नेपाल टेलिकमकी एमडी कामिनीलाई हटाउन प्रधानमन्त्रीले स्पष्टीकरण सोधे, झालाई काम गर्न रोक

बिजमाण्डू
२०७५ बैशाख २५ गते ०९:४१ | May 8, 2018
नेपाल टेलिकमकी एमडी कामिनीलाई हटाउन प्रधानमन्त्रीले स्पष्टीकरण सोधे, झालाई काम गर्न रोक
काठमाडौं। सरकारले नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारी गरेको छ। १० दिनअघि प्रधानमन्त्री केपि ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारवाही गर्ने चेतावनी दिएका थिए।
सोमबारको मन्त्रीपरीषद् बैठकबाट औपचारिक निर्णय गराएर प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। 
 
प्रधानमन्त्री ओलीले ‘फोरजी सेवा’ बिस्तारका बिषयलाई लिएर स्पष्टीकरण सोधेका हुन्। स्रोतहरुका अनुसार, फोरजी बिस्तारमा अनावश्यक ढिलाइ गरेको तथा अन्य नगरी नहुने काम पनि  अड्को थापेर अगाडि नबढाएको आरोप राजभण्डारीमाथि लगाइएको छ।
 
यसअघि ओलीले दूरसञ्चार सेवा प्रदायकहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झालाई कुनै पनि काम नगर्न रोक लगाएको थियो। स्रोतहरुका अनुसार प्रधानमन्त्री ओली राजभण्डारी र झालाई वर्खास्त गरेर नयाँ नियुक्ति गर्ने योजनामा छन्। त्यही भएर राजभण्डारीलाई स्पष्टीकरण सोधिएको हो भने झालाई काम गर्न रोक लगाइएको हो।