ग्रामिण दूरसंचारको कामहरुको निकासा नगर्ने र प्राधिकरणलार्इ आर्थिक भार पर्ने कुनैपनि दूरगामी प्रभाव पर्ने काम अघि नबढाउन निर्देशन दिइएको छ।
‘यो प्राधिकरणका अध्यक्षलार्इ लक्षित गर्दै मन्त्रिपरिषद्बाट निर्णय गरिएको हो।यसको सोझो अर्थ झाको काम कारवाहीप्रति अहिलेको सरकार सन्तुष्ट नभएको स्पस्ट हुन्छ’स्रोतले भन्यो,’झाले समेत मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्रै थाहा पाएकोले समेत कुनै नीतिगत परिवर्तनका लागि यो निर्णय गरिएको होइन।’
यो निर्णयपछि कुनै सेवा प्रदायकले सेवाको मूल्य सदर गराउन आवेदन दिएपनि प्राधिकरणले निर्णय गर्न सक्दैन।स्रोतका अनुसार झाप्रति प्रधानमन्त्री केपी शर्मा ओली र संचारराज्यमन्त्री गोकुल बाँस्कोटा सकारात्मक छैनन।स्रोतका अनुसार अहिलेसम्म झालार्इ स्पस्टीकरण भने सोधिएको छैन।
यसअघिको सरकारले कार्यसम्पादन मूल्यांकन र यसअघि गरिएको सम्झौताअनुसारको कार्य सन्तोषजनक रहेको भन्दै उनलार्इ पुनः नियुक्ती गरेको थियो।मन्त्रिपरिषद्बाट निर्णय भएपनि दुर्इ सातापछि मात्रै झालार्इ नियुक्तीको पत्र दिइएको थियो।